काठमाडौ । इजरायलको तेल अभीभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल इजरायल पुगेकी छन् । डंगोलसँगै प्रवक्ता नविन मानन्धर र विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापा पनि सहभागी छन् ।
इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरु शनिवार रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गरेका हुन् । ‘सफल साझेदारी (वीनिङ पार्टनरसिप)’ शीर्षकमा हुने सम्मेलनमा भाग लिन विश्वका १५० भन्दा धेरै सहरका प्रमुख, नगरपालिकाका नेताहरु, सरकारी अधिकारी, सहरी योजनाकार तथा विज्ञहरुको सहभागिता हुनेछ । असार ९, १० र ११ गते गरी ३ दिन चल्ने कार्यक्रममा नेपालबाट काठमाडौँसहित पोखरा महानगरपालिका र जनकपुर नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु सहभागिताका लागि पुगेका छन् । उनीहरु सम्मेलनसँगै आयोजना हुने प्रदर्शनी (एक्पो)मा वृहत् व्यावसायिक भ्रमणमा सहभागी हुनेछन् ।
सहरी व्यवस्थापनका उन्नत तथा नविन प्रविधिहरू, नविन नगरपालिकाका अभ्यासहरु र स्थानीय शासनका असल तथा सफल मोडलका विषयमा आपसी ज्ञान, सिप र अनुभव आदान प्रदान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो । यसका लागि विषयगत सम्मेलन र व्यावसायिक सञ्जाल निर्माण सत्रहरु सञ्चालन हुनेछन् ।
यो कार्यक्रम इजरायलको स्थानीय सरकार महासंघको प्रमुख वार्षिक कार्यक्रम हो । स्थानीय शासनका नेताहरु, सहरी विकास तथा व्यवस्थापनका योजनाकारहरू, नवप्रवर्तनमा काम गर्ने विज्ञहरुका बिचमा हुने छलफलबाट सहरी समस्या समाधानका लागि अत्याधुनिक प्रविधि र उपाय खोजिनेछ । यसका लागि फरक परिवेशका सहरी नेतृत्वमा रहनुभएका मेयरहरू र नगरपालिकाका प्रतिनिधिहरूसँग विचार आदानप्रदान, दिगो सहरी विकास, स्मार्ट सहरहरू, सार्वजनिक सेवा, नविन परियोजनाहरू अन्वेषणका लागि योजना हुन् ।