लोकसेवा तयारी गर्ने युवालाई निःशुल्क पढाइरहेको माछापुच्छ्रे गाउँपालिका कसरी अगाडि बढिरहेको छ ?

 काठमाडाैं । कास्की जिल्लामा पर्ने पाँच स्थानीय तहमध्ये माछापुच्छ्रे गाउँपालिका तेस्रो ठुलो स्थानीय तह हो । यस गाउँपालिकाकृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ९ ओटा वडा रहेको यो गाउँपालिका ५ सय ४४ दशमलब ५८ वर्ग किलोमिटरसम्म फैलिएको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिण काखमा रहेको यस गाउँपालिकाका अधिकांश स्थानहरुबाट मनोहर हिमश्रृङ्खला तथा हरिया पहाडहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ । माछापुच्छ्रे हिमालको नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । यो गाउँपालिकाको पूर्वतर्फ मादी गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, उत्तरमा मनाङ जिल्ला, त्यसैगरी दक्षिणमा पोखरा लेकनाथ महानगरपालिका र अन्नपूर्ण गाउँपालिका पर्दछन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के कस्ता छन् र त्यसैगरीरोजगारीको अवसर सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमाकेन्द्रीत हुँदै हामीले यो सामग्री तयार पारेका छौं । कृषि विकास गाउँपालिकाले वार्षिक नीति, कार्यक्रम तथा बजेट विनियोजन गर्दा कृषिलाई प्रथमिकतामा राख्ने गरेको छ । नेपाल सरकारले फलफुल दशक मनाइरहेको सन्दर्भमा यस गाउँपालिकामा पनि सुन्तला, कागती र जुनार रोपण अभियान चलिरहेको छ । गाउँपालिकाले केही वडालाई पकेट क्षेत्रको रुपमा पनि घोषणा गरेको छ भने‘एक घर एक करेसाबरी’ को अवधारण पनि अगाडि सारेको छ । कृषिलाई व्यवसायिकरण र आधुनिकिकरण गर्नको लागि गाउँपालिकाले कृषकहरुलाई आग्रह गरेको छ । कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफुल संकलन गर्ने केन्द्र पनि गाउँपालिकाले स्थापना गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भइरसका कारण बैदेशिक रोजगारबाट फर्केका तथा बेरोजगार भएर बसेका युवालाई कृषि एवं पशुपालन व्यवसायमा संलग्न गराउनको लागि गाउँपालिकाले स्थानीय सहकारी मार्फत युवालाई अनुदान दिने व्यवस्था पनि मिलाएको छ । सहकारीमार्फत दुध बिक्रि गर्ने कृषकलाई बिक्रिको आधारमा प्रोत्साहन अनुदान दिने व्यवस्था पनि मिलाएको छ । गाउँपालिकामा दुध उत्पादन पकेट क्षेत्र छुट्याएर कृषकसँगको लागत साझेदारीमा स्थानीय प्रजातीका भैँसी प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेको छ । २०७६ सालको घर सर्वेक्षण अनुसार यस गाउँपालिकामा ७६ दशमलव ७९ प्रतिशत घर परिवारको मुख्य पेशा कृषि तथा पशुपालन रहेको थियो । गाउँपालिकाको योजना गाउँपालिकाको प्रशासनीक भवन निर्माण भइरहेको छ । १० करोड रुपैयाँको लागतमा सो भवनको निर्माण भइरहको हो । ‘एक घर एक धारा’ अभियान पनि सञ्चालनमा रहेको छ । करिब ८ करोड रुपैयाँको लागतमा गाउँपालिका र वडा कार्यलय जोड्ने पक्कि सडकको निर्माण पनि भइरहेको छ । गाउँपालिकालाई केन्द्रसँग जोड्ने सडकको कामपनिधमाधम भइरहेको छ । १ अर्ब रुपैयाँ बराबरको लगानीमा एन्फा टेक्निकल सेन्टरको काम पनि अगाडि बढिरहेको छ । चालु आर्थिक वर्षको लागि यस गाउँपालिकाको बजेट कुल ६२ करोड ६७ लाख ३९ हजार २ सय ९० रुपैयाँ रहेको छ । जसमा गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड २६ लाख २० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । शैक्षिक विकास शैक्षिक क्षेत्रतर्फ पनि गाउँपालिकाले धेरै काम गर्दै आएको छ ।१० ओटा माध्यमिक विद्यालय र २६ ओटा आधारभूत तथा प्रा.