जावलाखेल चिडियाखानाको आम्दानी १८ करोड, बर्डफ्लुले ३ करोड घाटा
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा ३ करोड रूपैयाँ बराबरको आर्थिक क्षति भएको छ । बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो । सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण देखिएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाएको थियो । त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । उनका अनुसार सामान्य दिनमा दैनिक १ हजार ७०० देखि १ हजार ८०० आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए । शनिबार ५ हजारदेखि ७ हजार र आइतबार ३ हजार ५०० देखि ५ हजार जनासम्मले चिडियाखानामा समय बिताउने गरेका थिए । पुनः सञ्चालन भएको पहिलो दिन, साउन १ गते ८०० जनाले मात्र चिडियाखाना भ्रमण गरेका थिए । चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि १०० रूपैयाँ, विद्यार्थीका लागि १५० रूपैयाँ र अन्य आगन्तुकका लागि २५० रूपैयाँ प्रवेश शुल्क लिँदै आएको छ । गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड रूपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०८२/८३ मा २१ करोड रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ । हाल चिडियाखानाको टिकट काउन्टर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ । सबै आगन्तुक साँझ ५ बजेसम्म बाहिरिनुपर्ने व्यवस्था छ । सङ्क्रमणअघि भने टिकट काउन्टर साँझ ६ बजेसम्म खुला रहने गरेको थियो ।
घरजग्गा कारोबारबाट सरकारको खातामा ६१.६५ अर्ब, कर बढ्नुअघि किनबेच ह्वात्तै बढ्यो
काठमाडौं । घरजग्गा कारोबारबाट गत आर्थिक वर्ष २०८२/८३ मा ६१ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व सङ्कलन असार महिनामा भएको छ । असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने भएपछि असारमा कारोबार वृद्धि भएको घरजग्गा व्यवसायीहरू बताउँछन् । विभागको तथ्याङ्कअनुसार गत वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो । विभागका अनुसार २०८२ साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर ३ अर्ब १४ करोड सात लाख १६ हजार ३३५ रुपैयाँ मात्रै प्राप्त भएको थियो । यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो । असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो । गत मङ्सिरमा ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ रुपैयाँ, पुसमा ५ अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ र फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ घरजग्गा कारोबारबाट प्राप्त भएको थियो । त्यसैगरी, गत चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ र जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो ।
पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, ९ बजे पछि मात्रै सञ्चालन गर्ने
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका-२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २:२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए । अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ । स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगढ मुग्लिन सडक हुँदै पोखरातर्फ जाने गाडी भने सञ्चालनमा आएका छन् ।