कक्षा ११ र १२ निःशुल्क पढाउँदै सिरिजङ्गा गाउँपालिका

काठमाडौं । प्रदेश १ को ताप्लेजुङ जिल्लामा पर्ने सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ पढ्ने सबै विद्यार्थीलाई निःशुल्क पढाउदै आएको छ । यो वर्षबाट ११ र १२ मा पढ्ने विद्यार्थीहरुलाई गाउाँपालिकाले निःशुल्क पढाउँदै आएको हो । कक्षा ११ र १२ पढ्न विद्यार्थीले निःशुल्क रुपमा पढ्न पाउने र विद्यालयले पनि शुल्क लिन नपाउने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष टिकाराम गुरुङ्गले जानकारी दिए । सो गाउँपालिकाका विद्यार्थीका लागि मात्रै होइन, अन्य पालिकाहरुबाट आउने विद्यार्थीले पनि कक्षा ११ र १२ पढ्न कुनै शुल्क तिर्नु नपर्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । कक्षा ११ र १२ कक्षा पठाउने विद्यार्थीको आधारमा सोझै गाउँपालिकाले विद्यालयलाई अनुदानमा रकम उपलब्ध गराउने व्यवस्था मिलाएका गुरुङ्गले बताए । यस्तै, यो वर्षबाट सामाजिक विकास अन्तर्गत गाउँपालिकाले प्रत्येक वडाका उच्च अंक ल्याउने विद्ययार्थीहरुलाई एक वडाका १ जना गरी जम्मा ८ जना विद्यार्थीलाई प्रत्येक वर्ष बाली विज्ञान र पशु विज्ञानमा निःशुल्क पढाउँदै आएको अध्यक्ष गुरुङ्गले बताए । शिक्षालाई विशेष ध्यान दिएको पालिकाले सो पालिकाभित्रका आधारभूत विद्यालयमा पढ्ने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी २ हजार रुपैयाँ बराबरको झोला, सट, पाइन्ट र सुइटर पनि यो वर्षबाट दिदै आएको छ । सामाजिक विकास अन्तर्गत शिक्षा क्षेत्रमा ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङ्गले बताए । उनका अनुसार सो पालिकामा १ देखि ५ कक्षासम्म पढ्ने विद्यार्थीको संख्या १६ सय ५० रहेको छ । एसईई लक्षित गरेर १० कक्षाका विद्यार्थीलाई २ महिनासम्मको निःशुल्क कोचिङ व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ । गाउँपालिका भित्रका १० कक्षासम्म रहेका विद्यालयहरुमा निःशुल्क कोचिङ कक्षहरु सञ्चालनमा आइसकेका छन् । सो गाउँपालिकामा ९ ओटा माध्यमिक विद्यालय रहेको र माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीलाई एसईई लक्षितगरेर अंगे्रजी, विज्ञान र गणित विषयको कोचिङ कक्षा सञ्चालन गरिरहेका अध्यक्ष गुरुङ्गले बताए । यो बर्षबाट कोचिङ कक्षाको सञ्चालन गरेको र कोचिङ कक्षा प्रत्येक वर्ष सञ्चालन हुने उनको भनाई छ । शैक्षिक प्रोत्साहन कोष छुटट्याई कोष अन्तर्गत शैक्षिक गतिविधि गाउँपालिकाले गरिरहेको छ । शैक्षिक कोष अन्तर्गत नै गाउँपालिले नयाँ वर्षको अवसर पारेर वैशाख ४ गते ताप्लेजुङ्ग जिल्लाभर रहेका माध्यामिक, सामुदायिक र संस्थागत विद्यालयका प्रत्येक विद्यालयबाट १ एक जना विद्यार्थीहरू सहभागी हुने गरी बक्तृत्वकला प्रतियोगिता आयोजनाको तयारी गरी रहेको अध्यक्ष गरुङ्गले बताए । गाउँपालिका बाहिरबाट आउने विद्यार्थीलाई खाने बस्ने व्यवस्था गाउँपालिकाले नै मिलाउ तयारी रहेको छ ।

१० शैया बेडको अस्पतालका लागि ८५ लाख रुपैयाँ बजेट आएको छ – गाउँपालिका अध्यक्ष गुरुङ्गसँगको कुराकानी

