दूधमा आत्मनिर्भर बन्दै बागलुङ
बलेवा । १० वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किनुभएका बागलुङ नगरपालिका–१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आएका छन् । स्वदेमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ लागेर सुरु गरेको व्यवसायले उनलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ । शर्माको फार्ममा अहिले २५ वटा माउ गाई छन् भने केही साना बाच्छा र भैँसी पनि छन् । उनले गाउँमा दूध उत्पादन गरेर बागलुङ बजारमा बिक्री केन्द्र पनि सञ्चालन गरेका छन् । चार वर्ष साउदीअरेबिया बसेर फर्किएका जैमिनी नगरपालिका नगरपालिका–१ कुश्मीशेराका विकास पौडेलको गोठ पनि दुधालु गाईले भरिभराउ छ । व्यावसायिक दूध उत्पादक किसान बनेका उनको दम्पतीलाई अहिले दूधको उत्पादन र बिक्रीमा भ्याइनभ्याइ छ । पौडेल र शर्मा मात्रै होइन पछिल्लो समय विदेशका दुःख सम्झेर गाउँ फर्किने र विदेश जान नचाहने युवाहरू व्यावसायिक कृषि उत्पादनमा लाग्न थालेका छन् । विदेश जानुभन्दा स्वदेशमा बसेर आम्दानी गर्न सकिन्छ भनेर बागलुङका किसान व्यवसायिक पशुपालनमा लाग्न थालेका हुन् । गाईभैँँसी पाल्ने किसानलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट अनुदान, उपचार र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि किसान थप हौसिएका छन् । बागलुङमा वार्षिक २३ हजार १५७ मेट्रिक टन दूध उत्पादन हुने गरेको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ दूध उत्पादनमा आत्मनिर्भर बनेको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताएका छन् । व्यावसायिक किसानलाई स्थानीय सरकारले सहयोग गर्ने र सङ्घीय तथा प्रदेश सरकारका किसान लक्षित कार्यक्रम किसानसँगै पुग्ने भएकाले दूधको उत्पादन पनि बढेको प्रमुख सापकोटाले बताए । आवश्यकताभन्दा बढी उत्पादन भइरहेको दूध छिमेकी जिल्लामा निर्यात हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाको दक्षिण क्षेत्रबाट छिमेकी जिल्ला पर्वत र पश्चिम क्षेत्रबाट छिमेकी गुल्मीमा दूध निर्यात हुने गरेको तथ्याङ्क रहेको प्रमुख डा सापकोटाले बताउनुभयो । केही वर्ष पहिलासम्म पोखराबाट दूध ल्याएर बिक्री गर्दैै आएका व्यापारी अहिले भने किसानको घरबाट सिधै खरिद गरी डेरी पसलमा ल्याउने गरेका छन् । जिल्लामा १५ वटा सहकारीबाट दूध बिक्री हुँदै आएको छ । यहाँका किसानले व्यक्तिगत, समूहगत र सहकारीमार्फत गाई, भैँसीपालन गरी दूध उत्पादन गर्दै आएका जिल्ला दुग्ध सहकारी सङ्घका अध्यक्ष दीपक गौतमले बताए । बजारमा स्थानीय उत्पादनले पर्याप्त हुने गरेको उनको भनाइ छ । जिल्लाभर ८६ हजार ९२० भैँसी र २१ हजार ६६० गाईपालन भइरहेको केन्द्रका प्रमुख डा सापकोटाले जानकारी दिए । व्यावसायिक र घरायसी प्रयोजनलाई पालिएका पशुचौपायको समेत तथ्याङ्क निकालेर केन्द्रले दूधको उत्पादनको मूल्याङ्कन गर्दै आएको उनले बताए । केन्द्रका प्रमुख डा सापकोटाका अनुसार यहाँ मुर्रा, स्थानीय क्रस, जर्सी, होलस्टेन जातका गाईपालन हुँदै आएको छ । ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सुविधा, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँस तथा परालको उपलब्धतालगायत कारणले किसानलाई पशुपालनमा व्यावसायिक बनाउन सहयोग पुगेको किसान विकास पौडेलले बताए । उनका अनुसार हाल बजारमा दूधको मूल्य थोकमा रु ७० देखि रु ९० तथा खुद्रा रु एक सयदेखि रु १२० सम्ममा बिक्री हुँदै आएको छ ।
