१५ वर्षदेखि अवैध औषधि पसल, अयोग्य व्यक्तिबाट बिरामी जाँच

काठमाडौं । बाँकेको ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य सम्बन्धी  शैक्षिक योग्यता र कानुनी अनुमति बिना अयोग्य व्यक्तिबाट बिरामी जाँच हुँदै आएको पाइएको छ । नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाका सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका गाउँमा विरामीलाई सरकारी स्वास्थ्य चौकी लैजानुको साटो स्वास्थ्यसम्बन्धी कुनै शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमा पुर्याई अयोग्य व्यक्तिबाट जाँच र औषधि सिफारिश हुने गरेको पाइएको हो ।

नेपालगन्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयले गरेको अनुगमन क्रममा जानकी गाउँपालिकामा डेढ दशकदेखि स्वास्थ्यसम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसल फेला परेको छ ।

औषधि बिक्री मात्र नभई, बिरामीको उपचारसमेत गर्दै आएका जानकी गाउँपालिका-१ जोगाउगाउँका ६३ वर्षीय पञ्चलाल भुजुवालाई औषधि व्यवस्था विभाग नेपालगञ्ज र सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको छ ।

औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहका अनुसार भुजुवासँँग स्वास्थ्यसम्बन्धी कुनै पनि मान्यता प्राप्त शैक्षिक योग्यता नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै घरलाई औषधि पसलमा परिणत गर्दै भुजुवाले करिब १५ वर्षदेखि लुकीछिपी औषधि बिक्री र बिरामीको उपचार गर्दै आएको खुलेको छ ।

भुजुवाले अवैध रूपमा औषधि सञ्चय गरी बिक्री-वितरण गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा पनि बिरामीको उपचार गर्ने गरेको पाइएको छ । घरभित्र सञ्चालित अवैध औषधि पसलबाट करिब ४० प्रकारका औषधि रहेका तीन कार्टुन बरामद गरिएको छ । ती औषधि बिक्रीका लागि राखिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । बरामद गरिएका औषधिको गुणस्तर, म्याद र कानुनी स्रोतबारे पनि थप अनुसन्धान भइरहेको औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए । 

औषधि व्यवस्था विभागले पछिल्लो समय यस्ता अवैध औषधि पसल र चिकित्सकमाथि निगरानी बढाएको साहले बताए । बाँकेको नरैनापुर गाउँपालिकामा केही वर्ष अघिमात्रै नक्कली चिकित्सकको उपचारबाट दुई जनाको ज्यान गएको थियो । घटनापछि केही महिना स्वास्थ्य संवेदनशीलताको बारेमा चर्चा भएपनि अहिले फेरि गाउँमा भेटिने नक्कली चिकित्सकबाट स्वास्थ्य परीक्षण र औषधि वितरण हुने गरेको नरैनापुरका अगुवा सोहनलाल यादवले बताए । उनले सरकारी नियामक निकायको अनुपस्थिति र जनतामा स्वास्थ्य सचेतनाको अभावले गाउँका अवैध औषधि पसल र नक्कली चिकित्सकबाट स्वास्थ्य जाँच हुने गरेको बताए । 

उपभोक्ता अधिकारकर्मी प्रभात कुमार ठकुरीले छिटपुट कारबाही मात्र पर्याप्त नहुने भन्दै नियमित अनुगमन, जनचेतना, कानुनी कारबाही र ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिए । 

Share News