वि. गरी जम्मा ३६ ओटा सामुदायिक विद्यालयहरु गाउँपालिकामा सञ्चालित छन् । विद्यालयहरुको भौतिक सुधारको कार्यक्रम पनि गाउँपालिकाले गरिरहेको छ । गरिब, जेहेन्दार तथा विपन्न बालबालिकालाई उच्च शिक्षाको लागि छात्रवृत्ती दिने कार्यक्रम पनि रहेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा छात्राहरुलाई निःशुल्क रुपमा स्यानेटरी प्याड वितरण गर्दै आएको छ । गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला, लाईबे्ररी तथा सिटि कक्षा स्थापनातथा सञ्चालन भएका छन् । स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन पनि सञ्चालन भइरहेको छ । गाउँपालिकाले गुणस्तर शिक्षामा विशेष जोड दिएको छ । स्वास्थ्य क्षेत्रको विकास गाउँपालिकाले स्वास्थ्य संस्थाहरुको भौतिक विकास तथा सुधार गरिरहेको छ । स्वास्थ्यकर्मीहरुले कुपोषण न्यूनीकरण गर्ने र पोषण सम्बन्धी जनचेतनाको अभियान पनि चलाएका छन् । आधारभूत स्वास्थ्यसेवाको नियमित उपलब्धताको सुनिश्चितताको लागि औषधिको नियमित आपूर्ति र भण्डारको व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ । नेपाल सरकारको नीति बमोजिम गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल पनि निर्माण भइरहेको छ । स्वास्थ्य बीमामार्फत प्रदान गरिने सेवाको पहुँचलाई विस्तार गरी महिला, बालबालिका,ज्येष्ठ नागरिक, दलित, सिमान्तकृत, शहिद परिवार रद्वन्द्व पीडित नागरिकलाई स्वास्थ्य बीमाको रकम अनुदानको रुपमा दिने कार्यक्रम पनि यस गाउँपालिकामा रहेको छ । खेलकुद विकास खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले ‘एक वडा एक खेल मैदान’ को अवधारण सुरु गरेको छ । यस गाउँपालिकामायुवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटवललगायतका खेलहरू गाउँपालिकामा आयोजना हुने गरेका छन् । गाउँपालिकाका युवाहरू खेलकुदतर्फ उत्सुक छन् ।राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि गाउँपालिकामा हुने गरेको छ । पर्यटन विकास यो गाउँपालिका पर्यटकीय क्षेत्रको प्रचुर संभावना बोकेको ठाउँ हो । गाउँपालिकामा होमस्टेको अवधारणा सुरु भएको छ भने ल्वाङ गाउँमा चिया बगान पनि सञ्चालनमा आएको छ । माछापुच्छ्रे मोडल ट्रेकिङ रुट तथा मर्दी हिमाल ट्रेकिङ रुट पनि यो गाउँपालिकामा पर्छ । धम्पुस, अस्ट्रेलियन वेस क्याम्प, धिताल, घलेखर्क सिदिङ, मर्दी हिमाल हाइक्याम्प र लो क्याम्प पनि गाउँपालिकामा सञ्चालित छन् । माछापुच्छ्रे हिमाल यो गाउँपालिकामा पर्छ । भौगोलिक हिसाबले पनि सुन्दर यस गाउँपालिकामा पर्यटकहरुको बाक्लो उपस्थिति रहेको पाइन्छ । गाउँपालिकाले पर्यटन विकासको लागि विभिन्न योजनाको तर्जुमा पनि गरेको छ । पदयात्रा गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गर्ने काम पनि गाउँपालिकाले गरिरहेको छ । गाउँपालिका भित्र क्यानोनिङ्ग, रक क्लाइम्बिङ्गजस्ता साहसिक पर्यटकिय स्थलको पहिचान तथा विकास गर्ने योजना रहेको छ । विभिन्न पुराना पदमार्गहरुको संरक्षण गर्न र नयाँ पदमार्गहरुको निर्माण गर्नमा गाउँपालिकाले विशेष ध्यान दिएको छ । युवा रोजगारी युवालाई रोजगार सिर्जना गर्नमा पनि गाउँपालिकाको ठुलो भूमिका खेलेको छ । युवालाई लक्षित गर्दै प्रधानमन्त्रि रोजगार कार्यक्रम पनि गाउँपालिकामा सञ्चालन भएको छ । गाउँपालिकाले युवालाई निःशुल्क सिप विकास तालिम पनि दिँदै आएको छ । लोकसेवा तयारी गर्ने युवालाई गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षाको व्यवस्था मिलाएको छ । यस गाउँपालिकाका धेरै युवाहरु पशुपालन तथा कृषि पेशामा जोडिएका छन् । कृषि पेशा गर्ने युवालाई गाउँपालिकाले अनुदानको व्यवस्था पनि मिलाएको छ । जनप्रतिनिधीहरु तर्फको कुरा गर्नुपर्दा यस गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ्ग हुनुहुन्छ भने उपाध्यक्षमाकृष्ण कुमारी पौडेल दवाडी हुनुहुन्छ । (गाउँपालिकाका सूचना अधिकारी युवराज पाैडेलसँग गरिएकाे कुराकानीमा आधारित) 

