सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पारित

काठमाडौ । सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट विधेयक बहुमतले पारित भएको हो । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले पारित भएको हो । छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सम्पति शुद्धीकरणका सम्बन्धमा नेपाल विश्वस्तरमा ‘ग्रे लिष्ट’मा परेका सन्दर्भमा यो बेग्लै विधेयक झन् आवश्यक भएको बताइन् ।   

ब्रोकर व्यवसायीसँग सेबोन अध्यक्ष भट्टले भने- पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउँछु

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार सेबोन पुगेर अध्यक्ष भट्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको अवसरमा उनले यस्तो बताएका हुन् । भट्टले सरकारको बजेट तथा नीति–कार्यक्रमअनुसार पुँजी बजारको विकास, विस्तार र सुदृढीकरणका लागि आवश्यक पहल गरिने बताए । पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाइने उनको भनाइ थियो । उनले बजारमा सुशासन, पारदर्शिता, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर पुँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य रहेको बताए । सो अवसरमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले अध्यक्ष भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत र संरचनागत सुधारका लागि एसोसिएसनले रचनात्मक सुझाव, सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा सरकारको बजेटमा समेटिएका पुँजी बजारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरण विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा पुँजी बजारको संस्थागत सुदृढीकरणका विषयमा पनि छलफल भएको थियो । एसोसिएसनले डा. भट्टको नेतृत्वमा धितोपत्र बोर्डले पुँजी बजारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने र मुलुकको आर्थिक विकासमा पुँजी बजारको योगदान बढाउने विश्वास व्यक्त गरेको छ ।

सार्वजनिक गाडीको भाडा घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले घटाएको छ । विभागले इन्धनको मूल्य घटाएसँगै गाडी भाडा पनि घटाएको हो ।  यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी सबैका हकमा यो गिरावट लागू हुनेछ । उपत्यका तथा अन्तर जिल्लामा भने भाडा घटेको छैन । वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको हो ।  विभागले यात्रुवाहक सवारी साधनको २ प्रतिशत घटी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २ प्रतिशत घटी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी २ प्रतिशत घटी हुने किसिमले भाडा घटाएको छ । यो नयाँ भाडा दर असार १८ गतेदेखि लागू हुने विभागले जनाएको छ ।