बाढीपहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकको अवस्थाबारे जानकारी दिएको हो ।

कोशी प्रदेशको इलामस्थित मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९, राजदुवालीमा झापादेखि ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।

बागमती प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुनुका साथै सवारी आवागमनमा कडाइ गरिएको छ । काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी सडक खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । दिउँसो भने परिस्थितिको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने जनाइएको छ ।

मकवानपुरस्थित कान्तिलोकपथको हेटौंडा-ठिङ्गन-बागमती-ललितपुर सडक खण्डमा सम्भावित बाढी र पहिरोका कारण साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नुवाकोटमा टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८, घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । नुवाकोटका अन्य मुख्य राजमार्ग तथा पासाङल्हामु सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

धादिङस्थित पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका-७, कृष्णभीर र गजुरी गाउँपालिका-२, परेवा भीरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिका-७, झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो जाँदा नाग्म-मुगु-गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडकहरू सुचारु गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । साथै, वर्षा र बाढीपहिरोको जोखिम रहेकाले यात्राका क्रममा विशेष सजगता अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

null

Share News