नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।  शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले बुधबार (आज) खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका थिए । मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो । नाट्य विद्यामा विद्यावारिधि गरेका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आएका छन् । उनी यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । झापामा जन्मिएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा योगदान पु¥याएका छन् ।  संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उनले नेपाली विद्वान्हरूद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गरेका हुन् ।  शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन-अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालयका रूपमा परिचित छ । विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुँदै आएको छ ।

पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, ५ विजेतालाई बजाज मोटरसाइकल

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२’ को मिति घोषणा भएको छ । बुधबार मञ्चले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको २३औं संस्करण भदौ १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’मा गर्ने घोषणा गरेको हो ।  अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग जोडिएको हो । दुईबिच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो । जुन दोस्रो वर्षमा चलिरहेको छ ।  सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे । हस्ताक्षरपछि निर्देशक गोल्छाले लगातार अवार्डसँग जोडिन पाउँदा खुसी भएको बताउँदै नेपाली खेलकुदको स्तरवृद्धि गर्न आफूहरू निरन्तर लागिपरेको जानकारी गराए ।  उनले भने, ‘मञ्चसँग हामी लगातार १९ वर्ष जोडिन पाउँदा गर्व गर्छौँ । हामी खेलकुदमा लगातारसँगै हिँडिरहेका छौँ । तर, मञ्चसँगको सम्बन्ध फरक भैसकेको छ । मञ्चलाई सफलताको लागि शुभकामना ।’    मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँग लगातार हातेमालो गर्दा अवार्डलाई झनै व्यवस्थित र निरन्तरता दिन सहज भएको बताउँदै गोल्छा ग्रुपलाई धन्यवाद दिए ।  मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्टस् अवार्ड २०८२ मा नाै विधामा अवार्ड प्रदान गरिने जानकारी गराएका छन् । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड,  पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेको छ ।   वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि महासचिव खड्काले जानकारी गराए । यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ । मनोनयनमा पाँच–पाँचजना रहने प्रावधान छ ।  लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ । भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन चाँडै सार्वजनिक गरिने महासचिव खड्काले जानकारी गराएका छन् ।  वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ ।  यसैगरी, पल्सर स्पोर्टस् अवार्ड २०८२ लाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।    गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ कराँतेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।  स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो ।

मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ । विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताए । जसमा मेस्सीले कुल एक हजार १७९ अंक प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अंक) र इङ्ल्यान्डका जुड बेलिंघम (४७० अंक) लाई पछि पारेका थिए । एआईपीएसले आयोजना गरेको मतदानमा एआईपीएस कार्डधारी खेल पत्रकारहरू तथा एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकारहरू मतदाता रहेका थिए। उनीहरूले विश्वकपका उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताको आधारमा छनोट गरेका हुन् । मतदान प्रणालीअनुसार पहिलो स्थानका खेलाडीले पाँच अंक, दोस्रो स्थानले तीन अंक र तेस्रो स्थानले एक अंक प्राप्त गरेका थिए। जुलाई १३ मा सार्वजनिक गरिएको अन्तिम सूचीमा २० खेलाडी समावेश थिए । विश्वभरका खेल पत्रकारहरूको मतका आधारमा लियोनल मेस्सीलाई फिफा विश्वकप २०२६ को एआईपीएस उत्कृष्ट खेलाडी घोषित गरिएको हो । लियोनल मेस्सी उनन्चालीस वर्षीय मेस्सी विश्वकपको इतिहासमा ६ संस्करण खेल्ने तीन खेलाडीमध्ये एक बन्दै २०२६ को विश्वकपमा सहभागी भएका थिए ।  लगातार दोस्रो विश्वकप उपाधिबाट उनी एक जितले मात्र टाढा रहे पनि उनले आफ्नो उमेरलाई चुनौती दिने अद्भुत प्रदर्शनमार्फत विश्व फुटबललाई फेरि एकपटक मोहित बनाउन सफल भए । विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि मेस्सी निकै भावुक बनेका थिए । अर्जेन्टिनी समर्थकहरूले उनको नाम गुञ्जाइरहँदा उनी आँसुमा डुबेका थिए । उनले सोमबार इन्स्टाग्राममार्फत भनेका थिए, ‘यो पीडा असाध्यै ठूलो छ । यो घाउ निको हुन समय लाग्नेछ । तर हामीले अन्तिमसम्म दिएको संघर्ष, असम्भवजस्ता खेललाई जितमा बदल्दै सिर्जना गरेका अविस्मरणीय क्षणहरूलाई म सधैँ सम्झिरहनेछु ।’ सन् २०२६ को विश्वकपमा अर्जेन्टिनी टोलीका प्रशिक्षक लियोनेल स्कालोनीको टोलीका लागि मेस्सी वास्तविक धड्कन बने। विशेषगरी निर्णायक क्षणहरूमा उनले टोलीलाई नेतृत्व प्रदान गरे । आठ खेलमा आठ गोल र चार असिस्ट गर्दै उनले अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । अर्जेन्टिनाले प्रतियोगिताभर कठिन अवस्थाबाट खेललाई आफ्नो पक्षमा पार्ने र अतिरिक्त समयमा संघर्ष गरेर जित निकाल्ने कला प्रदर्शन गरेको थियो, जसको केन्द्रमा मेस्सी नै थिए । ऐतिहासिक कीर्तिमानहरू मेस्सीले २०२६ को विश्वकपपछि आफ्नो नाममा अनेकौँ कीर्तिमान थपेका छन् । पुरुष र महिला दुवै विश्वकपलाई समेट्दा उनी विश्वकप इतिहासका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । विश्वकपमा उनको कूल गोल संख्या २१ पुगेको छ भने किलियन एम्बाप्पेको २२ गोल रहेको छ । त्यस्तै विश्वकप इतिहासमा सर्वाधिक १२ असिस्ट गर्ने खेलाडी पनि उनी नै हुन् । उनको नाममा थुप्रै कीर्तिमानहरू पनि छन् । उनी विश्वकपमा सर्वाधिक ३४ खेल खेल्ने, विश्वकपमा सर्वाधिक २३ खेल जित्ने, नकआउट चरणमा सर्वाधिक १७ खेल खेल्ने, लगातार नौ विश्वकप खेलमा गोल गर्ने कीर्तिमान तथा किशोरावस्था २० र ३० को दशकमा विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी हुन् । ६ पटकको विश्वकप यात्रामा मेस्सीले अर्जेन्टिनालाई तीन पटक फाइनलमा पुर्‍याएका छन् । अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप जित्दा मेस्सीले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । विश्वकपमा एकभन्दा बढी पटक गोल्डेन बल जित्ने उनी एकमात्र खेलाडी हुन् । यस पटक (२०२६) को विश्वकपमा उनले सिल्भर बल पुरस्कार प्राप्त गरेका थिए । किलियन एम्बाप्पे सत्ताइस वर्षीय फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । उनले प्रतियोगितामा १० गोल गर्दै तीन विश्वकपमा आफ्नो कूल गोल संख्या २२ पुर्‍याए र विश्वकप इतिहासको सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए । सन् २०१८ को विश्व च्याम्पियन तथा २०२२ को उपविजेता फ्रान्सले यस पटक पदकविहीन रूपमा प्रतियोगिता समाप्त गर्‍यो । विश्वकपमा इङ्ल्यान्डसँगको रोमाञ्चक तेस्रो स्थानको खेलमा फ्रान्स ६–४ ले पराजित भएको थियो । यद्यपि उक्त खेलमा दुई गोल गरेका एम्बाप्पेले लगातार दोस्रो पटक गोल्डेन बुट जित्दै विश्वकप इतिहासमा दुई पटक सर्वाधिक गोलकर्ता बन्ने पहिलो खेलाडीको कीर्तिमान कायम गरे । उनले आफूलाई विश्व फुटबलका महान् स्ट्राइकरहरूमध्ये एकका रूपमा थप स्थापित गरेका छन् । जुड बेलिंघम विश्व फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिने जुड बेलिंघम २०२६ को विश्वकपमा इङ्ल्यान्डका नायक बने । उनले सात गोल गर्दै आफ्नो टोलीलाई तेस्रो स्थान दिलाए। विश्वकप इतिहासमा कुनै मिडफिल्डरले गरेको यो सर्वाधिक गोल हो । २३ वर्षीय बेलिंघमले एकै विश्वकप संस्करणमा सर्वाधिक गोल गर्ने बेलायती खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । अन्तिम १६ मा मेक्सिकोविरुद्ध तथा क्वार्टरफाइनलमा नर्वेविरुद्ध दुई/दुई गोल गर्दै उनले सन् १९८६ मा डिएगो म्याराडोनापछि लगातार दुई नकआउट खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाए ।