कैलालीकाे जानकी गाउँपालिकाद्वारा किसानलाई ७५ प्रतिशत अनुदानमा बोका वितरण
कैलाली । कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ । पालिकालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालनमा थप सहयोग होस् भनी उन्नत जातका बोका वितरण गरिएको हो । पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५ प्रतिशत अनुदानमा लोकल जातको बोका वितरण गरेको हो । पालिकाले बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेपछि बाख्रापालक किसान खुशी भएका छन् । जानकी–४ का किसान सुरेशकुमार कठरियाले व्यावसायिक बाख्रापालन गरेको दुई वर्ष भयो । बाख्रापालन व्यवसायलाई थप बढाउन उन्नत जातको बोका पाएपछि सहज हुने उनको भनाइ छ । ‘गाउँमै केही गरौँ भनी बाख्रापालन व्यवसाय शुरु गरेको हुँ, उन्नत बोका भएपछि अब उन्नत जातका बाख्रा जन्मनेछन्’, कठरियाले भने, ‘यसले व्यवसायलाई थप बढाउन सहयोग पुग्छ । पालिकाले किसानलाई सघाउने कार्यक्रमले हामी खुशी छौँ ।’ पालिकाले कठरियाजस्तै नौ जना किसानलाई बोका वितरण गरेको हो । जानकी–१ का ओमप्रकाश चौधरी पनि गाउँपालिकाबाट उन्नत जातको बोका पाएपछि खुशी भएका छन् । उनी अनुदानमा पाएको बोकाले आफूले गरिरहेको बाख्रापालन कार्यमा टेवा पुग्ने बताउँछन् । ‘हामीले उन्नत जातको बोका किन्न खोजेको बेला पाउन समेत कठिन हुन्छ, उन्नत जातको बोका भएमा स्थानीय जातको लोकल बाख्राले पनि उन्नत पाठापाठी जन्माउन सक्छन्’, चौधरीले भने, ‘यसले बाख्रा उन्नत खालको हुनुका साथै व्यवसाय फस्टाउन सहयोग पुग्छ । बाख्रा धेरै भएमा मासुको अभाव पूर्ति गर्न सहयोग पुग्छ ।’ पालिका अध्यक्ष प्रदीपकुमार चौधरीले बोका वितरण खाली वितरणका लागि सीमित नभएर उत्पादनमा वृद्धि हुने गरी प्रतिफल दिन किसानलाई आग्रह गरे । ‘तपाईंहरुलाई स्वरोजगार बनाउन पनि यस कार्यक्रमले भूमिका खेल्ने अपेक्षा छ । पालिकास्तरमा बाख्रा उत्पादनको अवस्थालाई वृद्धि गर्न बोका वितरण गरेका हौँ’, अध्यक्ष चौधरीले भने , ‘किसानलाई लाभ हुने खालका थप कार्यक्रम आगामी वर्ष ल्याउने तयारीमा छौँ । यहाँहरु राम्रो गर्नुहोला । सरकार सधैँ सहयोगी भूमिकामा हुनेछ ।’ बोयरका उन्नत जातका पाठापाठी उत्पादन गर्ने र अन्य जातभन्दा बोयर जातको बोका, खसीहरु बढी तौलका हुने, यस क्षेत्रको हावापानीमा उपयुक्त मानिएकाले बोयर जातका बोका वितरण गरिएको पशुसेवा शाखाका प्रमुख नरबहादुर कार्कीले बताए । ‘अन्य बाख्राभन्दा यसमा रोग पनि कम लाग्ने, सामान्य स्याहार सुसारमा पनि हुर्कन सक्ने भएकाले किसानले पनि यही जातको बोका माग गरे’, उनले भने, ‘पशु सेवा शाखाले किसानको मागलाई मध्यनजर गर्दै बोयरका बोकाहरु वितरण गरेको हो ।’ रासस
कोभिडका २५ जनासम्म बिरामीलाई अक्सिजन दिएर राख्न सक्षम छौं – गाउँपालिका उपाध्यक्ष थरुनीसँगको अन्तर्वार्ता
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल सारा विश्वनै ठुलो सङ्कटमा छ । विभिन्न देशहरू यो सङ्कटलाई परास्त गर्न लागिपरेको भएतापनि संक्रमणलाई नियन्त्रण गर्न सफल चाहिँ भएको छैन । नेपाल पनि लामो समयदेखि कोरोना भाइरसको लडाईंसँग जुधिरहेको छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण लुम्बिनी प्रदेश अन्तर्गतको बर्दिया जिल्लामा पर्ने गेरुवा गाउँपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ । हिजोआज कोरोनाको जोखिम न्यूनीकरण गर्नको लागि गाउँपालिकाले कस्तो काम गर्दै आएको छ, गाउँपालिकामा संक्रमण थप फैलिन नदिनको लागि कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाकी उपाध्यक्ष हिम कुमारी थरुनीसँग विकासन्युजका लागी राजिब न्यौपानेले गरेको कुराकानी ः विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ? विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यसले मानव जातिको जीवनमा प्रतिकुल अवस्था सिर्जना गरेको छ । यो समयमा हामी एकदमै असहज अवस्थामा काम गरिरहेका छौ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै गाउँपालिका कोरोना संक्रमण नियन्त्रण अभियानमा छ । यस महामारीलाई नियन्त्रण गर्नको गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेको छ । अस्पताल व्यवस्थापन गर्ने र अस्पतालमा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने काम हामी गरिरहेका छौं । पालिकामा १० बेडको आइसोलेसन कक्ष पनि रहेको छ । संक्रमण बढ्यो भने २५ जना कोभिडका बिरामीलाई अक्सिजन दिएर राख्न सक्छौं । हाम्रो गाउँपालिकामा ६ ओटा वडा छन् भने प्रत्येक वडामा स्वास्थ्य इकाई रहेका छन् । सबै स्वास्थ्य इकाईमा महामारी नियन्त्रण गर्नको लागि आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । गाउँपालिकाले आवश्यक स्वास्थ्य सामाग्रीको पनि खरिद गरेको छ भने विभिन्न संघसंस्थाबाट पनि स्वास्थ्य सामाग्री प्राप्त भएको छ र हाल गाउँपालिकामा स्वास्थ्य सामाग्रीको अभाव भने छैन । