मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष लाइसेन्स (स्पेसल एक्जामिनेसन) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ९३.४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार विभिन्न विशेषज्ञता (स्पेसालिटी) तर्फ सञ्चालन गरिएको परीक्षामा १ हजार १३ जना सहभागी भएका थिए । तीमध्ये ९४७ जना उत्तीर्ण, ६५ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोक्का भएको छ । त्यसैगरी, नेपालका मेडिकल तथा डेन्टल कलेजका स्नातकको विशेष परीक्षामा ९ सय १९ जना सहभागी भएकामध्ये ९ सय ४ जना उत्तीर्ण र १५ जना अनुत्तीर्ण भएका छन् । यस समूहको उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ। कलेजगत नतिजाअनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, किस्ट मेडिकल कलेज, पाटन एकेडेमी अफ हेल्थ साइन्सेज, नेपाल मेडिकल कलेज, नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (वीर अस्पताल), पोखरा एकेडेमी अफ हेल्थ साइन्सेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, लुम्बिनी मेडिकल कलेज, नेपाली आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, नेपालगञ्ज मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्तिपुर डेन्टल कलेजले शतप्रतिशत नतिजा हासिल गरेका छन् । यस्तै, विशेषज्ञता तहको नतिजामा अधिकांश विषयमा शतप्रतिशत सफलता देखिएको छ । रेडियो डायग्नोसिस/रेडियोलोजीमा भने सबैभन्दा कम ७३.५३ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । उक्त विषयमा ६८ जनामध्ये १८ जना अनुत्तीर्ण भएका छन्, जुन सबैभन्दा धेरै अनुत्तीर्ण हुने विषय बनेको छ । त्यसैगरी, प्रोस्थोडोन्टिक्समा १५ जनामध्ये एक जना तथा पेडियाट्रिक्स मा ६१ जनामध्ये दुईजना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  काउन्सिलका अनुसार उक्त परीक्षा नेपालका मेडिकल तथा डेन्टल कलेज तथा प्रतिष्ठानमा अध्ययन पूरा गरेका चिकित्सकका लागि सञ्चालन गरिएको थियो ।

केही दिनभित्रै ग्यास आपूर्ति सहज हुन्छ, हतारिएर सञ्चय नगर्नू : उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बजारमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति समस्या अस्थायी रहेको बताउँदै केही दिनभित्रै अवस्था पूर्ण रूपमा सामान्य हुने विश्वास व्यक्त गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री कुमारीले ग्यास अभावबारे फैलिएका अफवाह र भ्रमपूर्ण सूचनाले उपभोक्तामा अनावश्यक त्रास सिर्जना गरेको उल्लेख गर्दै संयमता अपनाउन आग्रह गरिन् । उनले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गर्दै सरकारले आपूर्तिलाई नियमित र सहज बनाउन आवश्यक समन्वय गरिरहेको जानकारी दिइन् । मन्त्री कुमारीले वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सबै ग्यास डिलरलाई खरिदकर्ताको विवरण अभिलेखीकरण गर्न निर्देशन दिइएको बताइन् । साथै, वैकल्पिक सिलिन्डरको व्यवस्था नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि आग्रह गरिएको उनले स्पष्ट पारिन् । उनका अनुसार सरकारको प्राथमिकता सबै उपभोक्ताले समान र न्यायोचित रूपमा ग्यास प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु रहेको छ । केही दिनभित्र आपूर्ति प्रणाली पूर्ण रूपमा सहज हुने भएकाले हल्लाको पछि नलाग्न उनले सर्वसाधारणलाई पुनः आग्रह गरिन् ।  

लालपुर्जा बनाउन १ लाख ६० हजार घुस खाने चावहिलका खत्रीविरुद्ध मुद्दा

काठमाडौं । नापी कार्यालय चावहिलअन्तर्गत २ र ३ नम्बर नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार खत्रीले जग्गा हालसाबिक गरी जग्गाधनी पूर्जा बनाइदिने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस मागेका थिए । उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नगद रकमसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट खत्रीले आफ्नो पदको दुरुपयोग गर्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।  सोही आधारमा उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनबमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।