देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल कोशी, मधेश र बागमती प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ । तराई क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । यस्तै, आज राति देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
गैरकानुनी रुपमा ट्रेडमार्क प्रयोग गरेको भन्दै २ कम्पनी विरुद्ध उजुरी, ७ दिनको अल्टिमेटम
काठमाडौं । उद्योग विभागले ट्रेडमार्कको गैरकानुनी प्रयोगसम्बन्धी उजुरी परेका दुई कम्पनीलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । विभागले युनिक लिक्विड सप एण्ड डिटर्जेन्ट्स प्रोडक्ट्स र चौतारी सोप इन्डष्ट्रिजलाई ७ दिनभित्र आफ्ना सबुद प्रमाणसहित लिखित प्रतिक्रिया पेश गर्न र उपस्थित हुन निर्देशन दिएको हो । मोरङको विराटनगर महानगरपालिका–४ स्थित युनिक लिक्विड सप एण्ड डिटर्जेन्ट्स प्रोडक्ट्स र सुनसरीको सोनापुरस्थित चौतारी सोप इन्डष्ट्रिजले गैरकानुनी रुपमा फेना ट्रेडमार्क प्रयोग गरेको भन्दै विभागमा उजुरी परेको थियो । भारतको फेना प्राइभेट लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता कृष्ण ट्रेडस भएको दाबी गरिएको छ । विभागले यसअघि ७ दिने म्याद सूचना पठाएको भएपनि हालसम्म कुनै लिखित प्रतिक्रिया पेश नभएको तथा म्याद तामेली प्रतिवेदनसमेत प्राप्त नभएको जनाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र लिखित प्रतिक्रिया प्राप्त नभएमा प्रचलित कानूनबमोजिम प्रक्रिया अघि बढाइने चेतानी दिएको छ । साथै, पछि कुनै उजुरी गर्न नपाउनेसमेत विभागको भनाइ छ ।
काठमाडौंका यी क्षेत्रमा शनिबार र आइतबार बिजुली जाने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । रत्नपार्क वितरण केन्द्र र काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत केबल जडान, चार्जिङ, पोल जडान, स्ट्रक्चर फिटिङ तथा फिडर प्रिभेन्टिभ मेन्टेनेन्सको काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म टेकु, १२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ वडा कार्यालय, १२ बर्से इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । उक्त क्षेत्रमा भीमसेनस्थान फिडरअन्तर्गत विद्युत् आपूर्ति बन्द गरिनेछ । त्यस्तै, शनिबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । यी क्षेत्रमा डिल्लीबजार फिडरबाट विद्युत् आपूर्ति हुँदै आएको छ । यसैगरी आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, ¥याडिसन होटल, लाजिम्पाट मेन रोड तथा आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । उक्त क्षेत्रमा लाजिम्पाट फिडरअन्तर्गत विद्युत् आपूर्ति बन्द हुनेछ । प्राधिकरणले काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सोहीअनुसार विद्युत् सेवा सुचारु गरिने जनाएको छ । विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।