नेपालमै पहिलोपटक विराट मेडिकल कलेजमा अत्याधुनिक ‘स्कुल अफ नर्सिङ’ सञ्चालन

काठमाडौं  । नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन लक्ष्य राख्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा ल्याएको छ । हस्पिटलको पाँचौं तल्लामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको स्कुल अफ नर्सिङको उद्घाटन संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गरेका हुन् । कलेजका अनुसार स्कुलमा फन्डामेन्टल अफ नर्सिङ स्किल ल्याब, मिडवाइफ्री नर्सिङ स्किल ल्याब, चाइल्ड हेल्थ स्किल ल्याब, कम्युनिटी हेल्थ नर्सिङ ल्याब तथा न्युट्रिसन एन्ड डाइटेटिक्स ल्याब लगायतका अत्याधुनिक प्रयोगशालाहरू स्थापना गरिएको छ ।  साथै, आधुनिक प्रविधियुक्त कक्षाकोठा र प्रशिक्षण केन्द्रसमेत निर्माण गरिएका छन् । विद्यार्थीहरूले वास्तविक अस्पतालको वातावरणमा आधारित सिकाइ अनुभव प्राप्त गर्न सक्ने गरी सञ्चालन कक्ष (ओटी), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), प्रसूति कक्ष (लेबर रुम) र सघन उपचार कक्ष (आईसीयू) को वातावरणलाई अनुकरण गर्ने सिमुलेसन-आधारित शिक्षण प्रणाली विकास गरिएको कलेजले जनाएको छ । यसमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीमा उपचार गर्नुअघि आवश्यक उपचार प्रक्रिया र सीपको अभ्यास गर्न सक्नेछन् । त्यसैगरी, क्लिनिकल स्किल्स ट्रेनिङ, नर्सिङ प्रक्रिया, क्रिटिकल केयर सिमुलेसन, समुदाय स्वास्थ्य सेवा तथा डिजिटल लर्निङ रिसोर्स जस्ता अन्तर्राष्ट्रियस्तरका सुविधाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता हासिल गर्न सहयोग पुग्ने विश्वास कलेजको छ । कलेजका अनुसार नयाँ प्रणालीले विद्यार्थीहरूमा आवश्यक सीप, आत्मविश्वास र व्यावसायिक क्षमता विकास गर्न मद्दत पुग्नेछ । यसबाट भविष्यका नर्सिङ जनशक्ति थप दक्ष, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार हुने तथा अस्पतालको सेवा गुणस्तरसमेत अभिवृद्धि हुने अपेक्षा गरिएको छ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आगामी दिनमा स्कुल अफ नर्सिङलाई थप प्रविधिमैत्री, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरको शिक्षण केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।  बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने छ । त्यसपछि मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छ भने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने छ ।  बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित सम्बन्धित विधेयक सदनमा पेस गर्ने कार्यसूची छ । बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुने, संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् । यसैगरी, अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले नै सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।  रासस

रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध हुने निश्चित भएको हो। श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुका साथै वाग्लेको प्रस्तावकका रूपमा समेत समर्थन जनाएका छन्। यससँगै उपसभापति पदमा अब वाग्ले एक्लो उम्मेदवार बनेका छन्। यद्यपि, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली तथा निर्विरोध निर्वाचित पदाधिकारीहरूको औपचारिक सूची भने सार्वजनिक गरिसकेको छैन। आयोगबाट औपचारिक घोषणा भएपछि वाग्लेको निर्विरोध निर्वाचनले कानुनी मान्यता पाउनेछ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहेकाले अन्य पदका लागि भने निर्वाचनको तयारी भइरहेको छ।