म्याग्दीको सरस्वती विद्यालयमा २८ लाखको लागतमा नयाँ भवन निर्माण
म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले २८ लाख ६३ हजार रुपैयाँको लागतमा भवन र शौचालय निर्माण भएको जानकारी दिए । उनका अनुसार ब्रिटिस गोर्खा वेल्फेयरले २४ लाख ७५ हजार सहयोग गरेको छ भने बाँकी रकम विद्यालयले श्रमदान र नगद लगानीबाट गरेको छ । पुरानो भवन जीर्ण र साँघुरो भएपछि पठनपाठनमा समस्या भएको थियो । नयाँ भवन बनेपछि पठनपाठन सहज भएको छ । प्रअ सुवेदीका अनुसार कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५५ जना विद्यार्थी अध्ययनरत छन् ।
न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि दुई प्रतियोगितामा लगातार दुई खेल बराबर गोल गरेको बेल्जियमले पहिलो जितसँगै पाँच अङ्क जोड्दै समूह ‘जी’को विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियमको जितमा लिएन्ड्रो ट्रोसार्डले दुई गोल गरे भने केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले समान एक–एक गोल गरेका छन् । ट्रोसार्डले खेलको २८औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले ५०औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि डे ब्रुएनाले ६६औँ मिनेटमा तथा लुकाकुले ८६औँ मिनेटमा गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा सेलेमेकर्सले अर्को गोल थपे । न्युजिल्यान्डका लागि एलिजा जस्टले ८४औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । आजै भएको अर्को स्पर्धामा इजिप्ट र इरानले १–१ गोलको बराबरी खेलेका छन् । यससँगै समूह ‘जी’मा बेल्जियम पाँच अङ्कसहित समूह विजेता बन्यो भने समान पाँच अङ्क भए पनि गोलअन्तरका आधारमा इजिप्ट उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । इरान तीन अङ्कसहित तेस्रो स्थानमा रहँदा एक अङ्क मात्र जोड्न सफल न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । विसं २०८२ चैत ४ गते मोरङमा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ । त्यस्तै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको उनले जानकारी दिए । रोग नियन्त्रणका लागि पशुसेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालनसमेत गरेको छ । विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ । तर काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डा. दाहालले जानकारी दिए । सङ्क्रमित भाइरसमा कुनै आनुवंशिक परिवर्तन (म्युटेसन) भएको छ वा छैन भन्ने यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा भाइरसको जिन अनुक्रमण प्रक्रिया पनि सुरु गरिएको विभागले जनाएको छ । विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसङ्क्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जङ्गली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ । यसैगरी, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशुसेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ ।