काठमाडौं । देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारहरूलाई शुक्रबार उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
नियुक्ति हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन् ।
उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । सोही समितिको सिफारिसका आधारमा कुलपतिबाट नियुक्ति गरिएको जनाइएको छ ।
नयाँ उपकुलपतिहरूको नियुक्तिसँगै विश्वविद्यालयहरूमा शैक्षिक सुधार, अनुसन्धानको प्रवर्द्धन, सुशासन र गुणस्तरीय उच्च शिक्षाको अपेक्षा गरिएको छ ।
विश्वविद्यालय प्रशासनलाई प्रभावकारी, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यले खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको बताइएको छ ।