दुई महिनाभित्र सञ्चालनमा आउँदै ६ अर्बको जालपादेवी केबलकार

नवनिर्मित जालपादेवी मन्दिरमा पूजाअर्चना गरे ढकालले

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका-७ राजकाँडामा निर्माणाधीन जालपादेवी केबलकार आयोजना अन्तिम चरणमा पुगेको छ । आइएमई समूहको मुख्य लगानीमा निर्माण भइरहेको करिब ६ अर्ब रुपैयाँको यो महत्त्वाकांक्षी परियोजना आगामी दुई महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ ।

शुक्रबार नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूजा-अर्चनामा सहभागी हुँदै आयोजना निर्धारित समयमै सञ्चालनमा आउने विश्वास व्यक्त गरे । 

हाल केबलकारका टप र बटम स्टेशनका भौतिक संरचनाहरू तीव्र गतिमा निर्माण भइरहेका छन् । पोल ठड्याउने, स्टेशन निर्माणलगायतका पूर्वाधार अन्तिम चरणमा पुगेका छन् भने अब मुख्य प्राविधिक प्रक्रिया अन्तर्गत तार तान्ने र गोण्डोला जडान गर्ने काम सुरु हुने कम्पनीले जनाएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकारमार्ग निर्माण भइरहेको छ । 

आयोजनाको बटम स्टेशनमा पाँचतारे होटल, क्यासिनो, ब्यांक्वेट हलसहितका आधुनिक संरचना निर्माण भइरहेका छन् भने टप स्टेशनमा रिसोर्ट, जालपादेवी मन्दिर, स्काई वाक, पदमार्ग, रेष्टुरेन्ट तथा बाल उद्यान विकास गरिँदैछ ।

नेपालकै लामो कर्णाली नदी र ऐतिहासिक चिसापानी पुलको मनोरम दृश्यसँग जोडिएको यो आयोजना सुदूरपश्चिम प्रदेशको पर्यटन र आर्थिक विकासको नयाँ आधार बन्ने अपेक्षा गरिएको छ ।

केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार तथा सेवा क्षेत्रमा प्रत्यक्ष लाभ पुग्नुका साथै स्थानीय स्तरमा रोजगारीका अवसर उल्लेख्य रूपमा बढ्ने विश्वास गरिएको छ ।

मूर्तिको पदस्थापना कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले समय, लागत र गुणस्तरमा आयोजना सम्पन्न गर्न सक्ने क्षमता प्रमाणित गर्दै आएको उल्लेख गरे ।  

उनले धार्मिक पर्यटनसँगै आधुनिक पर्यटन पूर्वाधार विस्तारमार्फत नेपालको आर्थिक रूपान्तरण सम्भव हुने धारणा राखे । 

‘करिब १२ महिनाअघि सुरु गरिएको यो आयोजना निर्धारित समयमै सञ्चालनमा ल्याउँदैछौं । धार्मिक आस्थासँग पर्यटनलाई जोडेर देशभर यस्ता ठूला परियोजना निर्माण गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो,’ उनले भने । 

भारतसँगको सहज पहुँचका कारण यो आयोजना अन्तरदेशीय पर्यटनका लागि पनि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिहा नाकाबाट छोटो सडक यात्रामै पुग्न सकिने भएकाले उत्तराखण्ड, उत्तर प्रदेश, दिल्ली, लखनऊ, बरेली तथा देहरादुनलगायत भारतीय सहरबाट आउने पर्यटकलाई लक्षित गन्तव्यका रूपमा विकास गरिँदैछ ।

स्थानीयवासीका अनुसार तराईको अत्यधिक गर्मीबाट राहत खोज्ने आन्तरिक तथा भारतीय पर्यटकका लागि राजकाँडा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने सम्भावना रहेको छ । 

धार्मिक, प्राकृतिक र साहसिक पर्यटनलाई एउटै गन्तव्यमा समेट्ने यो परियोजनाले सुदूरपश्चिमको पर्यटन नक्सामा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।

null

Share News