भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्याङ्ककाे प्रारम्भिक मूल्याङ्कन अनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुई वटा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरूलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ ।  भेनेजुएलामा गत हप्ता ७.२ र ७.५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता  भएको बताइएको छ ।  ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जामोन भान डेन होकका अनुसार भूकम्पको भोलिपल्ट जुन –२५ मा सङ्कलन गरिएको उपग्रह राडार तथ्याङ्को आधारमा “प्रभावित क्षेत्रमा लगभग ५८ हजार ८७० वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको हो । युरोपेली अन्तरिक्ष एजेन्सीको “उच्च–रिजोल्युसन राडार इमेजरी उपग्रह सेन्टिनेल–१” बाट तथ्याङ्क उद्धृत गरिरहेको जनाइएको छ । यो प्रारम्भिक तथाङ्क द्रुत मूल्याङ्कनले क्षतिसँग मिल्दोजुल्दो अवस्थालाई प्रतिबिम्बित गर्ने अनुसन्धानकर्ताहरूले जनाइएका छन् उनीहरुका अनुसार  यो तथ्याङ्  प्रमाणित हुने प्रक्रिया अझै बाँकी नै छ ।   नासाले उपग्रहहरूले “जमिनमा रहेका उद्धार टोलीहरूलाई प्रभावहरूको मूल्याङ्कन गर्न र प्रतिक्रिया प्रयासहरूलाई मार्ग–दर्शन गर्न मद्दत गर्नको लागि महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराएको जनाएको छ ।  

विदेशी पीआर लिएका ४ कर्मचारी सेवाबाट बर्खास्त

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो । उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डिभी) लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ । निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनि व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले  उनीहरुलाई स्पष्टीकरणको सोधिएको हो । मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन् । मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने जानकारी दिइन् । मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ । 

स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का । सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित भएका छन् ।  वर्षासँगै बाढीपहिरोबाट तेन्छोङमा हालसम्म विस्थापितको सङ्ख्या २८ पुगेको छ । तल्लो र माथिल्लो तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई, विन्दुर राईको घर विस्थापित भएको जानकारी दिए ।  पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्यचौकी पनि जोखिममा परेको छ । त्यसैगरी, सिलिचोङ–१ मा रहेको कुन्ती राईको पाँच, धनपूर्ण राईको सात, मङ्गलबहादुर राईको छ, सुकप्रसाद राईको चार, मीरा राईको पाँच, धनमान राईको तीन, परिवार विस्थापित भएका छन् । पहिरोबाट बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीय बासिन्दालाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको छ । प्रभावित क्षेत्रमा सोमबार जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको छ । सिलिचोङ गाउँपालिकाले आज एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ  । बस्तीको तत्काल अनुगमन, सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए । सिलिचोङस्थित दुईवटा जलविद्युत् आयोजना क्षति पुग्दा गाउँका ६०० भन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य छन् । सिसुवामा ६० किलोवाटको सिसुवाखोला लघुजलविद्युत र ३० किलोवाटको चटेक्मा लघुजलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए । सिसुवाखोलामा आएको बाढीले यहाँस्थित दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन बन्द भएको छ । पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयवासी आफन्तका आश्रय लिएर बसेका छन् ।