४ संस्थापक महाधिवेशन प्रतिनिधि बन्नै छुटे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा जारी गरेको पहिलो ऐतिहासिक महाधिवेशनमा चार संस्थापक नेताहरू भने महाधिवेशन प्रतिनिधिसमेत बन्न पाएनन् । २०७९ असार ७ मा विधिवत दर्ता भई छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाएको यस दलको महाधिवेशनमा संस्थापक तहका केही प्रमुख अनुहारहरूको अनुपस्थितिले भने पार्टीभित्रको प्रारम्भिक यात्रामाथि पुनः बहस सिर्जना गरेको छ । महाधिवेशनबाट पार्टीका सबै संस्थापक सदस्यहरूलाई केन्द्रीय समितिमा समेट्ने तयारी भए पनि स्थापनाकालदेखि नै चर्चित रहेका चारजना संस्थापक नेताहरू भने यस पटकको प्रक्रियामा सहभागी हुन सकेका छैनन् । पार्टी गठनदेखि संगठन विस्तार र वैचारिक दस्तावेज निर्माणसम्म सक्रिय भूमिका खेलेका यी नेताहरू अहिले रास्वपाको औपचारिक संरचनाभन्दा बाहिर रहेका छन् । पार्टी छाडेका प्रमुख संस्थापक सदस्यहरूमा पूर्वप्रवक्ता तथा पछि महामन्त्री बनेका मुकुल ढकाल, सहमहामन्त्री एवं पूर्व सांसद सुमना श्रेष्ठ, संस्थापक तहका अर्का नेता सन्तोष परियार र ढाकाकुमार श्रेष्ठ रहेका छन् । पार्टीको प्रारम्भिक संरचना निर्माणदेखि नीति तथा संगठन विस्तारसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ढकाल एक समय अध्यक्ष रवि लामिछानेपछिको दोस्रो वरीयतामासमेत रहेका थिए । तर, अनुशासन उल्लंघन गरेको आरोपमा पार्टी नेतृत्वले कारबाही गरेपछि उनी रास्वपाबाट अलग भएका हुन् । त्यसैगरी, श्रेष्ठ पार्टीको सहमहामन्त्री तथा समानुपातिक सांसदको जिम्मेवारीमा रहेकी थिइन् । उनी पार्टीको निर्णय प्रक्रिया, कार्यशैली र आन्तरिक व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै केही समयअघि नै पार्टीबाट अलग भएकी हुन्। अलग भएपछि उनी हालसम्म कुनै पनि राजनीतिक दलमा सक्रिय रूपमा आबद्ध भएकी छैनन् । जसले उनको आगामी राजनीतिक यात्राबारे समेत चासो बढाएको छ । अर्का संस्थापक सदस्य सन्तोष परियार भने रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरिसकेका छन् । उनी पनि प्रारम्भिक चरणमा पार्टी निर्माण, संगठन विस्तार र जनसम्पर्क अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने नेताका रूपमा परिचित थिए । त्यस्तै, पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पनि यस महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिने छैनन् । ०७९ को संसदमा समानुपातिक तर्फबाट सांसद बनेका ढाका स्वास्थ्यमन्त्री बन्न २ करोड मागेको आरोपमा पार्टीबाट निकालिएका थिए । उनी पनि पार्टीका संस्थापक सदस्य हुन् ।
सुनिता डंगोल इजरायलमा
काठमाडौ । इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल इजरायल पुगेकी छन् । डंगोलसँगै प्रवक्ता नविन मानन्धर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा पनि सहभागी छन् । इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरु शनिवार रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गरेका हुन् । ‘सफल साझेदारी (वीनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरु, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरुको सहभागिता हुनेछ । असार ९, १० र ११ गते गरी ३ दिन चल्ने कार्यक्रममा नेपालबाट काठमाडौँसहित पोखरा महानगरपालिका र जनकपुर नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिताका लागि पुगेका छन् । उनीहरु सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्पो)मा वृहत् व्यावसायिक भ्रमणमा सहभागी हुनेछन् । सहरी व्यवस्थापनका उन्नत तथा नविन प्रविधिहरू, नविन नगरपालिकाका अभ्यासहरु र स्थानीय शासनका असल तथा सफल मोडलका विषयमा आपसी ज्ञान, सिप र अनुभव आदान प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो । यसका लागि विषयगत सम्मेलन र व्यावसायिक सञ्जाल निर्माण सत्रहरु सञ्चालन हुनेछन् । यो कार्यक्रम इजरायलको स्थानीय सरकार महासंघको प्रमुख वार्षिक कार्यक्रम हो । स्थानीय शासनका नेताहरु, सहरी विकास तथा व्यवस्थापनका योजनाकारहरू, नवप्रवर्तनमा काम गर्ने विज्ञहरुका बिचमा हुने छलफलबाट सहरी समस्या समाधानका लागि अत्याधुनिक प्रविधि र उपाय खोजिनेछ । यसका लागि फरक परिवेशका सहरी नेतृत्वमा रहनुभएका मेयरहरू र नगरपालिकाका प्रतिनिधिहरूसँग विचार आदानप्रदान, दिगो सहरी विकास, स्मार्ट सहरहरू, सार्वजनिक सेवा, नविन परियोजनाहरू अन्वेषणका लागि योजना हुन् ।
बाजुरा बस दुर्घटनामा २३ जना घाइते
बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्याइएको छ । घाइतेको अवस्था सामान्य छ ।