वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ । मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं.८५ (घ) अन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने सुधार कार्यक्रमअनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले सरकारी अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च घटाउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखेको जनाएको छ । मन्त्री मेहताले सरकारी अस्पतालमा आउने बिरामीले आवश्यक औषधि सहज र सस्तो मूल्यमा अस्पतालबाटै प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएकी थिइन् ।  सोही निर्देशनअनुसार ट्रमा सेन्टर र वीर अस्पतालमा पनि सेवा सुरु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब यी अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले आवश्यक औषधि बजारको तुलनामा सहुलियत मूल्यमा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।  मन्त्रालयले शासकीय सुधार कार्यसूचीअनुसार देशभरिका सरकारी अस्पताललाई सुलभ फार्मेसी सुरु गर्न निर्देशन दिएको छ ।

अनलाइन प्रणालीमार्फत मात्र सरुवाको आवेदन लिन सुरु, अन्य माध्यमका निवेदनमाथि कारबाही नहुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो सरुवा प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउने उद्देश्यले नयाँ अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरेको छ ।  मन्त्रालयले एक सूचना जारी गर्दै अबदेखि सरुवा सम्बन्धी सम्पूर्ण कार्यहरू उक्त प्रणालीमार्फत मात्र सञ्चालन गरिने जानकारी गराएको छ। मन्त्रालयका अनुसार सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा उक्त अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी आवेदन पेस गर्नु पर्नेछ ।  अनलाइन प्रणालीभन्दा बाहेक अन्य कुनै पनि माध्यमबाट प्राप्त हुने सरुवा सम्बन्धी निवेदनहरू उपर कुनै पनि कारबाही नगरिने व्यहोरा समेत मन्त्रालयले स्पष्ट पारेको छ । यस अनलाइन सरुवा प्रणालीको प्रयोग सम्बन्धी निर्देशिका  तथा आवश्यक जानकारीहरू प्रणालीमै उपलब्ध गराइएको छ ।  मन्त्रालयले यस प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै कर्मचारी तथा सम्बद्ध निकायहरूबाट सहयोगको अपेक्षा गरेको छ ।  सरुवाका लागि इच्छुक कर्मचारीले मन्त्रालयको वेबसाइट [http://saruwa.mofaga.gov.np/](http://saruwa.mofaga.gov.np/) मार्फत वा सूचनामा दिइएको क्यूआर (QR) कोड स्क्यान गरेर प्रणालीमा पहुँच पाउन सक्नेछन् ।

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा

चितवन । वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजार गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्को समयमा पहिरो खस्न सक्ने जोखिम रहेका स्थानमा पहिरो गई सडक आवागमन अवरुद्ध हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण राखिएको हो । उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहोलोडर पहिरो पन्छाउनका लागि तयारी अवस्थामा राखिएको छ । यस्तै, सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहोलोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तयारी अवस्थामा राखेको उनले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल हटाई सवारी आवागमनलाई चुस्त र नियमित सञ्चालन राख्ने उद्देश्यले उपकरण अपरेटरसहित तयारी अवस्थामा राखिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक वर्षात्‌को समयमा लेदोसहितको पहिरो र हिँउदको समयमा सुक्खा पहिरोका कारण पटकपटक अवरुद्ध हुने गर्दछ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यस सडकमा दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्दछन् । रासस