नेपालको प्रदेश नं १ अन्तर्गत ताप्लेजुङ जिल्लामा अवस्थित प्राकृतिक रुपमा सुन्दर एवं रमणिय गाउँपालिका हो सिरीजङ्घा गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । ४ सय ८१ दशमलब ९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा ८ वटा वडा रहेका छन् । २०६८ को जनगणना अनुसार यस गाउँपालिकामा १५ हजार ८ सय ६ जनाको बसोबास रहेको छ । गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ भने यहाँ मिश्रित जातजातिको बसोबास रहेको पाइन्छ । गाउँपालिकाका ठूला आयोजना तथा परियोजनाहरु के कस्ता छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष टिका राम गुरुङ्गसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । सर्वप्रथम कृषिबाटै शुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता काम गरिरहेको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशिल भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशा नै अँगालेका छन् । हामीले गाउँपालिकामा पशु र कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं । हामी अहिले आर्थिक वर्षको अन्तिम चरणमा पुगिसकेका छौं । गाउँपालिकामा ७२ ओटा टोल विकास संस्थाहरु गठन भएका छन् । साविकको गाविसमा ९ ओटा वडा रहेका थिए जसलाई टोल विकासको रूपमा रूपान्तरण गरेर ७२ ओटा टोल विकास संस्थाको गठन गरेका छौं । १ लाख रुपैयाँको दरले प्रत्येक टोलमा बजेट छुट्याएका छौं । कृषि समुह गठन भएका टोलमा कृषि विकास र कृषि कार्यक्रमको लागि ठाउँ अनुसारको तरकारी उत्पादन गर्ने कार्यविधि बनाएका छौं । जस्तै एउटा टोलमा १ लाख रुपैयाँ बजेट भयो भने त्यो टोलमा ६० देखी ७० घरधुरी हुन सक्छन् । दलित परिवारलाई लक्षित गरी हामीले कार्यविधि बनाएका छौं । एउटा किसानलाई बढिमा १५ हजार र घटिमा ५ हजार रुपैयाँसम्म नगद अनुदान दिने व्यवस्था मिलाएका छौं । गाउँपालिकामा किवी, आलु, टमाटर, आदि उत्पादन हुने गरेको छ । हाम्रो गाउँपालिका भित्र कृषिका कार्यक्रमहरु पनि सञ्चालन हुँदै आइरहेका छन् । हाल कृषकलाई दिने कृषि सम्बन्धी तालिम तथा कार्यक्रमहरू ८० प्रतिशत सकिएको छ । गाउँपालिकामा हामीले पकेट क्षेत्र पनि छुट्याएका छौं । वडा नं. ५ र २ मा प्रशस्त किवी खेति हुने भएकाले किवी पकेट क्षेत्र रुपमा छुुट्याएका छौं । गत वर्ष हामीले कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्«याक्टर पनि वितरण गरेका थियौं । गाउँपालिकामा जमिन धेरै भिरालो भएको कारण यो प्रभावकारी हुन सकेन । विउ विजन र मल पनि कृषकलाई हामीले वितरण गर्दै आएका छौं । कृषिलाई आधुनिकीकरण गर्नमा हामीले विशेष जोड दिइरहेका छौं । बेमौसमी तरकार खेतिको लागि टनेल पनि वितरण गर्दै आएका छौं । जडिबुटी पनि हाम्रो गाउँपालिको मुख्य आयस्रोत हो । गाउँपालिकामा अलैँची र चिराइतो खेति पनि हुने गरेको छ । हिमाली भेगमा पाँच औंले, विखुमा, कुट्कि, सर्मागुरु, पदमचाल, पाखनबेद, टिमुर जस्ता जडिबुटी पनि पाइने गरेका छन् । गाउँपालिकामा रहेका ठूला आयोजना तथा परियोजनाहरू के–के छन् ? गाउँपालिकाको ठुलो योजनाको रूपमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । लागत अनुदान ६ करोड ८७ लाख रुपैयाँ रहेको थियो भने ५ करोड ३१ लाख रुपैयाँमा ठेक्का लगाएर हाल गाउँपालिकाको भवन निर्माण गर्ने काम पनि भइरहेको छ । मंसिरको २९ गते शिलान्यास गरेर पुषको पहिलो हप्ता बाट भवन निर्माणको काम सुरु भएको हो । गाउँपालिकाको भवन नभएको कारण हाल हामीले भाडामा बसेर नागरिकलाई सेवा प्रवाह गरिरहेका छौं । गाउँपालिकाको २ ओटा वडा भवन निर्माण भइसकेको छ भने ३ ओटा वडाको वडा भवन पनि निर्माण भइरहेका छन् । बाँकी रहेका ३ ओटा वडामा पनि