किसानहरुले किसान क्रेडिट कार्ड मार्फत २ लाख रुपैयाँसम्म विना धितो ऋण पाउँछन् – नगरप्रमुख आले

नेपालको प्रदेश १ अन्तर्गतको भोजपुर जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय नगरपालिका हो भोजपुर नगरपालिका । १२ ओटा वडा रहेको यस नगरपालिका कृषि उत्पादनका क्षेत्रमा चर्चित हुनुका साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । यो नगर भौगोलिक हिसावले मध्यपहाडी भेगमा पर्छ । यहाँको हावापानी मध्यम खालको रहेको छ । यस नगरपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । मध्यपहाडी राजमार्गले छोएको हुँदा नेपालको राजधानी काठमाडौंसम्म आवागमन गर्न सहज हुने सम्भावना रहेको यस नगरपालिका पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ । नेपाल एकीकरण अभियानपश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक केन्द्रका रुपमा चयन गरिएको इतिहास छ । वि.सं. १८७२ सालमा यसै नगर क्षेत्रको टक्सार बजारमा नेपालभर आवश्यक पर्ने डोली पैसाका नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने काम भएकोले सो बजारको नामनै टक्सार रहन गएको छ जुन बजार हाल यसै नगर क्षेत्रमा पर्दछ । नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भईसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन देखापरेका छन्, रोजगारीको अवसर सृजना गर्नमा नगरपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका मेयर कैलाश कुमार आलेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकासको लागि हामीले नगरपालिकामा धेरै काम गर्दै आएका छौैैं । नगरपालिकाका धेरै नागरिकहरू कृषि पेसामा आवद्ध रहेका छन् । नगरपालिकामा किसान क्रेडिट कार्डको लञ्च गर्न लागेका छौं । आउँदो चैत्र १७ गते किसान क्रेडिट कार्ड सम्बन्धी सम्झौता गर्ने कार्यक्रम पनि रहेको छ । किसानहरुले किसान क्रेडिट कार्ड मार्फत २ लाख रुपैयाँसम्म विना धितो ऋण पाउँछन् । किसानले गर्न लागेको व्यवसायको जानकारी अनुसार मात्र यो सेवा पाउनेछन् । हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । नगरपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र धेरै जसो ५० प्रतिशत अनुदानको बिउ वितरण गर्दै आएका छौं । कृषिलाई आधुनिकीकरण गर्नेतर्फ पनि विशेष ध्यान दिइरहेका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं । हामीले नगरपालिकाका केही वडाहरूलाई पकेट क्षेत्रका रूपमा पनि छुट्याएका छौैं । ३ र ४ नं. वडालाई सुन्तला पकेट क्षेत्र तथा वडा नं. १ र २ लाई अलैंची पकेट क्षेत्रका रूपमा घोषणा गरेका छौं । केही वडालाई मकै पकेट क्षेत्रको रुपमा पनि छुट्याएका छौं । नगरपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ? नगरपालिका भित्र धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको मुख्य पेशा खेति किसानी नै हो । प्रतिशतमै भन्नुपर्दा करिब ७० प्रतिशत मानिसहरू कृषि पेसामा आवद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । नगरपालिकामा स्वास्थ्य क्षेत्रको विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि हामीले धेरै काम गर्दै आएका छौं । ‘एक वडा एक स्वास्थ्य चौकी’को अवधारण पनि नगरपालिकामा रहेको छ । सरकारले दिएको औषधीहरू गाउँपालिकाका नागरिकलाई निःशुल्क वितरण गर्ने गरेका छौं । ठुलो रोगको त उपचार नगरपालिकामा हुन सक्दैन । नगरपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । १२ ओटा वडा