इन्धन मूल्य घटेसँगै खाद्यान्नको भाउ घटाउन सरकारको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेसँगै बजारमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसमेत घटाउन सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई आग्रह गरेको छ । विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मध्यपूर्वमा देखिएको संकटका कारण बढेको इन्धनको मूल्य अहिले सामान्य अवस्थामा फर्किएसँगै नेपाल आयल निगमले २०८३ असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । त्यसपछि आम उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि समायोजन गर्न विभागले आग्रह गरेको हो । मन्त्री यादवले इन्धनको मूल्य घटेको लाभ उपभोक्तासम्म पुग्नुपर्ने भन्दै बजारमा कृत्रिम मूल्य वृद्धि हुन नदिन र आवश्यक वस्तु तथा सेवा सुपथ मूल्यमा उपलब्ध गराउन विभागलाई आवश्यक पहल गर्न निर्देशन दिएको जनाइएको छ । सोही निर्देशनअनुसार विभागले खाद्यान्नलगायत सबै वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन सबै विक्रेता, व्यवसायी, ढुवानीकर्ता तथा सेवा प्रदायकलाई अनुरोध गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै इन्धनको मूल्य घटेको प्रभाव बजार मूल्यमा समेत देखिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षसँग आग्रह गरेको छ ।
नदीमा फोहोर थुप्रिँदा काठमाडौंका सडक डुबानमा
काठमाडौं । काठमाडौंमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । असार १८ गतेको अविरल वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भई सवारी आवागमन प्रभावित बनेपछि ट्राफिक प्रहरीले विज्ञ टोलीसहित शुक्रबार यहाँका बागमतीसहित सहायक नदीहरूको स्थलगत निरीक्षण गरेको थियो । उक्त निरीक्षण अध्ययनका क्रममा बागमती नदीको सतह डेब्रिज उच्च हुँदा टुकुचा, धोबीखोला, विष्णुमतीलगायत सहायक नदीबाट आउने पानी सहज रूपमा बग्न नसकी उल्टो बहाव (ब्याक फ्लो) हुने अवस्था देखिएको उपत्यका ट्राफिक प्रहरीले निष्कर्ष निकालेको छ । वर्षा हुँदा बागमती नदीको सतह सहायक नदीभन्दा माथि पुग्ने गरेकाले वर्षाको पानी नदीमा मिसिन नसकी सडकतर्फ फैलिने र सडक जलमग्न हुने गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए । उनले भने, ‘बागमतीमा थुप्रिएको डेब्रिजका कारण नदीको सतह उचालिएको छ । यसले सहायक नदीहरूको पानीको निकास रोकेको देखिन्छ । सम्बन्धित निकायले विस्तृत अध्ययन गरी दीर्घकालीन समाधान खोज्न आवश्यक छ ।’ वर्षाको समयमा हुने सडक डुबान न्यूनीकरणका लागि बागमती नदीबाट कम्तीमा पनि डेढ मिटर गहिराइसम्म डेब्रिज हटाउन सके पानीको बहाव सहज हुने भन्दै यसले सडकमा पानी जम्ने समस्या उल्लेखनीय रूपमा कम हुने उनले विश्वास व्यक्त गरे । काठमाडौं उपत्यकामा वर्षायाममा सडक डुबानको दीर्घकालीन समाधानका लागि नदीको नियमित सफाइ, डेब्रिज व्यवस्थापन, प्रभावकारी ढल तथा पानी निकास प्रणाली सुधारमा सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता उक्त अनुगमन टोलीले औंल्याएको छ । ट्राफिक प्रहरीका अनुसार बिहीबारको वर्षापछि सिंहदरबार, न्यु प्लाजा, अनामनगर, सिनामङ्गल, गौशाला, तिलगङ्गा, माइतीघरलगायत क्षेत्रका सडक जलमग्न बनेका थिए । सडक डुबानका कारण सवारीसाधन सञ्चालन प्रभावित भए पनि प्रतिकूल मौसमका बीच ट्राफिक प्रहरी निरन्तर सडकमा परिचालित भई यातायात व्यवस्थापनमा खटिएको थियो ।
१५ वर्षदेखि अवैध औषधि पसल, अयोग्य व्यक्तिबाट बिरामी जाँच
काठमाडौं । बाँकेको ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना अयोग्य व्यक्तिबाट बिरामी जाँच हुँदै आएको पाइएको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाका सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका गाउँमा विरामीलाई सरकारी स्वास्थ्य चौकी लैजानुको साटो स्वास्थ्यसम्बन्धी कुनै शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमा पुर्याई अयोग्य व्यक्तिबाट जाँच र औषधि सिफारिश हुने गरेको पाइएको हो । नेपालगन्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयले गरेको अनुगमन क्रममा जानकी गाउँपालिकामा डेढ दशकदेखि स्वास्थ्यसम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसल फेला परेको छ । औषधि बिक्री मात्र नभई, बिरामीको उपचारसमेत गर्दै आएका जानकी गाउँपालिका-१ जोगाउगाउँका ६३ वर्षीय पञ्चलाल भुजुवालाई औषधि व्यवस्था विभाग नेपालगञ्ज र सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको छ । औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहका अनुसार भुजुवासँँग स्वास्थ्यसम्बन्धी कुनै पनि मान्यता प्राप्त शैक्षिक योग्यता नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै घरलाई औषधि पसलमा परिणत गर्दै भुजुवाले करिब १५ वर्षदेखि लुकीछिपी औषधि बिक्री र बिरामीको उपचार गर्दै आएको खुलेको छ । भुजुवाले अवैध रूपमा औषधि सञ्चय गरी बिक्री-वितरण गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा पनि बिरामीको उपचार गर्ने गरेको पाइएको छ । घरभित्र सञ्चालित अवैध औषधि पसलबाट करिब ४० प्रकारका औषधि रहेका तीन कार्टुन बरामद गरिएको छ । ती औषधि बिक्रीका लागि राखिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बरामद गरिएका औषधिको गुणस्तर, म्याद र कानुनी स्रोतबारे पनि थप अनुसन्धान भइरहेको औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए । औषधि व्यवस्था विभागले पछिल्लो समय यस्ता अवैध औषधि पसल र चिकित्सकमाथि निगरानी बढाएको साहले बताए । बाँकेको नरैनापुर गाउँपालिकामा केही वर्ष अघिमात्रै नक्कली चिकित्सकको उपचारबाट दुई जनाको ज्यान गएको थियो । घटनापछि केही महिना स्वास्थ्य संवेदनशीलताको बारेमा चर्चा भएपनि अहिले फेरि गाउँमा भेटिने नक्कली चिकित्सकबाट स्वास्थ्य परीक्षण र औषधि वितरण हुने गरेको नरैनापुरका अगुवा सोहनलाल यादवले बताए । उनले सरकारी नियामक निकायको अनुपस्थिति र जनतामा स्वास्थ्य सचेतनाको अभावले गाउँका अवैध औषधि पसल र नक्कली चिकित्सकबाट स्वास्थ्य जाँच हुने गरेको बताए । उपभोक्ता अधिकारकर्मी प्रभात कुमार ठकुरीले छिटपुट कारबाही मात्र पर्याप्त नहुने भन्दै नियमित अनुगमन, जनचेतना, कानुनी कारबाही र ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिए ।