कृषि क्षेत्रको विकासका लागि उल्लेख्य काम गरेका छौंः गाउँपालिका अध्यक्ष पाण्डेसँगको कुराकानी

‘भिमसेनथापा गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने एउटा रमणीय गाउँपालिका हो । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गरी भिन्नभिन्न विशेषता बोकेको पाइन्छ । सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियारी एवं राष्ट्रिय बिभुति भिमसेन थापाको नामबाट यस गाँउपालिकाको नामाकारण गरिएको हो । भौगोलिक विविधता, पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोंच र बेँसी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यो गाउँपालिकाको क्षेत्रफल १ सय १ दशमलव ३५ वर्ग किलोमिटर रहेको छ । यो गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ३ रहेको छ भने यहाँ ८ ओटा वडा रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के-के हुन्, पछिल्लो समय गाउँपालिकामा के–कस्ता परिवर्तन आएका छन्, युवालाई रोजगारीको अवसर सृजना गर्न गाँउपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाका कारण परेको असर बारे केही बताइदिनुहोस् न आज नागरिकहरु कोरोनाका कारण त्रसित हुने वातावरण त छैन तर लकडाउनको समयमा पालिकाले नसोचेको क्षती भने वेहोर्नु पर्यो । गाउँपालिकामा हुन लागेका विकास निर्माणका काममा नराम्रो असर त पुग्यो नै साथसाथै शिक्षा क्षेत्रमा पनि असर पुग्न गयो । कोरोनाको समयमा एकपल्टमै ५० जनासम्मलाई क्वारेन्टिनमा राख्नुपर्ने अवस्था आएको थियो । विदेश बाट आएकाहरुलाई हामीले १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । हामीले गाउँपालिका भित्र रहेका विद्यालयलाई क्वारेन्टिनको रुपमा पनि सञ्चालन गरेका थियौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? हाम्रो खासै ठुलो समन्वय भएको त छैन । प्रदेश सरकार बाट केहि बजेट आउने गरेको छ । प्रदेश सरकार बाट आएको बजेटलाई हामीले विभिन्न क्षेत्रमा विनियोजन गरेका छौं । प्रदेश सरकारले विकास निर्माणको काममा योजना हाल्दा हामीसँग त्यति परामर्श नगरेको हो कि भन्ने हामीले महशुस गरेका छौं । हामीले र प्रदेश सरकारले एउटै ठाउँमा बजेट हाल्ने गरेकोले कहिलेकाहिँ समस्या पनि देखा पर्ने गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? विकास निर्माणको सवालमा हेर्दा जनताको चाहना तथा आवश्यकता अनुसार हामीले योजनाहरु दिन सकेका छैनौं । कारण हो सिमीत बजेट । नेपाल सरकार र प्रदेश सरकारले पठाएको बजेट सिमित हुन्छ । त्यसैले हामीले ठुला योजनातर्फ काम गर्नै सक्दैनौं । हरेक टोलमा रहेका साना-साना योजनालाई पनि बजेट छुट्याउनु पर्ने हुन्छ । जे होस, समस्या आए पनि त्यसको समाधान गर्दै हामी अगाडि बढिरहेका छौं । केन्द्र सरकार बाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारले जनसंख्या तथा भुगोलको आधारमा हाम्रो गाँउपालिकालाई एकमुष्ट बजेट पठाउने गरेको छ । त्यहि पैसाले हामीले विकास निर्माणको काम गर्ने गरेका छौं । संघीय सरकारले देशभरी बाँडफाँड गर्ने पैसा हामीले पनि पाउने गरेका छौं । संघिय सरकार नै स्थानीय सरकारको स्रोत पनि हो । संघिय सरकार बाट आएको बजेटले नै हामीले गाँउपालिकाको विकास निर्माणका कामहरु गर्ने