यो आर्थिक वर्ष भित्र बनाइसक्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकामा सडक निर्माणको काम पनि भइरहेको छ । त्रिशूलेबर देखि हपु खोला हँुदै गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक स्तरोन्नती गर्ने काम पनि भइरहेको छ । प्रदेश सरकारको ७० लाख रुपैयाँ अनुदान र गाउँपालिकाबाट ८० लाख रुपैयाँ गरी जम्मा १ करोड ५३ लाख रुपैयाँ नगद ठेक्का स्टिमेटमा ६७ लाख रुपैयाँमा ठेकेदारले ठेक्का आह्वान गरेर सडक निर्माणको काम अगाडि बढिरहको छ । ७ नं. वडामा रहेको एकचना भञ्ज्याङ देखि राते खोलासम्मको सडक स्तरोन्नतीको लागि १ करोड ४३ लाख रुपैयाँको ठेक्का आह्वान गरेका थियौं जसमा ठेक्का प्रक्रियाबाट सडकको स्तरोन्नती गरी हाल सडक निर्माणको काम पनि करिब करिब अन्तिम चरणमा पुगेको छ । खानेपानी योजना पनि हाम्रो गाउँपालिकामा रहेको छ । वडा नं ८ को वडा कार्यालयको ४१ लाख रुपैयाँ बजेट र गाउँपालिकाको स्विकृत आयोजनामध्ये समपुरक कोषबाट ९४ लाख रुपैयाँको बजेटमा १ सय ३६ घरधुरीका नागरिककालागि स्वस्थ खानेपानी पुर्याउने र धारा जडान गर्ने काम पनि भइरहेको छ । यो योजना गाउँपालिकाकै ठुलो योजनाको रुपमा रहेको छ । गत सालको केन्द्र सरकारको विशेष अनुदान रु. १ करोड रुपैयाँमा गाउँपालिकाले ३० लाख रुपैयाँ थपेर ५ नं. वडामा खानेपानी पुर्याएका छौं । वडा नं २ मा सिँचाई र खानेपानी पाइपलाइनको लागि ३२ लाख रुपैयाँ बराबरको लागतमा ठेक्का प्रक्रियाबाट यस काम अगाडि बढेको छ । अन्य वडाहरूमा ५ देखी १० लाख रुपैयाँसम्मको खानेपानी आयोजनाको कामहरू रहेका छन् । गाउँपालिकामा ‘कञ्चनजङ्घाको पानी हाम्रो आम्दानी’ भन्ने कार्यक्रम पनि राखेका छौं । जस अन्तर्गत प्रि–फिजिविलिटी स्टडी भनेर ५ लाख रुपैयाँ बजेट विनियोजन पनि गरेका थियौं । त्यो मध्येबाट हालै मात्र प्रि–फिजिविलिटी क्षेत्रका विज्ञहरू जुन मिनिरल वाटरका एक्सपर्ट, सामाजिक विकासका विज्ञ, भूगोल शास्त्रीको टिम लगायतले आएर ३ ओटा पानीको मुहानहरूबाट पानी लगेर ल्याब परीक्षण पनि गरेका थिए । अहिले नेपालमा प्रोमोट भइरहेको रसुवा धुन्चेको हिमालयन ग्लब्स् जुन कोरियन कम्पनीले उत्पादन गरी अन्तर्राष्ट्रिय रूपमा मिनिरल वाटर सप्लाई गरिरहेको छ । काठमाडौंमा पनि प्रति लिटर ३ सय रुपैयाँको दरले हिमालयन ग्लब्स् नामको मिनिरल किन्न सकिन्छ । त्यही अनुसारको पानी हाम्रो गाउँपालिकाको ५ नं वडामा भेटिएको कारण यो वर्ष पानीको मुहानको डीपीआर गराउँदै छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले पनि हाम्रो गाउँपालिका निक्कै सुन्दर छ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल पनि हाम्रो गाउँपालिकाकै वडा नं ८ मा रहेको छ । कञ्चनजङ्घा हिमालको उचाई ८ हजार ५ सय ८६ मिटर रहेको छ । पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन पूर्वाधार साझेदारी कार्यक्रम मार्फत् स्थानीय सरकारको ३० प्रतिशत र केन्द्र सरकारको ७० प्रतिशतको लागत साझेदारीमा कञ्चनजङ्घा पदमार्ग अगाडि बढिरहेको छ । यो ३ वर्षको बहु योजना हो । वैशाखको पहिलो हप्ताबाट हामीले पदमार्गको पनि ठेक्का खुलाउँछौं । ३ करोड ५० लाख रुपैयाँ पर्यटन मन्त्रालयले उपलब्ध गराउँछ भने गाउँपालिकाको १ करोड ५० लाख रुपैयाँ गरी जम्मा ५ करोड रुपैयाँ बराबरको बजेट कञ्चनजङ्घा पदमार्गको आयोजना रहेको छ । आम्दी खोला, नयाँ झेरनी, डुनडु डाँडा