आज देशभर पानी पर्ने, यी ४ प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको  सम्भावना छ । आज राति पनि देशभर साधारणतया बादल रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पेट्रोल पम्प बन्द गर्ने व्यवसायीलाई १० लाखसम्म जरिवाना हुने

काठमाडौं । नेपाल आयल निगमले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ ।  निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो गतिविधिमा संलग्न व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र पाँचदेखि १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने प्रावधान लागू गरेको हो । पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशभर आपूर्ति प्रभावित भएको थियो ।  अत्यावश्यक वस्तुको आपूर्ति असहज बनाउने गतिविधि रोक्न स्पष्ट कानुनी व्यवस्था आवश्यक देखिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निगमलाई तत्काल कदम चाल्न निर्देशन दिएकी थिइन् । मन्त्रीको निर्देशनपछि निगम सञ्चालक समितिको बैठकले विनियमावलीमा संशोधन गर्दै “नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ अभाव सिर्जना गर्न नहुने” प्रावधान थप गर्ने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार पहिलो पटक कसुर गरेमा तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ । दोस्रो पटक दोहोरिएमा छ लाख रुपैयाँ जरिवाना र १० दिन आपूर्ति रोक्का हुनेछ भने तेस्रो पटक उल्लङ्घन गरेमा १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिनेछ । निगमका अनुसार संशोधित व्यवस्थासँगै अब कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्प व्यवसायीलाई कानुनी रूपमा कडाइका साथ कारबाही गर्न स्पष्ट आधार तयार भएको छ ।

नागर्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा हुँदा कतिपय ठाउँ जलमग्न

काठमाडौं । बिहीबार (आज) काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा-चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो अभिलेखअनुसार कञ्चनपुरपछि कपिलवस्तुमा ११८ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा पनि भारी नजिक वर्षा भएको छ । विभागका अनुसार काठमाडौंको नागर्जुन क्षेत्रमा ४६ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।  त्यस्तै सुन्दरीजलमा ४२ दशमलव आठ, कपन र बबरमहल क्षेत्रमा ३५र३५ र बूढानीलकण्ठमा १५ मिलिमिटर वर्षा भएको छ । ललितपुर र भक्तपुरमा भने मध्यम मात्रै वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । उनका अनुसार कास्की र दाङमा पनि भारी वर्षा भएको छ । आज काठमाडौंमा भएको वर्षाका कारण कतिपय ठाउँ जलमग्न भएका छन् । अहिले पनि सडकमा पानी जमेकाले यात्रुले सहज रूपमा यातायातका साधन साउन नसकेका भन्दै आवागमन सहज बनाउन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।  केहीबेर अघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी अविरल वर्षाका कारण उपत्यकाका विभिन्न सडकखण्डमा पानी जम्न गई सवारी आवागमन प्रभावित भएको जानकारी दिएको छ ।  प्रतिकूल मौसममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नागरिकको सहजताका निरन्तर सडकमा खटिइ सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गरिरहेका छन् ।  यसैबीच, यात्राका क्रममा आवश्यक सजगता अपनाउन र सुरक्षित रहन कार्यालयले सबैमा अनुरोध गरेको छ ।