काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा विनाशकारी भूकम्पको शृंखला अझै रोकिएको छैन । बुधबार दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको केही दिन नबित्दै आइतबार फेरि ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) का अनुसार अरागुआ तटनजिक समुद्रमा केन्द्रबिन्दु भएर स्थानीय समयअनुसार आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । यसको केन्द्र पृथ्वीको सतहबाट करिब ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
यसअघि जुन २४ को साँझ केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले भेनेजुएलालाई हल्लाएका थिए । ती भूकम्पपछि लगातार परकम्प (आफ्टरशक) आइरहेका छन्, जसका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ ।
हालसम्म विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ४३० पुगेको छ । ३ हजार २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् भने हजारौं मानिस अझै सम्पर्कविहीन वा भग्नावशेषमा फसेको आशंकामा खोजी कार्य जारी छ ।
उद्धारमा स्वदेशी सुरक्षाकर्मीका साथै विभिन्न देशबाट पुगेका अन्तर्राष्ट्रिय टोलीसमेत परिचालित छन् ।
शनिबार पनि ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको एक दिनपछि फेरि ५.६ म्याग्निच्युडको धक्का महसुस भएपछि प्रभावित क्षेत्रमा त्रास कायमै रहेको छ ।
विज्ञहरूले शक्तिशाली भूकम्पपछिका परकम्प केही दिनदेखि केही सातासम्म जारी रहन सक्ने भएकाले क्षतिग्रस्त भवनबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।