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
काठमाडौं । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । सधैं जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उनले बताए । सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताए । लगातार लेदो सडकमा झरिरहेकाले ठूला सवारीसाधनका सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उनले उल्लेख गरे । ‘गएरातिदेखि लेदोसहितको पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ । साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउन आज बिहानैदेखि पहिरो पन्छाउने प्रयास गरिरहेका छौं, केही समय लाग्नसक्छ’, प्रजिअ ढकालले भने । यस्तै मेची राममार्गको रोङ गाउँपालिका-४ स्थित इलाम-झापा सीमाक्षेत्रमा ढिस्को र दुईवटा रूख ढलेर सडक खवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त खण्डमा पनि सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए । सो सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । सडक अवरुद्ध भएपछि इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन बीच बाटोमा रोकिँदा यात्रु अलपत्र परेका छन् ।
सिमा विवादले बन्द भएको स्लेटखानी १८ वर्षपछि सञ्चालनमा आउँदै
काठमाडौं । पर्वतको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा स्लेट (ढुङ्गा) तथा मार्बलका रूपमा प्रयोग गरिने ढुङ्गाखानी सञ्चालन गर्ने भएको छ । मोदी गाउँपालिकाअन्तर्गत वडा नं. १ भुकताङ्ले, वडा नं. ३ देउराली र वडा नं. ४ क्याङको सिमानामा अवस्थित माटेको लेकमा रहेको धवलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १८ वर्षदेखि बन्द अवस्थामा रहेको हो। तत्कालीन क्याङ, देउराली र भुकताङ्ले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेटखानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो । मोदी गाउँपालिकाको गत मङ्गलबार सम्पन्न १९औँ गाउँ अधिवेशनबाट स्लेटखानी सञ्चालन गर्ने योजना पारित भएको हो । गाउँपालिका अध्यक्ष हीरादेवी शर्माले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा माटे लेकमा अवस्थित स्लेट अर्थात् ढुङ्गाखानी सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा सङ्घीय र प्रादेशिक निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाउने उल्लेख छ । गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको नौ वर्षपछि पहिलोपटक स्लेटखानी सञ्चालनको कार्यक्रम अघि सारिएको हो । गाउँपालिकाको राजस्व वृद्धि गरी रोजगारी सिर्जना गर्न खानी सञ्चालनको कार्यक्रम अघि सारिएको अध्यक्ष शर्माले बताए । उनले सम्भाव्यता अध्ययनका साथै आवश्यक पहुँचमार्ग निर्माणलगायत योजनाका लागि बजेटसमेत विनियोजन गरिएको बताए । चालु खर्चबाट व्यवस्थापन गर्ने गरी बजेट व्यवस्था गरिएको उनले जानकारी दिए । यहाँबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने अनुमान छ । मोदी गाउँपालिकाका तीनवटा वडा क्याङ, देउराली र भुकताङ्लेमा पर्ने माटेको लेकमा रहेको ढुङ्गाखानी बन्द हुँदा यस क्षेत्रका बासिन्दाले ठूलो नोक्सानी व्यहोर्नुका साथै स्थानीय सरकारको पनि लाखौँ रुपैयाँ राजस्व गुमेको छ । देउराली, क्याङ र भुकताङ्ले गाविसका बासिन्दाले खानी आआफ्नो गाविसभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको हो । सबैले खानीका बारेमा आआफ्नै हिसाबले दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको तत्कालीन क्याङ गाविसका पूर्वअध्यक्ष नरसिंह पुनले बताए । विवादले चर्को रूप लिएपछि खानी बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरे पनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न उक्त वनलाई राष्ट्रियकरण गरेको थियो । खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेको छ। खानी सञ्चालनका समयमा दैनिक सयौँ मजदुरले प्रत्यक्ष रूपमा रोजगारी पाएका थिए । यहाँ निकालिएका ढुङ्गा साविक धवलागिरि अञ्चलका पर्वत, बागलुङ र म्याग्दीका विभिन्न स्थानमा जाने गर्दथे । खानीका ढुङ्गा सङ्कलन गरेर बिक्री गरी परिवार पाल्दै आएका स्थानीय भानेबहादुर विकका अनुसार खानी बन्द भएपछि आश्रित परिवारको रोजीरोटी नै बन्द भएको छ भने स्थानीय युवाहरू पलायन हुन बाध्य भएका छन् । खानी सञ्चालनबारे पालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश भएपछि स्थानीयवासी हर्षित बनेका छन्। विकले अब खानी सञ्चालन हुने आशा जागेको बताए । विकले खानीमा १० वर्षसम्म काम गरे पनि बेरोजगार हुनुपरेको गुनासो गर्नुभयो। यसैको आम्दानीले विकले चार जनाको परिवार पाल्दै आएको थियो । यहाँका ढुङ्गा घर, गोठ, मचान छाउन प्रयोग हुँदै आएका छन् । जस्तापाताभन्दा ठूलो आकारमा आउने, बलियो र टिकाउ भएकाले मानिसहरू अहिले पनि ढुङ्गाले छाउन मन पराउने गर्छन् । एकपटक छाएको घर दुई–तीन पुस्तासम्म टिक्ने गाउँलेहरूको भनाइ छ। खानी उत्खनन गरेर ढुङ्गा बिक्री गर्ने हो भने पनि राज्यलाई वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुने स्थानीय राम पुनले बताए । कतिपयले सिङ्गो ढुङ्गालाई पर्खालका रूपमा राख्न लैजाने गरेका थिए । सार्वजनिक जग्गाभित्र एक किलोमिटर क्षेत्रफलमा ढुङ्गाका पाँचवटा खानी रहेका छन् । केहीले ढुङ्गा कुद्ने र केहीले खानीबाट ढुङ्गा निकाल्ने गर्दै आए पनि अहिले उनीहरू पलायन भइसकेका छन् । यहाँको खानीमा निकालिएका ढुङ्गा छिमेकी जिल्ला बागलुङ, पोखरा, म्याग्दी र काठमाडौं लगिएको स्थानीय पुनको भनाइ छ । उत्तरी पर्वतका अधिकांश वडाका प्रायः सबै घर ढुङ्गाले छाइएका छन् । ‘पहिला खानी सञ्चालन हुँदा गाउँलेले राम्रै रोजगारी पाएका थिए,” स्थानीय हर्कबहादुर पुनले भने, ‘अहिले रोजगारी गुमेपछि कोही विदेशतिर गए त कोही गाउँमै मजदुरी गर्दै आएका छन् ।’ खानी तीन हजार १०० मिटरको उचाइमा रहे पनि आसपासमा बस्ती नभएकाले ढुङ्गा निकाल्दा कुनै असर पर्दैन । प्रशस्त ढुङ्गा भए पनि त्यसै खेर जाँदा गाउँले निराश छन्। ढुङ्गाले छाएका घर आकर्षक देखिने र एकपटक छाएपछि दुई–तीन पुस्तासम्म फेरि छाउनु नपर्ने पूर्वगाविस अध्यक्ष पुनले बताए । ‘खानी सञ्चालन गर्न सके गाउँलेको जीवनस्तरमा परिवर्तन आउने थियो । त्यही भएर सरकारी नियमानुसार हामी कार्य गर्न तयार छौँ,’ उनले भने । पछिल्लो समय खानीभन्दा केही तलसम्म सडक सुविधासमेत पुगेकाले पोखरा, काठमाडौंलगायतका सहरमा ढुङ्गा लैजान सहज हुने पुनको भनाइ छ । असिना पर्दा र अरू कारणले मात्रै ढुङ्गा फुट्ने र एकपटक लगानी गरेपछि वर्षौँसम्म कुनै झन्झट नहुने भएकाले यो लोकप्रिय बनेको थियो । माटेको ढुङ्गा पाइएमा मानिसहरूले महँगो शुल्क तिरेरै भए पनि छाउने गरेका स्थानीय नरबहादुर पुनले बताए । ‘अहिले बजारबाट जस्तापाता ल्याएर घर छाउनुपर्ने बाध्यतामा छौँ । जिल्ला बाहिरसमेत मार्बलका रूपमा निकासी गर्न सकिने सम्भावना भएकाले र स्थानीयवासीको रोजगारीको सुनिश्चिताका लागि पनि खानी सञ्चालनमा ल्याउनुपर्ने छ,’ स्थानीय गङ्गाबहादुर विकले भने ।