स्वास्थ्य बीमा बोर्डले गर्यो सेवा प्रदायकलाई २३ अर्ब ४४ करोड भुक्तानी

  काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बोर्डले हालसम्म सेवा प्रदायक संस्थाहरूको २०८२ मंसिर मसान्तसम्मको सम्पूर्ण दाबी भुक्तानी गरिसकेको जानकारी दिएको छ । बोर्डले बीमा कार्यक्रमको सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद पनि दैनिक हजारौं बीमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको  दाबी गरेको छ । उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च कम गरी वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याइरहेको बोर्डको भनाइ छ । यद्यपि स्वास्थ्य बीमा कार्यक्रमका लागि आवश्यक दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ हुने अवस्था सिर्जना भएको बोर्डले स्वीकार गरेको छ । यसले कतिपय अवस्थामा सेवा प्रवाहमा असहज परिस्थिति उत्पन्न भएको विषयमा आफू पूर्ण रूपमा जानकार रहेको पनि बोर्डले जनाएको छ । बोर्डका अनुसार २०८२ मंसिरपछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग समन्वय र पहल निरन्तर भइरहेको छ । यसैबीच बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तोकिएको मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ । बोर्डले जारी गरेको विज्ञाप्तिमा भनिएको छ,‘ बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध  छ ।’

सरकारको १०० दिनप्रति एमाले असन्तुष्ट, कार्यसम्पादनमाथि उठायो प्रश्न (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएको छ। महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको सयदिने कार्यकालको समीक्षा सार्वजनिक गरेका हुन्। एमालेले सरकारको पहिलो १०० दिनको कार्यसम्पादन अपेक्षाअनुसार हुन नसकेको निष्कर्ष निकाल्दै सुशासन, शासकीय सुधार, आर्थिक व्यवस्थापन तथा विधिको शासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि देखिन नसकेको जनाएको छ। विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रीहरूको निजी सचिवालयसँग सम्बन्धित आर्थिक स्वार्थ र भ्रष्टाचारका आरोप सार्वजनिक भइरहेका विषयले सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ। त्यस्तै, सरकारले सार्वजनिक गरेको १०० बुँदे वाचापत्रअनुसारको कार्यान्वयनमा अपेक्षित प्रगति नदेखिएको एमालेको भनाइ छ। जनअपेक्षाअनुरूप नीतिगत सुधार र प्रभावकारी कामभन्दा प्रचारमुखी तथा विवादित निर्णयहरूमा सरकार बढी केन्द्रित भएको दाबी पनि विज्ञप्तिमा गरिएको छ। एमालेले सरकारको पहिलो सय दिनलाई आगामी कार्यकालको संकेतका रूपमा व्याख्या गर्दै आर्थिक चुनौती समाधान, लगानीको वातावरण निर्माण र विधिको शासन सुदृढ गर्न सरकारले थप प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

बैतडीमा बस दुर्घटना : १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुर्घनामा दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमल्सिनाका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिए ।  दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।