चिकित्सकविरुद्ध उजुरी दिन अब काठमाडौं धाइनु नपर्ने, अनलाइनबाटै सुनुवाइ हुने
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी लिने भएको छ । काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले ‘हेलो एनएमसी’ मार्फत गुनासो तथा उजुरी र सुझाव सङ्कलन गर्नेगरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘हेलो एनएमसी’ सञ्चालनमा आएपछि सर्वसाधारण र दर्तावाला चिकित्सक सामान्य गुनासाका लागि काउन्सिलको कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटेको उनले बताए । दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौंको कार्यालयमै धाउनुपर्दा समय र खर्च बढी लाग्ने गरेको थियो । चिकित्सकविरुद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउनसक्ने अवस्था थिएन । यस पोर्टलमार्फत उजुरीकर्ताले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखी उजुरी दर्ता गराउनसक्ने व्यवस्था छ । विगतमा उजुरीको अवस्था र कारबाहीको प्रक्रियाबारे जानकारी पाउन कठिन हुने गरेकामा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा एउटा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउने छ । उक्त उजुरीमाथि भइरहेको छानबिन वा कारबाहीको अवस्थाबारे सम्बन्धित उजुरीकर्तालाई सिधै एसएमएस र इमेलमार्फत निरन्तर जानकारी गराइने छ । दर्तावाला चिकित्सकले doctor.nmc.org.np मा गई आफ्नो व्यक्तिगत एकाउन्टमा लगइन गरेर गुनासो दर्ता गर्न सक्नेछन् । सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइट www.nmc.org.np मा रहेको ‘हेलो एनएमसी’ पोर्टलमा क्लिक गरी उजुरी दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
रास्वपाको खुला केन्द्रीय सदस्यमा स्वर्णिम सर्वाधिक मतसहित निर्वाचित, सोविता दोस्रो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन् । सार्वजनिक मतपरिणामअनुसार डा. वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गर्दै खुलातर्फ पहिलो स्थान हासिल गरेका हुन् । उनलाई सोविता गौतम ले पछ्याएकी छन् । गौतमले २ हजार ५ सय ९४ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरिन् । यस्तै, सागर ढकाल ले २ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् भने शिशिर खनाल ले १ हजार ४ सय ९५ मत ल्याएका छन्। महाधिवेशनअन्तर्गत खुला समूहबाट ३५ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भएको थियो । मतपरिणामले पार्टीभित्र स्थापित तथा चर्चित नेताहरूको प्रभाव कायम रहेको संकेत गरेको छ । डा. वाग्ले, गौतम, ढकाल र खनालले प्राप्त गरेको मतले प्रतिनिधिमाझ उनीहरूको लोकप्रियता अझै बलियो रहेको देखाएको छ । रास्वपाको केन्द्रीय नेतृत्व चयन प्रक्रिया अन्तर्गत अन्य समूहको मतगणना तथा परिणाम सार्वजनिक गर्ने कार्य पनि जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
किसानलाई चार तहमा वर्गीकरण गर्दै सरकार, २६ लाख सूचीकरण प्रणालीमा आबद्ध
काठमाडौं । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए । उनका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चारप्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध गराउने जनाएको छ । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजारको सङ्ख्या रहेकाले बाँकी १५ लाखभन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य भइरहेको छ । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ । सूचीकरण कार्यक्रमलाई व्यवस्थित बनाउन देशभर स्थानीय तहसँग समन्वय गरी किसानको प्रमाणीकरण गरी तथ्याङ्क सङ्कलन गरिएको छ ।