विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन् ।
 
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूको ‘सुटकेस’ तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।          

यसैबीच,  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३३ जना पक्राउ गरेको छ । प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट छ, जुम्ला, मोरङ, कञ्चनपुर, चितवन र दाङबाट तीन/तीन, रुपन्देही र काठमाडौंबाट दुई/दुई, सुर्खेत, बर्दिया, कैलाली, सर्लाही, भक्तपुर, बारा, सल्यान र सुनसरीबाट एक/एक जना पक्राउ परेका छन् ।         

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइन ट्रामाडोल, भोमिन र एनारगन बरादम गरेको छ ।   

Share News