गरेका छौं । तपाईंको गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् ? हाम्रो गाउँपालिकामा ठुला योजानाहरु खासै धेरै छैनन् । गाउँपालिका कार्यालय भवनको निर्माण भइरहेको छ । नेपाल सरकारको विधानअनुसार भवन निर्माण गर्न १० करोड रुपैयाँ लाग्छ भनेपनि हामी भने त्यसलाई घटाएर ८ करोड रुपैयाँ सम्ममै पनि तयार गर्ने प्रयासमा छौं । हामीले ७ करोड रुपैयाँ बराबरको टेन्डर पनि निकालेका छौं । शाखा कार्यालय निर्माणका लागि हामीले २ करोड रुपैयाँ बराबरको डिपिआर गर्न लागेका छौं । हामीले ८ ओटा वडालाई समेट्ने गरी ८ मिटर चौडाइको चक्रपथको कल्पना गरेका छौं । यसको डिपिआर पनि तयार भईसकेको छ । योभन्दा वाहेक गाउँपालिकामा ४ वटा खानेपानीको ठुला योजनाहरु पनि रहेका छन् । ८ सय घरधुरीसम्मलाई पुग्ने गरी खानेपानी योजना सम्पन्न हुन लागेको छ । हामीले नै सुरु गरेको १ सय धारा, अर्काे १ सय ७० धारा र त्यसैगरी ४ सय धारा खानेपानी तर्फ १ करोड रुपैयाँ भन्दा माथिका योजनाहरु पनि बनाएका छौं । यसतर्फ पनि काम भइरहेको छ । गाउँपालिकामा विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? धेरै नै प्रभावकारी छन् । विकासको काम प्रभावकारी भएकै कारणले गर्दा यहाँका नागरिक पनि हामीसँग खुसी छन् । हामीले पनि उनिहरुको आवश्यकतालाई सम्वोधन गर्ने खालका योजना गाउँसभा बाट पास गरेका छौं । तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिर्वतन देखा परेका छन् त ? म निर्वाचित भएर आइसकेपछि गाँउपालिकामा धेरै परिवर्तन आएको छ । पहिला सडक तथा खानेपानीको अवस्था राम्रो थिएन । हामी निर्वाचित भएर आएपछि ती सबै क्षेत्रमा परिवर्तन र विकास भएको छ । हामी प्रत्येक घरमा धारा र प्रत्येक धारामा पानी दिनका लागि कम्मर कसिरहेका छौं । विद्युत प्राधिकरणसँगको समन्वयमा गाउँपालिकामा रहेका काठका पोल हटाएर फलामका पोल गाडेका छौं । सडक निर्माणको कामहरु पनि भईनै रहेको छ । ‘एक वडा एक पक्की बाटो’ भन्ने अभियानै चलाएका छौं । रातीको समयमा सहज हिँडडुलका लागि भनेर सडक बत्तिको पनि व्यवस्था गरेका छौं । यिनै तथ्यहरुले पनि म निर्वाचित हुनु अघि र पछिका परिवर्तनलाई दर्शाउँछन् जस्तो लाग्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? भिमसेन थापा नेपालकै पहिलो प्रधानमन्त्री हुन् । उनको जन्म हाम्रै ठाँउमा भएको हो र उनकै नाम बाट हाम्रो गाउँपालिकाको नाम पनि राखिएको हो । यो ऐतिहासिक भूमीमा हामीले पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेका छौं । तर प्रचार गरेजस्तो परिणाम भने आएको छैन । यहाँ हामीले पर्यटकिय मार्ग बनाउने योजना बनाएका छौं । धार्मिकस्थल पनि गाँउपालिकामा धेरै रहेका छन् र यिनीहरुको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । बुढिगण्डकी जलविद्युत आयोजना पनि बन्ने क्रममै रहेको छ । गाउँपालिकामा भिमसेनथापाको सालिक राख्नको लागि हामीले सालिक बनाई सकेका छौं । अनुकुल ठाँउमा पार्क, भ्युटावर लगायत बनाउने योजना पनि गाउँपालिकाले बनाएको छ । हामीले पर्यटनको पूर्वधारको पनि विकास गरेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? यसतर्फ धेरै काम भएको छ । यहाँका धेरै मानिसहरु खेतीकिसानी गर्छन् । सकभर जमीनलाई बाँझो नराख्न हामीले आग्रह गरेका छौं । त्यसैगरी किसानलाई सहुलियत दिने योजना पनि अगाडि सारेका छौं । हामीले फलफुल, तरकारीको पकेट क्षेत्र छुट्याएका छौं । पकेट क्षेत्रमा पनि किसानलाई व्यावसायिक बनाउने र अनुदान समेत दिने व्यावस्था मिलाएका छौं । हामीले गाउँपालिकामा रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेका छौं । कोदो खेती धेरै मात्रामा गर्ने किसानलाई पुरष्कारको पनि व्यवस्था मिलाएका छौं । किटनासक औषधी पनि हामीले वितरण गरेका छौं । किसानलाई मलको पनि व्यवस्था मिलाएका छौं । कोदो कुट्ने मेशिन किसानहरुलाई उपलब्ध गराएका छौं । कृषि विकासको लागि भनेर वार्षिक रुपमा लगभग ५० लाख रुपैयाँ बराबरको बजेट छुट्याउँदै आइरहेका छौं । आलु र मकैको विउमा हामीले ५० प्रतिशत अनुदान पनि दिएका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको छ । हामीले युवाहरुलाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेका छौं । गाउँपालिकामा धेरै युवाहरु कृषिमा पनि लागेका छन् । हामीले ठाउँ तथा अवस्था अनुसार उनीहरुलाई बाख्रा पालन अथवा खेतीतर्फ अग्रसर गराएका छौं । यहाँ उद्योगधन्दाको विकास गर्न सकिएको छैन । यदि उद्योेगको विकास गर्न सकिन्थ्यो भने यहाँका युवाहरुलाई पर्याप्त मात्रामा रोजगारी पनि दिन सकिने थियो । तपाईंको गाउँपालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुलो उद्योग रहेको छैन । किसानहरुले खेती गर्छन् । बुढिगण्डकी जलविद्युत आयोजना बनिरहेको छ । तर कहिले बाट यसको काम सञ्चालन हुन्छ भन्ने चाहिँ अझै टुङ्गो छैन । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्यो भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? हामी विशेष गरेर खाद्य वस्तुको उत्पादनमा जोड दिने थियौं । हामीले कोल्ड स्टोर बनाउने योजना बनाएका छौं । किसानले उत्पादन गरेको आलु तथा विभिन्न तरकारीहरु भण्डारण गर्नका लागि ठुलो खालको कोल्ड स्टोर बनाउने योजना छ । जे होस्, गाउँपालिकाका जनतालाई आवश्यकीय दैनिक उपभोग्य वस्तुको उत्पादनमा हामी जोड दिन्छौं । तपाईंले आजसम्म गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? आफूले गर्छु भनी योजना बनाएका कतिपय काम गर्न बाँकी नै छन् । तरपनि आजका दिनसम्म आफूले गरेको कार्य प्रति म एकदम सन्तुष्टनै छु । पहिलेको हेरी अहिलेको अवस्थामा यहाँ निक्कै परिवर्तन आइसकेको छ । अब चाहेर पनि गर्न नसकेका कामहरु भने आगामी वर्षको बजेट बाट भएपनि पुरा चाहिँ गर्ने विचार छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रुपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । घरघरमा सडक पुर्याउने योजना छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकीलाई व्यवस्थित रुपमा सञ्चालन गराउने योजना पनि छ ।

साना तथा मझौला उद्योग खोल्न चाहने युवालाई ऋण उपलब्ध गराइरहेका छौं- गाउँपालिका अध्यक्ष खुलाल

