रास्वपाको महाधिवेशनमा एक तिहाई प्रतिनिधिले गरेनन् मतदान
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा अपेक्षाकृत कम सहभागिता देखिएको छ । महाधिवेशनका लागि तोकिएका ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदानमा सहभागिता जनाएका छन् । यस आधारमा करिब १ हजार ३५२ प्रतिनिधि अर्थात् ३१.३६ प्रतिशत प्रतिनिधिले मतदान प्रक्रियामा भाग लिएनन्। रास्वपाले पहिलोपटक ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत निर्वाचन गराएको थियो । पार्टीले देश तथा विदेशमा रहेका प्रतिनिधिलाई समेत मतदानको सुविधा दिएको भए पनि कुल प्रतिनिधिको झण्डै एक तिहाइ हिस्सा मतदानबाट बाहिर रहनुले प्रतिनिधिहरूको सक्रियता, व्यवस्थापन तथा आन्तरिक समन्वयबारे प्रश्न उठाएको छ । महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान गरिएको हो । निर्वाचनमा ४ सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।
शिक्षामन्त्री पोखरेल भन्छन् - ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् । मन्त्री पाखरेलले बिहीबार (आज) सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताएका हुन् । ‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति हामी स्पष्ट र विस्वस्त छौं । नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको हैन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो’, मन्त्री पोखरेलले पोस्टमा लेखेका छन् । मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा भइरहेका आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्ने अधिकारको सम्मान गरिनुपर्ने उल्लेख गरे । सामाजिक सञ्जालमा विद्यार्थीहरूप्रति भएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मन्त्री पोखरेलले आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुव्र्यवहार तथा अपमानजनक टिप्पणी नगर्न सबैमा आग्रह गरे । यसैबिच नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नहरूको निष्पक्ष परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिए । उक्त समितिले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण गर्नुका साथै परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ ।
नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन भइरहेको बताएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा बिहीबार (आज) सञ्चारकर्मीसँगको भेटमा उनले मौसमजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी सरोकारवाला निकायसँग पूर्णसमन्वयका साथ काम प्रारम्भ भइसकेको बताए । महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई विगतभन्दा थप व्यवस्थित बनाउने ढङ्गबाट काम गर्ने प्रयास गरिएको जानकारी दिनुभयो । सीमा अपराध नियन्त्रणको सन्दर्भमा जनशक्ति, प्रविधि र परिचालनको चुनौती भोग्नुपरेको उल्लेख गर्दै उनले परिणाममुखी कामका लागि सङ्गठन प्रतिबद्ध रहेको बताए । राजस्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिँदै उनले त्यस विषयलाई सङ्गठनले आत्मसात गरेर सरकारको लक्ष्य प्राप्तिमा कटिबद्ध भएर परिचालित भएको बताए । सशस्त्र प्रहरीसम्बन्धी कानुन निर्माणका प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै महानिरीक्षक पौडेलले त्यसबाट कानुनी र नीतिगत स्पष्टता ल्याउने धारणा राखे । उनले आर्थिक सुशासन र पारदर्शीता सरकारको मूल लक्ष्य भएको सन्दर्भमा सङ्गठनभित्रका आर्थिक पारदर्शीता र सुशासनसम्बन्धी गुनासालाई समयमै निराकारण गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरिएको स्पष्ट पारे । ‘आन्तरिक सुरक्षालाई मबजुद बनाउने गरी काम भइरहेको छ, अहिले नयाँ कुरा ‘सेटअपँ गर्नेभन्दा पनि भइरहेको कुराबाट कसरी उत्कृष्ट नतिजा दिने भनेर हामीले काम गरिरहेका छौं,’ महानिरीक्षक पौडेलले भने । सरकार र जनताको अपेक्षा पूरा गर्न सशस्त्र प्रहरी बल क्रियाशील रहेका उनकोे भनाइ थियो । महानिरीक्षक पौडेलले पछिल्लो समय सङ्गठनको नीति, अनुसन्धान तथा योजना निर्देशनालय गठन गरी सङ्गठनका कार्य जिम्मेवारीलाई विगतभन्दा व्यवस्थितरुपमा अघि बढाउने काम थालिएको जानकारी दिए । उनले भने, ‘हाम्रा ‘म्यान्डेट’ र जिम्मेवारीलाई विगतभन्दा पनि भविष्यमा चाहिँ कसरी उत्कृष्ट बनाउने ? हाम्रा जिम्मेवारीलाई कसरी अगाडि लैजाने ? कसरी सङ्गठनलाई विकास–विस्तार गर्ने र यसका विभिन्न आयाममा अनुसन्धान र योजना निर्माण गर्ने उद्देश्यले काम भइरहेको छ ।’ सीमा सुरक्षा तथा सीमा नाकालाई व्यवस्थित बनाउन मुख्य नाकामा ‘बोर्डर इन्ट्रयाक्सन टिम’ (बिआइटी) संयन्त्र गठन गर्न लागिएको जानकारी दिँदै महानिरीक्षक पौडेलले सो संयन्त्रले नाकामा समकक्षी सङ्गठनसँग समन्वय अभिवृद्धिसँगै यात्रुको आवातजावतलाई सहजीकरण गर्ने बताए । ‘हाम्रा नाकाहरुबाट दैनिक हजारौँ जनताको आवातजावत हुन्छ, त्यहाँ कसरी सहजीकरण गर्ने, ‘काउन्टर पार्ट’ सँग पनि समन्वय गर्न सहज होस्, सीमा नाकामा कुनै अप्ठ्यारो नहोस् र गलत क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने हेतुले उक्त अवधारणा अघि सारिएको हो,’ महानिरीक्षक पौडेलले भने, ‘यो अन्तिम चरणमा पुगेको छ, यसलाई ‘पाइलट प्रोजेक्ट’ का रुपमा केही नाकाहरुमा लागू गर्छौं ।’