विद्युत् सेवा नियमित गर्न जेनजी युवाको माग
उदयपुर । जेनजी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई सुचारु गर्न माग गरेका छन् । जेनजी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो । उनका अनुसार दैनिक विद्युत् अवरोध हुँदा जनताले सास्ती भोग्न परेको छ । जेनजी युवाका जिल्ला सचिव प्रवेश खड्काले पटक–पटक विद्युत् अवरोध हुने गरेको कारण बैंकसहित सरकारी कार्यालयमा ग्राहकले नियमित सेवा प्राप्त गर्न कठिनाइ हुन थालेको कारण जनगुनासो व्यापक उठ्न थालेकाले आफूहरुले विद्युत् नियमित सुचारु गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको बताए । कार्यालय प्रमुख झाले पछिल्ला दिन प्रायः दैनिक हावाहुरी चल्ने गरेको कारण विद्युत् सेवा अवरोध भइरहेको र आफूहरुले यस्तो अवरोध हटाउन नियमित प्रयास गर्दै आइरहेका जानकारी दिए ।
पहिराले कान्ति लोकपथ अवरुद्ध
मकवानपुर । हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेकोे छ । उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक भएर सवारीसाधन सञ्चालन नगर्न हुन तथा अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन् ।
एकैदिन ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । मंगलबार सुनको मूल्यामा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।