‘खानीखोला गाउँपालिका’ बागमती प्रदेश अन्तर्गतको काभ्रे जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले फरक–फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । यसका पूर्वमा महाभारत, पश्चिममा महांकाल, उत्तरमा वेथान र दक्षिणमा वागमती गाउँपालिका रहेका छन् । राजधानी काठमाडौंबाट १३२ कि.मी.को दूरीमा रहेको यो गाउँपालिका शितल छ, शान्त अनि प्रदुषणरहित पनि छ । कोरोनाकाल पछि गाउँपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ, गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, युवालाई रोजगारीको अवसर गाउँपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर खुलालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः गाउँपालिकामा कोरोनाले पुर्याएको असर साथै हालको अवस्थाका वारेमा पनि केहि बताइदिनुस न ? कोरोनाले हाम्रो गाउँपालिकामा ठुलो असर पुर्याएको छ । हामीले गाउँपालिकामा २५ बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने आइसोलेसन चाहिँ ५ बेडको बनाएका थियौं । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणका काममा पनि गम्भिर असर पुर्यायो । आजका दिनमा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । अहिले हामीले माक्स, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने गरेका छौं । सर्वसाधारणहरु पनि त्रास रहित भएर आ–आफ्नो काम गरिरहनुभएको छ । तपाईंले गाउँपालिकामा कस्तो किसिमको योजनालाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ? हामीले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतलाई प्राथमिकतामा राखेका छौं । गाउँपालिकामा रहेको सबै वडाहरुमा सडक पुगेका छन् । हामीले अस्पतालमा औषधीको कमी हुन दिएका छैनौं । भुकम्पले क्षति गरेका विद्यालयहरुको भवन पनि निर्माण गरेका छौं । भौतिक पुर्वाधारको काममा पनि हामीले जोड दिएका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकार बीच हामीले विभिन्न किसिमका योजनाहरुमा छलफल गर्ने गरेका छौं । स्थानीय तह र प्रदेश सरकारबीच हामीले सहभागीतामुलक समन्वय गरिरहेका छौं । उपभोक्ता समितीमा चाहिँ सामान्य समस्या रहेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारले गाउँपालिकामा ठुला योजना र कार्यक्रमहरु गर्न सकेको छैन । केन्द्र सरकारसँग ५ बर्षे योजनामा हामी छलफल गरेर नै अगाडि बढ्ने गरेका छौं । भनौं न, सामान्य सहयोग भएपनि केन्द्र सरकार बाट मिलिरहेकै छ । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनुभन्दा पछाडि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् नि ? हामी निर्वाचित हुनुभन्दा अगाडिको तुलनामा आज गाउँपालिकामा धेरै परिवर्तन आइसकेको छ । विकास निर्माणतर्फ व्यापक परिवर्तन आएको छ भने यहाँका नागरिकको आर्थिक स्थितीमा पनि परिर्वतन आएको देख्न सकिन्छ । म निर्वाचित हुनुभन्दा अगाडि बजेटको आकार पनि सानो रहेको थियो । काम गर्ने तरिका पनि छिटो छरितो थिएन । नगरिकको माग पनि पूरा हुने गरेको थिएन । म निर्वाचित भईसकेपछि विभिन्न क्षेत्रमा परिवर्तन र सुधार आएको छ । सडकको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ । तपाईं निर्वाचित भएको ३ वर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक काम के–के छन् जस्तो लाग्छ ? गाउँपालिका भित्र हामिले गरेका सम्झिन लायक कामहरु धेरै नै छन् । विद्यालयका नयाँ भवनको निर्माण गर्नु, शिक्षा क्षेत्रलाई १ करोड रुपैयाँ बरावरको अनुदान दिनु, खोलामा पुल निर्माण गर्नु, खानेपानी घरघरमा पुर्याउने