बागमतिमा परितोषभन्दा रामशरण अगाडि
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालकका लागि शनिबार भएको निर्वाचनमा बागमती प्रदेशमा रामशरण शर्मा घिमिरे अगाडि देखिएका छन् । शनिबार निर्वाचनपछि बागमतीको गणना गर्दा घिमिरेले ७५२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी परितोष पौड्यालले ५८५ मत पाएका छन् । निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा कुल ३ हजार ४९७ मतदाता रहे पनि १ हजार ३३७ मत मात्रै खसेको थियो । अन्य ६ प्रदेशको मतगणना आज साँझ हुने र अन्तिम परिणाम आइतबार सार्वजनिक गरिने जनाइएको छ । पौड्याल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त गठबन्धनका उम्मेदवार हुन् भने घिमिरे स्वतन्त्र अर्थात् बागी उम्मेदवार हुन् । राष्ट्रिय सहकारी बैंकको सञ्चालक चयनका लागि अन्य प्रदेशमा सर्वसम्मत चयन भए पनि बागमतीमा मात्रै प्रतिस्पर्धा भएको हो । बैंकमा देशभरका १६ हजारभन्दा बढी सहकारी संघसंस्था आबद्ध छन् । गत मंसिरमा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभामा ८ हजार ६८९ प्रतिनिधि सहभागी भएका थिए । तिनै प्रतिनिधिमार्फत प्रदेशगत सञ्चालक चयन प्रक्रिया अघि बढाइएको हो । प्रदेशगत प्रतिनिधि संख्याअनुसार बागमतीमा सबैभन्दा बढी ३ हजार ४९७ प्रतिनिधि रहेका छन् । त्यस्तै, कोशीमा १ हजार ३९४, मधेशमा १ हजार १७२, लुम्बिनीमा १ हजार ७८, गण्डकीमा ८४९, कर्णालीमा ४०२ र सुदूरपश्चिममा २९७ प्रतिनिधि रहेका छन् ।
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
बागमती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चौंरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज–१३ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'काठमाडौं टोखा नगरपालिका–९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो ।' पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए ।