सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर अधिकृत पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ ।  आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।      लहानस्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ । सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम यकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।   

नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा उनी पक्राउ परेका हुन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौं महानगरपालिका, ७ सिफलबाट पक्राउ गरेको हो । रिमाल नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपक भट्टसमेत भएको बीमा ऐन, २०७९ अन्तर्गत र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका थिए ।  बिहीबार उनलाई जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । उनीविरुद्ध मुद्दा दायर भएपछि नेपाल माइक्रो इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदबाट निलम्बनमा रहेका छन् ।

यसकारण पक्राउ परे व्यवसायी शंकर अग्रवाल, अदालतमा थुनछेक बहस हुँदै

काठमाडौं । व्यवसायी शंकर अग्रवाल बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा बुधबार (साउन ६ गते)  पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो । जेठको २८ गते शंकर अग्रवाल, सुलभ अग्रवाल र दीपक भट्टविरुद्ध ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो । उक्त मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका भट्ट, जगदम्बा स्टील्सका सञ्चालक शंकरलाल अग्रवाल र शुलभ अग्रवाल पक्राउ परिसकेका छन् ।  उनीहरूविरुद्ध मिलोमतो गरी बैंकबाट लिएको ऋण दुरुपयोग गरेको अभियोग लगाइएको छ । अभियोगपत्र दर्ता हुँदा फरार जनाइएका शंकरलाललाई सीआईबीको टोलीले साउन ६ पक्राउ गरी उच्च अदालत, पाटनमा हाजिर गराएको थियो । यो समाचार तयार पार्दा पाटन उच्च अदालतमा दीपक भट्ट, सुलभ अग्रवाल  र शंकर अग्रवालको थुनछेक बहस भइरहेको छ । उनीहरूविरुद्ध ४२ करोड बैंकको ऋण दुरुपयोगको आरोप छ । जगदम्बा स्टील्सले बैंकबाट लिएको ऋणलाई भट्टको खातामा पठाई इन्फिनिटी होल्डिङ्सको खातामा पठाइएको सीआइबीले जनाएको छ । जगदम्बा स्टील्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक लगायत वित्तीय संस्थाबाट ‘वर्किङ क्यापिटल लोन’ चालू पुँजी कर्जा र छोटो अवधिको कर्जा लिएको थियो । औद्योगिक कच्चापदार्थ खरिद र दैनिक कार्य सञ्चालनका निम्ति लिइएको कर्जा जगदम्बा स्टील्सले दीपक भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा स्थानान्तरण गरेको दाबी अभियोगपत्रमा छ ।  उक्त रकम हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिद गर्न र व्यक्तिगत लाभका निम्ति प्रयोग गरिएको गरिएकाले बैंकिङ कसुरमा सजाय माग गरिएको छ। अग्रवालले ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ सात पैसा बैंकको कर्जा दुरुपयोग गरेको आरोप छ ।