वातावरण बनाउनु, आधुनिक कृषि प्रणालीमा यहाँका नागरिकलाई अवसर प्रदान गर्नु, पर्यटन क्षेत्रमा पनि क्रमिक विकास गर्नु, गाउँपालिका भित्र स्वास्थ्य सेवा उपलब्ध गराउनु लगायतका कामहरु सम्झिन लायकका काम हुन् जस्तो लाग्छ । गाउँपालिकामा भएगरेका विकास निर्माणका कामहरु सबै नै प्रभावकारी नै छन् त ? हेर्नुस्, हामी त यसमा सन्तुष्ट रहेका छौं । कतैकतै काम गर्ने मानिसहरुले विगारे पनि होलान् तरपनि यहाँ गरिएका विकास निर्माणका कामहरु सबै नै प्रभावकारी नै भएका छन् भन्ने ठानेको छु । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिकामा प्रशस्त मात्रामा पर्यटकिय क्षेत्रहरु रहेका छन् । हामीले गाउँपालिकमा रहेको सबै मठ मन्दिरको संरक्षण गर्दै यसको प्रचारप्रसार पनि गरिरहेका छौं । आकर्षक पदमार्ग, विभिन्न धार्मिक स्थलहरु लगायतलाई प्रचारप्रसार गर्नतर्फ हामिले ध्यान दिएका छौं । हामीले गाउँपालिकामा पर्यटन पूर्वाधारका लागि भनेर वार्षिक ६० लाख रुपैयाँ छुट्याउने गरेका छौं । तपाईसँग चुनाव लडेका प्रतिस्पर्धीको साथ कस्तो पाइरहनु भएको छ ? हामी उहाँहरुसँग समन्वय गरेर नै अगाडि बढिरहेका छौं । चुनाव भनेको एउटा निर्वाचित भएर आउने विधि हो । सबै बाट साथ र सहयोग मैले पाइनै रहेको छु । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकाका बढिजसो युवाहरु कृषिक्षेत्रमा लाग्नुभएको छ । युवाहरु रोजगारीका लागि बिदेश जानु नपरोस् भनेर हामीले विभिन्न कार्यक्रमहरु पनि ल्याएका छौं । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि हामीले रोजगारी दिने वातावरण सृजना गरेका छौं । साना तथा मझौला उद्योग खोल्न चाहने युवाहरुलाई ऋण पनि उपलब्ध गराउँदै आएका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो गाउँपालिकाले कृषि विकासका लागि धेरै नै काम गर्दै आइरहेको छ । हामीले गाउँपालिकामा जमीनलाई बाँझो नराख्न तथा खेतीयोग्य जमीनको पूरापूर उपभोग गर्न आग्रह गर्ने गरेका छौं । यहाँ रासायनिक मलको अभाव रहेको छ । हामीले सबै वडामा कृषि समिति बनाएका छौैं । खेती गर्नेहरुकालागि विउहरु अनुदानमै उपलब्ध गराउने गरेका छौं । बेमौसमी तरकारीको विउ गाउँपालिकाले निःशुल्क रुपमै उपलब्ध गराइरहेको छ । हाम्रो गाउँपालिकामा नगदे वालीको रुपमा कफि खेती हुने गरेको छ । मकै, धान, कोदो लगायत पनि उत्पादन हुने गरेका छन् । यहाँ उत्पादन गरिएका खुवा काठमाडौंका विभिन्न ठाँउमा विक्री गर्नका लागि लैजाने गरिन्छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा गाउँपालिकालाई फरक र अरु गाउँपालिकाभन्दा विकसित बनाउने योजना रहेको छ । बजेटको अभावले गर्दा चाहिँ सोचेजस्तो काम गर्न पाइएको छैन । मूल रुपमा सडक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई उदाहरणीय बनाउने योजना छ ।

केन्द्र सरकार बाट सजिलै बजेट आउँदैन, धेरै पल्ट माग्ने कराउने गर्नुपर्छ – गाउँपालिका अध्यक्ष पुन

‘धवलागिरी गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको म्याग्दी जिल्लामा पर्ने एउटा रमणिय गाउँपालिका हो । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । धवलागिरी गाउँपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गरी फरक– फरक विशेषता बोकेको छ । मुलुककै करीब मध्य भागमा पर्ने म्याग्दी जिल्ला एउटा नगरपालिका र पाँच ओटा गाउँपालिका मिलेर बनेको छ । धवलागिरी गाउँपालिका भने म्याग्दी जिल्लाको उत्तर पश्चिममा अवस्थित छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु, कोरोनाले शैक्षिक क्षेत्रमा पुर्याएको असर, युवालाई रोजगारी सृजनाका लागि गरिएका कामकर्तव्य लगायतका विषयमा केन्द्रीत रहँदै सो गाउँपालिकाकी अध्यक्ष थमसरा पुनसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्  । प्रस्तुुत छ उक्त कुराकानीको अंश: गाउँपालिकामा कोरोनाले के–कस्तो असर पुर्याएको छ, हालको अवस्था कस्तो छ ? कोरोनाको समयमा गाउँपालिकामा नागरिकहरु त्रसित भएका थिए । विकास निर्माणको काममा पनि कोरोनाले निक्कै असर पुर्याएको थियो । कोरोनाकै कारण गाउँपालिकामा एक जनाको मृत्यु पनि भयो । सबैभन्दा बढि त शैक्षिक क्षेत्रमा नराम्रो असर पुग्यो । कोरोनाको समयमा हामीले क्वारेन्टिन तथा आइसोलेसन स्थापना गरेका थियौं । सो वेला बाहिरी जिल्ला बाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गरेका थियौं । टेन्डर गरेका विकासका कामहरु पनि कोरोनाले गर्दा रोकिएका थिए । तर हालको अवस्था सामान्य रहेको छ । कोरोनाको प्रभाव घट्दै गएका कारण जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । गाउँपालिकामा कस्तो किसिमको योजनालाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ? हाल त विद्युत र सडकलाई नै प्राथमिकता दिएका छौं । साथै भौतिक पुर्वाधारको विकासलाई पनि ध्यान दिएका छौं । हाम्रो गाउँपालिकामा ७ ओटा वडा रहेका छन् जसमध्ये ६ ओटा वडामा कच्ची सडक रहेको छ । हामी विकासको सुरुवाती चरणमा छौं र क्रमैसँग यस्ता कुराहरुलाई सम्वोधन गर्दै अघि बढ्नेछौं । हाल यहाँका ८५ प्रतिशत घरधुरीसम्म विद्युत पुगिसकेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? प्रदेश सरकारसँग समन्वय त गरिरहेका छौं तर पनि त्यहाँ बाट सोचे अनुसारको बजेट आउन सकेको छैन । जनसंख्या, मानव विकास सुचकाङ्क तथा भुगोलअनुसारको बजेट आउनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । सिँचाइ विभाजन र पूर्वाधार बाट कार्यान्वयन हुने गरी ३ करोड रुपैयाँ बजेट प्रदेश सरकार बाट आउने गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा साना देखि ठुला विभिन्न खाले समस्या देखा पर्ने गरेका छन् । यहाँ पर्याप्त मात्रामा दक्ष जनशक्तिको अभाव छ । सानातिना गुनासाहरु लिएर आउने पनि हुनुहुन्छ तर विकास निर्माणको काममा चाहिँ कहिलेकाहिँ समस्या आउने गरेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग पाउनुभएको छ ? केन्द्र सरकार बाट सामन्यकरण, विशेष अनुदान, समपुरक बजेटहरु आउने गरेको छ । सजिलो तरीकाले चाहिँ आउँदैन, धेरै पल्ट माग्ने कराउने गर्नुपर्छ । बजेटको लागि म काठमाडौं गएर पटक–पटक नेताहरुलाई भेट्ने गर्छु । हाम्रो मानव विकास सुचकाङ्क कम रहेको छ । यसैबाट थाहा हुन्छ गरिबी धेरै नै रहेको छ भनेर । तपाईंको गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् ? ९ करोड रुपैयाँ बराबरको डिपिआरमा हामीले अस्पतालको निर्माण गर्न लागेका छौं । सडकमा रहेका बालबालिकालाई पढाउनको लागि भनेर हामीले विद्यालयको