सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको १०० दिन: के-के भए काम ?

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन् । मन्त्री रावलले सार्वजनिक गरेको प्रगतिविवरणमा सहकारी पीडितको बचत फिर्ता प्रक्रिया अगाडि बढाइएको, सार्वजनिक सेवा प्रवाहलाई अनलाइन प्रणालीमा विस्तार गरिएको, नापी र मालपोतका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था अघि बढाइएको, भूमिहीन नागरिकलाई लालपूर्जा वितरणलाई तीव्रता दिइएको तथा ट्रेड युनियन व्यवस्थापनसम्बन्धी सुधारका पहललाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ । उनले संघीय प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यका साथ विभिन्न नीतिगत तथा संरचनागत सुधार अघि बढाइएको दाबी गरेकी छन् ।  सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउने उद्देश्यअनुसार डिजिटल प्रणाली विस्तार, भूमि प्रशासनको विकेन्द्रीकरण तथा सहकारी क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ । मन्त्रालयका अनुसार १०० दिनको अवधिमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको सुधार, सार्वजनिक प्रशासनको आधुनिकीकरण र स्थानीय तहको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल भएको दाबी गरिएको छ । मन्त्री रावलले आगामी दिनमा पनि सुशासन, सेवा प्रवाहमा सुधार र नागरिकको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ मन्त्रालयका कार्यक्रमलाई निरन्तरता दिइने बताएकी छन् । यस्तो छ कामको सूची :

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ) लाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले रिक्त निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा (काठमाडौं) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गाको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारीले जानकारी दिइन् । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

त्रिविको उपकुलपतिमा डा. भोला थापा नियुक्त, को हुन् उनी ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई सरकारले त्रिविको उपकुलपतिको जिम्मेवारी दिइएको हो । इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो अनुभव बटुलेका डा. थापा नेपालको उच्च शिक्षा क्षेत्रका परिचित नाम हुन् ।  मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले टर्बाइन रनर विषयमा स्नातकोत्तर तथा हाइड्रोलिक मेसिनमा बालुवाका कणले पार्ने क्षरणसम्बन्धी अनुसन्धानमा विद्यावारिधि गरेका छन् । राजधानीमा ५६ वर्षअघि जन्मिएका डा. थापाले प्रारम्भिक शिक्षा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलबाट तथा प्रवीणता प्रमाणपत्र तह अमृत साइन्स क्याम्पसबाट पूरा गरेका हुन् ।  त्यसपछि पञ्जाव विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ अध्ययन गरी नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट विद्यावारिधि हासिल गरेका थिए । सरकारी सेवाबाट करिअर सुरु गरेका उनी सन् १९९४ मा काठमाडौं विश्वविद्यालयमा लेक्चररका रूपमा प्रवेश गरेका थिए । त्यसयता उपप्राध्यापक, प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै सन् २०२१ मा काठमाडौं विश्वविद्यालयको उपकुलपति बने । काठमाडौं विश्वविद्यालयको नेतृत्व सम्हाल्दा उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने, अनुसन्धानलाई सुदृढ गर्ने तथा स्रोत-साधन सम्पन्न संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न सुधारका पहल गरेका थिए । पढाइमा आफू औसत विद्यार्थी रहेको बताउने डा. थापाले निरन्तर मेहनत, लगन र अनुशासनका बलमा नेपालको उच्च शिक्षा क्षेत्रको सर्वोच्च नेतृत्वमध्ये एक स्थान हासिल गरेका छन् ।