लोकतन्त्रको जगमै उभिएका छौँ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताएका छन् ।  पार्टीको महाधिवेशनअघि शनिबार भएको बैठकमा उनले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा हामी उभिएका छौँ, हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको सँघारमा उभिएका छौँ । लोकतन्त्रबाट विमुख हुनेछैनौँ ।' आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै बिन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने भन्दै उनले भने 'एउटा घरमा पनि दुर्घटना र समाजमा हुने दुर्घटना भन्दा राजनैतिक पार्टीमा हुने दुर्घटनाको निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ ।' सचेत भएर अबका कदम चाल्नुपर्ने उनले बताए ।  जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका  रुपमा प्रस्तुत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति लामिछानेले अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहनुपर्नेमा जोड दिए । पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन अधिवेशन सफल हुने विश्वास पनि उनले व्यक्त गरे । 

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित स्थानमै सम्परीक्षणको व्यवस्था गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन विगतमा भन्दा छिटो भएको बताएका छन् । उक्त नतिजा ‘हतारोमा वा असामान्य छिटो’ आएको भन्ने प्रतिक्रियाका सम्बन्धमा शनिबार सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै उनले विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् सम्परीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउने व्यवस्था रहेकामा यस वर्ष सम्बन्धित स्थानबाटै गर्न सकिने व्यवस्था मिलाइएको बताएका हुन् । 'उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको हो । यसको अर्थ कसैलाई हतारहतार परीक्षण गर्न लगाइएको भने होइन', मन्त्री पोखरेलले भने, 'परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो । प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती पनि हुन दिइएको छैन ।' उनले पुनःयोग शुल्क गत वर्षको पूरक परीक्षादेखि नै लागू भएको पनि जनाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको थियो ।  

हाइड्रो र शौर्य आयोजनालाई प्रगति विवरण पेश गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जलविद्युत तथा शौर्य विद्युत आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले विभिन्न प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूले कम्तीमा प्रत्येक चौमासिकमा आयोजना प्रगति प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको हो । विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई हाल निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई ७ दिनभित्र प्रगति प्रतिवेदन अनिवार्य रूपमा सम्बन्धित विभागमा पेश गर्न निर्देशन दिइएको हो । प्रगति प्रतिवेदनको ढाँचा विभागबाट उपलब्ध गराइने उल्लेख गरिएको छ । तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा पीपीए अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत प्राधिकरणले दिएको छ ।