निर्माण गर्न लागेका छौं । यसका लागि हामीले २० करोड रुपैयाँको डिपिआर गरेका छौं । सडक निर्माण र खानेपानीमा गौरवका योजनाहरु पनि गाउँपालिकामा रहेका छन् । ठुला योजना पूरा गर्न हामीले कन्सल्टेन्सी हायर गरेर डिपिआर तयार पारेका हुन्छौं । टेन्डरको सुचना राष्ट्र दैनिक पत्रिकामा दिने गरेका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रवल सम्भावना बोकेको ठाउँ हो । विश्वको ७ औं नम्बरमा आउने अग्लो धवलागिरी हिमाल हाम्रै गाउँपालिकामा पर्छ । सानातिना हिमालहरु पनि धेरै संख्यामा रहेका छन् । हामी निर्वाचित भएर आएपछि गाउँपालिका भित्र पदमार्गको विकास गरेका छौं । यहाँका मठ मन्दिरको पनि प्रचारप्रसार गरिरहेका छौं । पर्यटकहरुको लागि हामीले होमस्टेको पनि व्यवस्था गरेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि र पशुपालनमा हामीले धेरै काम गर्न बाँकी छ । कृषि क्षेत्रलाई व्यावसायिक रुपमा अगाडि बढाउन सकिएको छैन । हामीले सामान्य रुपमा फलफुलको विउ तथा विरुवाहरु वितरण गर्दै आएका छौं । कुनै विउहरु निःशुल्क वितरण गर्दैछौं भने कुनै विउहरु चाहिँ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेका छौं । गाउँपालिकामा विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? विकास निर्माणका कामहरु १०० प्रतिशत नै प्रभावकारी हुन्छन् भन्न सकिँदैन । फेरी बजेटको अभावले पनि यस्ता कामहरु रोकिने अथवा आधा मात्रै पनि हुने गरेको छ । थोरै बजेटले धेरै काम गर्नुपर्ने बाध्यता पनि छ । जे होस्, पहिलेको तुलनामा अहिले विकासको काम प्रभावकारी नै छ भन्ने मान्नुपर्छ । तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसके पछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? हामी निर्वाचित हुनु अघि गाउँपालिका भित्र धेरै नागरिकले टुकि बत्ति बाल्ने गरेका थिए । लामो पैदल यात्रा गरेर जीविकोपार्जन गर्ने गरेका थिए । विद्यालयहरु पनि कामचलाउ जस्ता मात्र थिए । सामान्य सिटामोल किन्न पनि धेरै टाढासम्म धाउनु पर्ने अवस्था थियो । तर हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि उक्त समस्याहरु समाधान गर्दै लगेका छौं । शौचालयको व्यावस्थापन भएको छ । सामुदायिक स्वास्थ्य चौकी स्थापना गरेका छौं । बिजुली नपुगेका गाउँमा हामीले सोलार समेत वितरण गरेका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवालाईनै लक्षित गरेर गाउँपालिकामा कार्यक्रम त छैनन् तर पनि विकास निर्माणको काममा युवाहरुलाई लगाएर हामीले थोरबहुत रोजगार दिइरहेका छौं । कोही युवाहरुलाई भने कृषि क्षेत्रमा पनि अगाडि सारेका छौं । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? यहाँका ११ सय २९ घरधुरीमध्ये आधिकांश घरमा बिजुली पुर्याउने योजना बनाएको छु । खानेपानीको उचित व्यवस्थापन हुनेछ । ७ ओटा वडामध्ये ६ ओटामा कच्चि भएपनि सडक पुग्नेछ । स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच हुनेछ । बाढिपहिरोको कारण स्थानान्तरण गर्नुपर्ने विद्यालयहरुलाई स्थानान्तरण गर्ने र नयाँ भवनको निर्माण गरी पठनपाठन कार्यलाई निरन्तर रुपमा अघि बढाइनेछ । सडकहरु मार्फत् मानिसले विना झन्झट थोरै मुल्यमै सामान ढुवानी गर्ने अवसर पाउनेछन् ।