रहेको हाम्रो नगरपालिकामा १२ ओटै स्वास्थ्य चौकी रहेका छन् । खेलकुद विकासका लागि नगरपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि नगरपालिकामा ‘एक वडा एक खेल मैदान’ भन्ने अभियान चलाएका छौं । खेलकुद समिति पनि नगरपालिकामा गठन भएका छन् । नगरपालिकामा १० ओटा युवा क्लबहरू रहेका छन् । युवा क्लबहरू मार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटबल लगायतका खेलहरू नगरपालिकामा आयोजना गर्ने गरेका छौं । नगरपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता पनि नगरपालिकामा हुने गरेको छ । शैक्षिक विकासको लागि नगरपालिकाले कसरी काम गर्दै आइरहेको छ त ? शैक्षिक क्षेत्रको विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । नगरपालिकाको शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं । विद्यालयको कक्षा कोठामा स्मार्ट बोड राखेर पढाउने काम पनि भएको छ । आधुनिक शिक्षा प्रणालिलाई पनि ध्यान दिइरहेका छौं । शिक्षा प्रणालिलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामीले प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । बेला बेलामा विभिन्न विज्ञहरूबाट शिक्षकहरूलाई तालिम पनि दिँदै आएका छौं । आफ्नो नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो नगरपालिका पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको ठाउँ हो । नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । नगरपालिकाको वडा नं ३ स्थित सुन्तले बजार र सो आसपासका हिमाल तथा विश्वकै गहिरो अरुण उपत्यकाको महनमोहक दृश्य हेर्न सकिने भएकाले भ्यु टावरको निर्माण गर्ने योजना पनि रहेको छ । सिद्धकाली मन्दिर पनि नगरपालिका भित्र पर्यटकीय स्थलको रूपमा चर्चित छ । टक्सार बजार पाटीपौवा तथा देवीदेवताका मन्दिरहरु रहुनुका कारणले महत्वपूर्ण मानिएको छ । नगरपालिकामा पर्यटन पूर्वधारमा पनि विशेष जोड दिएका छौं । नगरपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? स्थानीय सरकार बनिसकेपछि नगरपालिकामा विकास निर्माणका कामहरु पनि धेरै भएका छन् । नगरपालिको सबै वडामा कच्ची सडक पुर्याएका छौं । नगरपालिकाका केही कच्ची सडक पिच पनि भएका छन् । खानेपानीको काम पनि गरेका छौँ । १२ ओटा वडामध्ये ४ ओटा वडामा मात्र बिजुली पुगेको थियो । हाल हामीले नगरपालिकाका सबै वडामा बिजुली पुर्याउन सफल भएका छौं । नगरपालिकामा विकास निर्माणको काम पनि धेरै गरिरहेका छौं । नगरपालिकाको भवन र सामुदायिक भवनको पनि हामीले निर्माण गरेका छौं । २१ करोड रुपैयाँको बजेटमा नगरपालिकाको भवन र सामुदायिक भवनको निर्माण भएको हो । प्रदेश सरकारको सहयोगमा भोजपुर एयरपोर्टलाई स्तरोन्नती गरेका छौं । १६ करोड रुपैयाँको लागतमा यो काम भएको हो । १९ करोड रुपैयाँको बजेटमा भोजपुर रङ्गशालको पनि निर्माण भइरहेको छ । अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? अहिलेसम्मको काम गराईबाट म सन्तुष्ट नै छु । नगरपालिकामा भएका विकास निर्माणको काम पनि प्रभावकारी नै भएका छन् । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि नगरपालिकामा आएको परिवर्तन बारे केही बताईदिनुस् न पहिलाको तुलनामा त अहिले व्यापक परिवर्तन आएको छ । देखिने खालका कामहरू पनि धेरै भएका छन् । पहिला प्रशासनिक भवन नभएर शनिवारे बजारको टहरा बाट काम गथ्र्यौं भने हाल हामीले नगरपालिकाको आफ्नै प्रशासनिक भवन बनाएका छौं । भौतिक संरचनाहरूको निर्माण पनि नगरपालिका भित्र भएको छ । अहिले नगरपालिका भित्र सडकको विकास भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । नगरपालिका भित्रका केही सडकहरू पिच पनि भइसकेका छन् । