काठमाडौं । नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन लक्ष्य राख्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा ल्याएको छ ।
हस्पिटलको पाँचौं तल्लामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको स्कुल अफ नर्सिङको उद्घाटन संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गरेका हुन् ।
कलेजका अनुसार स्कुलमा फन्डामेन्टल अफ नर्सिङ स्किल ल्याब, मिडवाइफ्री नर्सिङ स्किल ल्याब, चाइल्ड हेल्थ स्किल ल्याब, कम्युनिटी हेल्थ नर्सिङ ल्याब तथा न्युट्रिसन एन्ड डाइटेटिक्स ल्याब लगायतका अत्याधुनिक प्रयोगशालाहरू स्थापना गरिएको छ ।
साथै, आधुनिक प्रविधियुक्त कक्षाकोठा र प्रशिक्षण केन्द्रसमेत निर्माण गरिएका छन् । विद्यार्थीहरूले वास्तविक अस्पतालको वातावरणमा आधारित सिकाइ अनुभव प्राप्त गर्न सक्ने गरी सञ्चालन कक्ष (ओटी), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), प्रसूति कक्ष (लेबर रुम) र सघन उपचार कक्ष (आईसीयू) को वातावरणलाई अनुकरण गर्ने सिमुलेसन-आधारित शिक्षण प्रणाली विकास गरिएको कलेजले जनाएको छ ।
यसमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीमा उपचार गर्नुअघि आवश्यक उपचार प्रक्रिया र सीपको अभ्यास गर्न सक्नेछन् । त्यसैगरी, क्लिनिकल स्किल्स ट्रेनिङ, नर्सिङ प्रक्रिया, क्रिटिकल केयर सिमुलेसन, समुदाय स्वास्थ्य सेवा तथा डिजिटल लर्निङ रिसोर्स जस्ता अन्तर्राष्ट्रियस्तरका सुविधाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता हासिल गर्न सहयोग पुग्ने विश्वास कलेजको छ ।
कलेजका अनुसार नयाँ प्रणालीले विद्यार्थीहरूमा आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गर्न मद्दत पुग्नेछ । यसबाट भविष्यका नर्सिङ जनशक्ति थप दक्ष, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार हुने तथा अस्पतालको सेवा गुणस्तरसमेत अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आगामी दिनमा स्कुल अफ नर्सिङलाई थप प्रविधिमैत्री, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरको शिक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।