नर्वष, चैराङ हुँदै कञ्चनजङ्घाको बेश क्याम्पसम्म जाने पदमार्गको डीपीआरको काम अन्तिम चरणमा पुगेको छ । देशभरका २ सय आयोजनामध्येको एउटा ठुलोे आयोजना यो पनि हो । गाउँपालिकाको वडा नं ८ मा सडक पुगिसकेको छ । गाउँपालिकाको ठाउँ ठाउँमा होमस्टे पनि सञ्चालनमा छन् । अब आउने वर्षमा चाहिँ पर्वतारोहण गराउने गाइडहरूलाई तालिम दिने कार्यक्रम पनि राखेका छौं । गाउँपालिका भित्र कञ्चनजङ्घा संरक्षण क्षेत्र, कञ्चनजङ्घा हिमाल र पदमार्ग, पर्वतारोहण तथा साहसिक यात्रा, पाथिभरा पैदल मार्ग, सिरीजङ्घा मन्दिर, डाँडागाउँको शिवालय मन्दिर, किराँतेश्वर मन्दिर (राष्ट्रिय विभुती श्री फाल्गुनन्दद्वारा होम होमादी गरेको स्थान), प्रभु थुम्का, काबेली नदीमा संभावित र्याफ्टिङ तथा कायोकिङ, बारुले पोखरी, लिम्बु सङ्ग्रहालय मांमखे, तातोपानी ( सिरीजङ्घाद्वारा स्नान गरेको), साना पाथिभराहरु, राँके ओखलढुङ्गा तावाटार, खुर्पे ढुङ्गा आदि गाउँपालिकाका पर्यटकीय क्षेत्रहरुका रुपमा रहेका छन् । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरूलाई सिप विकासको लागि विभिन्न तालिम दिँदै आएका छौं । युवाहरूलाई लक्षित गर्दै १ महिने इलेक्ट्रीशियन तालिम पनि दिँदै आएका छौं । इलेक्ट्रीशियनको तालिम पनि हाल निरन्तर चलिरहेको छ । एकल महिलाहरूले स्यानिटरी प्याड स्थानीय स्तरमै उत्पादन गरुन् भनेर प्याड बनाउने तालिम पनि दिँदै आएका छौं । १६ जना महिलाले प्याड बनाउने तालिम लिइरहेका छन् । प्याड बनाउने महिलाले उत्पादन गरेको प्याड गाउँपालिकाले खरिद गरेर विपन्न दलित महिलाहरुलाई लक्षित गरेर निःशुल्क रुपमै वितरण गर्ने सोच पनि बनाएका छौं । प्रत्येक वडाका २ जना व्यक्तिलाई फर्निचर सम्बन्धी तालिम पनि दिँदै आएका छौं । ढाका टोपी बुनाइमा पनि युवाहरू लागि परेका छन् । केही महिलाहरूले ढाका टोपी बनाउने तालिम पनि लिइरहेका छन् । छालाका जुत्ता बनाउने तालिम पनि सञ्चालन भइरहेको छ । केही युवाहरूलाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि खेल मैदानको व्यवस्था गरेका छौं । गत साल हामीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरेका थियौं । यो वर्ष अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरेका थियौं । खेलकुद विकासको लागि हामीले बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा खेलकुद समितिको पनि गठन गरेका छौं । खेलकुदका औपचारिक कार्यक्रमहरु कसरी अगाडि बढाउने भनेर निरन्तर छलफल पनि गरिरहेका हुन्छौं । गाउँपालिकाको सबै वडामा युवा क्लबहरू गठन भएका छन् । खेलकुद समिति र गाउँपालिकामा भएका युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरू आयोजना हुने गरेका छन् । प्रायः गरेर बक्सिङ्ग, भलिबल, टेबलटेनिस, कराँते, फुटवल, क्रिकेट लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरिएको छ । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । गाउँपालिकामा स्वास्थ्य क्षेत्र विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ? स्वास्थ्य क्षेत्रको विकासका लागि पनि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । कर्मचारी समायोजनको कारणले गर्दा गाउँपालिकामा एउटा मात्र प्राथमिक स्वास्थ्यचौकी बनाएका छौं । केन्द्रबाट आएको तसर्थ बजेटले करारमा स्वास्थ्यकर्मीहरू भर्ना गरेका छौं । धेरै दुर्गम भएको क्षेत्र अथवा वडाहरूमा सरकारी कोटामा नआएको र सरकारले पनि पठाउन नसकेको अवस्थामा हामीले स्वास्थ्यकर्मीहरुलाई खाइपाइ आएको सेवामा भन्दा ५० हजार रुपैयाँ थप गरी राखेका छौं । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । यो वर्ष मात्रै औषधी खरिद प्रक्रियामा ठेक्का प्रक्रिया लागिसकेको छ भने संझौता भएर औषधी पनि आउँदै नै छ । औषधी खरिदका लागि ६४ लाख रुपैयाँ बजेट रहेको थियो भने एकजना व्यवसायीले २८ लाख रुपैयाँमै ठेक्का पारेर सम्झौता बराबरको औषधी पनि गाउँपालिकामा पठाइ सकेका छन् । हामीले प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । वडा नं. ३ मा रहेको हुवनहट संस्थाको तर्फबाट १० लाख रुपैयाँ र गाउँपालिकाको तर्फबाट १५ लाख रुपैयाँ गरेर जम्मा २५ लाख रुपैयाँको लागतमा प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । प्रत्येक वर्ष हामीले एउटा प्रजनन् केन्द्र स्थापना गर्ने गरेका छौं । संघीय सरकारको कार्यक्रम अनुसार हाम्रो गाउँपालिकामा १० शैया बेडको अस्पताल पनि परेको छ । डीपीआर गरेर ठेक्का लगाउनु पर्ने तर जग्गा नपुगेको कारणले गर्दा हामीले जग्गा अतिक्रमण पनि गरेका थियौं तर मन्त्रालयले प्राविधिक रूपमा भवन बनाउन उपयुक्त छैन भन्यो । हामीले बैठकमा निःशुल्क रुपमै जग्गाको आह्वान गरेका थियौं । ११ जना जग्गा दाताहरूले जग्गा उपलब्ध गराउने भनेर निवेदन परेको अवस्थामा हामीले जग्गाको स्थलगत अनुगमन गरेर कार्यपालिकाको बैठक आह्वान गरेका छौं । १० शैया वेडको अस्पतालका लागि ८५ लाख रुपैयाँ बजेट आएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलामा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं । हाम्रो गाउँपालिकाको प्रत्येक वडामा स्वास्थ्य चौकीहरु रहेका छन् । स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क रुपमै दिने गरेका छौं ।

सूर्य नेपालले तनहुँको म्याग्दे गाउँपालिकालाई हस्तान्तरण गर्यो एम्बुलेन्स

काठमाडौं । सूर्य नेपाल प्रा.लि सेराटार तनहुँले म्याग्दे गाउँपालिका तनहुँलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । संस्थाले आज(चैत २६ गते) म्याग्दे गाउँपालिकामा आयोजित एक कार्यक्रममा उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हाे । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायण प्रसाद अधिकारी, म्याग्दे गाउपालिका वडा न ६ का अध्यक्ष बसन थापा, सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एचआर म्यानेजर अन्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा विभाग प्रमुख होमनाथ अर्याल लगायतको सहभागितामा उक्त हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी, लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए । सूर्य नेपालले २०७७ असोजमा पनि शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । कार्यक्रममा गाउँपालिका प्रमुखले सूर्य नेपालबाट यस क्षेत्रमा भईरहेको सहयोगको उच्च मुल्यांकन गर्दै भविश्यमा समेत यस्तै सहयोगको अपेक्षा गरे भने सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले पनि यस क्षेत्रको समग्र विकासको लागी स्थानीयसँग सहकार्य गर्दै अघि बढ्ने कम्पनीको नीति रहेको बताए । यस क्षेत्रमा सूर्य नेपालले बिगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा थुप्रै सहयोग गर्दै आईरहेको छ ।