काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना अर्थात् साउन देखि जेठसम्ममा नेपालमा कुल १५ हजार ४६६ युनिट कार, जीप र भ्यान आयात भएको छ । भन्सार विभागका अनुसार यस वर्ष पेट्रोलियम र विद्युतीय (ईभी) दुवै गरी समग्र कार आयातमा गत वर्षको तुलनामा साढे १० प्रतिशत (१ हजार ७८६) युनिटले गिरावट आएको हो ।
गत वर्षको जेठ मसान्तसम्म कुल १७ हजार २७२ युनिट सवारी साधन भित्रिएका थिए । चालु आवको ११ महिनामा कुल ३० अर्ब ७ करोड रुपैयाँ बराबरको कार आयात हुँदा सरकारले २५ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि गत वर्ष सोही अवधिमा ३५ अर्ब ९० करोड रुपैयाँ बराबरका सवारीसाधन आयात भएका थिए।
विगतका वर्षहरूमा ईभीको दबदबा रहे पनि चालु आवको ११ महिनामा विद्युतीय कार आयातमा १९.२७ प्रतिशतले गिरावट आएको छ ।
गत वर्ष यस अवधिमा १३ हजार ४९२ युनिट ईभी कार भित्रिएकोमा चालु वर्ष घटेर १० हजार ८९२ युनिटमा सीमित भएको छ ।
चालु आवमा कुल २५ अर्ब ६८ करोड रुपैयाँ बराबरका ईभी भित्रिएका छन् । जसबाट सरकारले १५ अर्ब ५३ करोड रुपैयाँ राजस्व पाएको छ ।
विगतका वर्षहरूमा बजेट अगाडि वैदेशिक मुद्रा र नीतिगत परिवर्तनको डरले ठूलो संख्यामा गाडी आयात हुने गरे पनि यसपालि त्यसो नहुँदा समग्र तथ्यांक घटेको हो ।
यद्यपि, जेठ महिनामा मात्रै २ हजार युनिट ईभी आयात भएका छन् । व्यवसायीहरूका अनुसार गत वर्ष जेठमा भित्रिएका ३ हजारभन्दा बढी ईभीहरू अझै पूर्ण रूपमा बिक्री भइसकेका छैनन् ।
क्षमताका आधारमा चालु आवमा ५० किलोवाटसम्मका ३ हजार ६८० युनिट, ५१ देखि १०० किलोवाटसम्मका ६ हजार ३५७ युनिट, १०१ देखि २०० किलोवाटसम्मका ७९८ युनिट र २०१ किलोवाट माथिका १० युनिट ईभी भित्रिएका छन् भने ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएका छन् ।
यसैगरी, चालु वर्षमा ईभीको आयात सुस्ताउँदा पेट्रोल कार (आइस) को मागमा भने उत्साहजनक सुधार देखिएको छ । ११ महिनाको अवधिमा पेट्रोल कारको आयात २१.६२ प्रतिशतले बढेर ४ हजार ५७४ युनिट पुगेको छ ।
जुन गत वर्ष सोही अवधिमा ३ हजार ७६१ युनिट मात्र थियो । बजारमा पेट्रोल गाडीको माग बढे पनि पछिल्लो समय इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली बढेपछि पेट्रोल कार आयातको गति केही सुस्ताएको छ ।
नेपालको पेट्रोल कार बजारमा हुन्डाईको वर्चस्व देखिएको छ । आयात भएका कुल पेट्रोल कारमध्ये २ हजार ९६ युनिट अनएसेम्बल (खुला पार्टपूर्जा) रहेका छन् ।