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासको लागि पनि हामीले जोड दिएका छौं । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । विकास निर्माणको काम पनि अगाडि बढाइरहेका छौं । यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ? विकास गरेअनुसारको बजेट खर्च हुने गरेको छ । खर्च गरेअनुसार उपलब्धी पनि राम्रो नै भएको छ । बजेट बनाउँदा वित्त समानिकरण बजेट बनाउनु पर्ने हुन्छ । वित्त समानिकरणको बजेट न्यून रहेको छ । यस वर्ष १० करोड ५० लाख रुपौयाँ थियो । थोरै बजेटले धेरै काम गर्नुपर्ने हुन्छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारिक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुला उद्योग त छैनन् । स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू रहेका छन् । पलिकामा बरु कृषि उद्योग धेरै संख्यामा रहेको छ । कृषकहरूले कुखुरापालन तथा भैँसीपालन लगायतका काम पनि गर्दै आएका छन् । नगरपालिकामा २ ओटा हाइड्रोपावर सञ्चालन भएका छन् । टक्सर पिखुवा हाइड्रोपावरले ८ मेगावाटको विधुत उत्पादन गर्छ भने स्ट्रोन हाइड्रोपावरले ५ मेगावाट विधुत उत्पादन गर्छ । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन् हो नि ? गाउँपालिकामा ठुलो उद्योगहरू नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि सामान्य व्यवसायहरुबाट कर सङ्कलन हुने गरेको छ । नगरपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् ? व्यक्ति अनुसारको समस्या आउने गरेको छ । धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं । प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ? पार्टी अनुसारको केन्द्र र प्रदेश बाट बजेट आउने गर्छ । फरक पार्टीको नेतृत्वकर्ता भयो भने बजेट पनि न्यून आउने गरेको छ । तर पनि सामान्य विकास निर्माणको काममा त हाम्रो समन्वय भएकै छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ? ९ ओटा स्थानीय तह रहेको भोजपुर जिल्लामा उत्कृष्ट काम चाहीँ हाम्रै नगरपालिकामा भएको छ जस्तो मलाई लाग्छ । यो ५ वर्षको कार्यअवधिमा सिमित बजेटले पनि नागरिकहरुको आधारभूत आवश्यकता पुरा हुने विश्वास छ । आर्थिक विकास, पर्यटन विकास आदिका कुरालाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ भन्ने तथ्यमा जोड दिएका छौं ।

स्थानीय तहकाे प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रममा विनियोजित बजेटको खाका तयार गर्न निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई प्रशासकीय भवन पूर्वाधार बिकास कार्यक्रम विनियोजित बजेटको खाका तयार गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बजेटको अधिक खर्च गर्ने, त्यसको श्रेस्ता राख्ने, अन्तिम लेखा परिक्षण गर्न निर्देशन दिएको हो । स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार बिकास कार्यक्रम सञ्चालन कार्यविधि २०७७ मा भएको व्यवस्था बमोजिम चालु आर्थिक बर्ष २०७७/७८ मा कार्यक्रम सञ्चालनको लागि बजेट उपलब्ध गराउने गरी छनौट भएका स्थानीय तहहरुलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो । चालु आर्थिक वर्ष २०७७/७८ मा समपन्न हुने आयोजनाहरुका लागि २२ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । माग फारम अनुसार निर्माणाधीन आयोजनाहरुका लागि १० करोड ९० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । माग प्रस्ताव भई निर्माणधीन अवस्थामा रहेको आयोजनाहरुका लागि १७ करोड ६२ लाख रुपैयाँ र माग प्रस्ताव भएका आयोजनाको लागि २५ करोड ५३ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।