रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक २ हजार ६५६ मत प्राप्त गरेका छन् ।  खुलातर्फ सोविता गौतम दुई हजार ६४१, शिशिर खनाल दुई हजार ५३८, सागर ढकाल दुई हजार ३७६, डा तोसिमा कार्की दुई हजार ३०२, रञ्जु दर्शना दुई हजार २९३, मनिष झाले दुई हजार २८१, हरि ढकालले दुई हजार २६२, कविन्द्र बुर्लाकोटीले दुई हजार २२७, विपिनकुमार आचार्यले दुई हजार १६९, रमेश प्रसाईँले दुई हजार १६६ र निशा डाँगीले दुई हजार १३२ भोट पाएका छन् ।  यसैगरी, विराजभक्त श्रेष्ठले दुई हजार १२३, इन्दिरा राना मगरले दुई हजार ९०, गणेश पराजुलीले दुई हजार ८७, पुकार बमले दुई हजार ७०, जगदीश खरेल (ललितपुर)ले दुई हजार ६५, शुलभ खरेलले दुई हजार ४३, यज्ञमणि न्यौपानेले एक हजार ९०३, प्रमोद न्यौपानेले एक हजार ८९२, सस्मित पोखरेलले एक हजार ८६४ र रिमा विश्वकर्माले एक हजार ८४५ मत प्राप्त गरेको आयोगले जनाएको छ ।  उम्मेदवार रघुराज पाण्डेले एक हजार ८४०, राजीव खत्रीले एक हजार ७४५, समीक्षा बास्कोटाले एक हजार ७३९, गणेश कार्कीले एक हजार ७३४, खगेन्द्र सुनारले एक हजार ७३३, अशिम शाहले एक हजार ७३०, हिमेश पन्तले एक हजार ६५०, जगदीश खरेल (दोलखा)ले एक हजार ५५२, गीता चौधरीले एक हजार ५३७ तथा लिमा अधिकारी आचार्यले एक हजार ५३६ मत प्राप्त गरेका छन् ।  यसैगरी, समावेशी समूहअन्तर्गत खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट नौ जना, थारुबाट दुई जना, मधेसीबाट पाँच जना, दलितबाट चार जना, मुस्लिमबाट दुई जना तथा सातै प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

सुकुमवासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले बोलायो रंगशालामा

काठमाडौं । काठमाडौंका विभिन्न नदी किनारका सुकुमवासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका बस्ती हटाउने क्रममा दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’मा डिजिटल लगत संकलनका लागि उपस्थित हुन आग्रह गरेको हो । समितिका अनुसार सम्बन्धित परिवारले मोबाइलमा प्राप्त हुने एसएमएसका आधारमा आवश्यक पारिवारिक विवरण र कागजातसहित असार १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई डिजिटल दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । यस्तै, होल्डिङ सेन्टर बाहिर स्वव्यवस्थापन गरी बसोबास गरिरहेका परिवारलाई नेपाल सरकारको निर्णयअनुसार पुनःव्यवस्थापन खर्चबापतको घरभाडा रकम वितरण गरिने समितिले जनाएको छ । उक्त रकम प्राप्त गर्न सम्बन्धित परिवारले आफ्नो नाममा रहेको बैंक खाताको विवरणसहित तोकिएको ढाँचाको निवेदन भरेर असार १५ गतेभित्र दशरथ रङ्गशालामा पेश गर्नुपर्नेछ । समितिले यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न दिएको समयसीमा घरभाडा रकम प्राप्त गर्ने अवधि छोटो भएको गुनासोलाई ध्यानमा राख्दै असार १९ गतेसम्म थप गरेको जनाएको छ ।

ब्यारेक छाडेका ६ सशस्त्र प्रहरीलाई ७ दिने अल्टिमेटम

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले विभिन्न युनिटबाट बिदा तथा आफूखुसी लाइन–ब्यारेक छाडेर लामो समयदेखि गैरहाजिर रहेका ६ जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा सम्पर्कमा आउन निर्देशन दिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान अमृत श्रेष्ठ, रुद्र प्रसाद नेपाल, सुनिल चौधरी, दिपेन्द्र बोहरा, दिपक थलाल र यामराज सार्कीलाई बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । प्रधान कार्यालयका अनुसार उनीहरू लामो समयदेखि गैरहाजिर रहनुका साथै कुनै किसिमको सम्पर्कमा समेत नरहेकाले सार्वजनिक सूचनामार्फत हाजिर हुन आह्वान गरिएको हो । सूचनामा तोकिएको अवधिभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।