‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित स्थानमै सम्परीक्षणको व्यवस्था गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन विगतमा भन्दा छिटो भएको बताएका छन् । उक्त नतिजा ‘हतारोमा वा असामान्य छिटो’ आएको भन्ने प्रतिक्रियाका सम्बन्धमा शनिबार सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै उनले विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् सम्परीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउने व्यवस्था रहेकामा यस वर्ष सम्बन्धित स्थानबाटै गर्न सकिने व्यवस्था मिलाइएको बताएका हुन् । 'उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको हो । यसको अर्थ कसैलाई हतारहतार परीक्षण गर्न लगाइएको भने होइन', मन्त्री पोखरेलले भने, 'परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो । प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती पनि हुन दिइएको छैन ।' उनले पुनःयोग शुल्क गत वर्षको पूरक परीक्षादेखि नै लागू भएको पनि जनाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको थियो ।
हाइड्रो र शौर्य आयोजनालाई प्रगति विवरण पेश गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन जलविद्युत तथा शौर्य विद्युत आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले विभिन्न प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरूले कम्तीमा प्रत्येक चौमासिकमा आयोजना प्रगति प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको हो । विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई हाल निर्माणाधीन अवस्थामा रहेका सम्पूर्ण आयोजनाका प्रवर्द्धक कम्पनीहरूलाई ७ दिनभित्र प्रगति प्रतिवेदन अनिवार्य रूपमा सम्बन्धित विभागमा पेश गर्न निर्देशन दिइएको हो । प्रगति प्रतिवेदनको ढाँचा विभागबाट उपलब्ध गराइने उल्लेख गरिएको छ । तोकिएको समयभित्र प्रतिवेदन प्राप्त नभएमा पीपीए अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत प्राधिकरणले दिएको छ ।
ललितपुरमा लागुऔषध कारोबारीमाथि गोली चल्यो
काठमाडौं । ललितपुरमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएको छ । बालकुमारीस्थित तीन जना लागुऔषध कारोबारीलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको हो । प्रहरीको गोली लागेर एक जना घाइते भएको ब्यूरोका एक प्रहरी अधिकृतले विकासन्युजलाई जानकारी दिए । पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया घाइते भएका छन् । काठमाडौं महानगरपालिका–३२ तर्फ बालकुमारी पुलमुनि उनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको हो । ब्यूरोको टोलीले २ राउन्ड हवाई फायर गरेको थियो ।