प्रतिनिधिबाट मात्रै उठ्यो २ करोड १० लाख शुल्क

सभापतिका लागि ५१ हजार

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट प्रतिनिधि शुल्कमार्फत मात्रै २ करोड १० लाख ५५ हजार रुपैयाँ संकलन भएको छ ।

पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार महाधिवेशनका लागि कुल ४ हजार २ सय ११ प्रतिनिधि दर्ता भएका छन् । प्रत्येक प्रतिनिधिबाट ५ हजार रुपैयाँका दरले महाधिवेशन प्रवेश शुल्क लिइएको उनले जानकारी दिइन् ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशन सम्पन्न गर्न करिब ४ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए । प्रतिनिधि शुल्कबाट उठेको रकम कुल अनुमानित खर्चको झण्डै ४५ प्रतिशत बराबर रहेको पार्टी नेताहरूले बताएका छन् ।

चितवनको भरतपुरमा जारी प्रथम महाधिवेशनमार्फत रास्वपाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ । पार्टीको विधानअनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको निर्वाचन हुने कार्यक्रम छ ।

यसैबीच, पार्टीको निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि लाग्ने मनोनयन शुल्क तथा आवश्यक प्रस्तावक–समर्थकको व्यवस्था सार्वजनिक गरेको छ । आयोगका अनुसार सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ । 

अन्य पदाधिकारी पदका उम्मेदवारका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

केन्द्रीय सदस्य र पदाधिकारीको एकल उम्मेदवारी पर्यो भने पनि उम्मेदवारी शुल्क मात्रै ४१ लाख ७ हजार रुपैयाँ उठ्ने निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । 

ती सदस्यका अनुसार सभापति पदमा एकल उम्मेदवारी परेको खण्डमा ५१ हजार रुपैयाँ उठ्ने छ । यस्तै, अन्य पदाधिकारीका पनि सवै पदमा एकल उम्मेदवारी मात्रै आयो भने ७ लाख ३८ हजार रुपैयाँ उम्मेदवारी मनोनयन शुल्क उठ्ने आयोगका ति सदस्यले जानकारी दिए । 

ती सदस्यका अनुसार सदस्य पदमा पनि एकल उम्मेदवारी आयो भने पनि ३३ लाख १८ हजार रुपैयाँ मनोनयन शुल्क उठ्ने छ ।

आयोगका अनुसार पार्टीको केन्दीय समितिका सदस्यहरू १५८ जना रहने व्यवस्था गरिएको छ । यस्तै, पदाधिकारीमा एक सभापति सहित १९ जना रहने छन् ।

सभापति पदमा उम्मेदवारी दिन चाहनेले एक जना प्रस्तावकसहित कम्तीमा ५१ जना समर्थकको समर्थन जुटाउनुपर्ने व्यवस्था गरिएको छ । 

त्यस्तै, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको निर्वाचन आयोगले जनाएको छ ।

Share News