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँंदै आएको छ । पालिकामा हालसम्म २ सय ५९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने जम्मा ८ सय ४८ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण भएको छ । यससँगै हालसम्म मृतकको संख्या ४ पुगेको छ । पालिकामा संक्रमितको संख्या ३ सय ८४ जना पुगेको छ । पालिकामा कोभिडका बिरामीलाई उपचार गर्न नसकेर अन्य अस्पताल रेफर गरेको संख्या ९ छ । १ सय ८ जना कोरोनाका संक्रमितहरु हाल होम आइसोलेसनमा बसेका छन् । कोभिड बिरामीहरूका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डरहरू भरेर तयारी अवस्थामा राखेका छौ । गाउँपालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि वडा नम्बर २ मा १० शैयाको बेडको अस्थाई कोभिड अस्पताल पनि रहेको छ । त्यही कोभिड अस्पतालमा कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि नेपालगन्ज पठाउँछौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन वा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । वडा कार्यालयसँग समन्वय गरी कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर र एन्टिजेन परीक्षण गर्दै आएका छौं । टोलटोलमै पुगेर परीक्षण गर्ने गरेका छौं । पीसीआर र एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनुभएको छ ? पालिकामा हाल होम आइसोलेसनमा बस्नेको संख्या १ सय ८ रहेको छ । दोस्रो लहरको कोरोना भाइरसको प्रभाव र संक्रमितको संख्या गाउँपालिकामा बढ्दै जाँदा हामीले मास क्वारेनटिनलाई भन्दा होम क्वारेनटिनलाई नै जोड दिएका छौं । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको उपचार गर्न डाक्टरसहितको स्वास्थ्य टोली घरघरमा पुगेको छ । आइसोलेसनमा बसेको संक्रमितलाई परामर्श तथा आवश्यक औषधी पनि वितरण भएको छ । संक्रमितको स्वास्थ्य जाँच, औषधि तथा पीसीआर परीक्षणको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको छ । आइसोलेसनमा राखिने र गम्भीर बिरामीलाई अस्पतालमा पठाउने गरी उपचार व्यवस्था मिलाइएको छ । होम आइसोलेसनमा बसेका कोभिड संक्रमित नागरिकहरूलाई स्वास्थ्यकर्मीसँग जुनसुकै बेला समन्वय गर्न सकिने व्यवस्था मिलाएका छौ । गाउँपालिका हिजोआज कोरोनाको संक्रमितहरुको संख्या कत्तिको बढिरहेको छ, यसलाई नियन्त्रण गर्नको लागि तपाईंहरुको प्रयास कत्तिको सफल भएको छ ? पालिकामा संक्रमितको संख्या बढ्ने क्रम जारी नै छ । एन्टिजेन र पीसीआर परीक्षण गर्दा संक्रमितहरु फेला परिरहेका छन् । पालिकामा हामी कोरोना महामारी नियन्त्रण गर्नको लागि सक्दो प्रयास गरेका छौं । गत वर्ष अन्य ठाउँबाट पालिकामा प्रवेश गर्नेहरूलाई विद्यालयमा क्वारेन्टिन बनाएर राखेका थियौं । तर, दोस्रो लहरको कोरोना भाइरसको प्रभाव परेपछि रोजगारीमा गएकाहरु धेरै पालिकाबासीहरु गाउँ प्रबेश गरे र गाउँमा आएर धेरै मानिसहरुसँग घुलमिल भए त्यसैले पनि अलिक बढि संक्रमण फैलियो । गत वर्षजस्तो बाहिर जिल्लाबाट पालिकामा प्रवेश गर्ने मानिसलाई क्वारेनटिनमा चाहिँ राख्न सकेनौं । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ भने विकास निर्माणको कामहरू सबै ठप्प भएका छन् । टेन्डरका काम अनि स–साना तालिमका कामहरू पनि रोकिएका छन् । यसले पूर्वाधारहरूको विकासमा बाधा सिर्जना गरेको छ । पालिकाको कामकाजमा मात्र नभई कोरोना भाइरस कोभिड–१९ ले स्वास्थ्य, शिक्षा, यातायात, आदि जस्ता विविध क्षेत्रमा प्रतिकुलता असरको सिर्जना गरेको छ । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । महामारी नियन्त्रण गर्नको लागि पालिकामा आवश्यक बजेट छैन । अन्तरीक स्रोत पनि पालिकामा कमै मात्रामा छ । जनताका चाहना, आवश्यकता धेरै छन् तिनीहरूलाई पनि पूरा गर्ने नसकिरहेको अवस्था छ । विकास बजेटबाट पनि हामीले कोरोना महामारी नियन्त्रण गर्नमा खर्च गरेका छौं । गाउँपालिकाले गम्भीर खालका बिरामीलाई थप उपचारका लागि के व्यवस्था गरेको छ ? कोभिडका केही गम्भीर बिरामीहरू नेपालगन्ज रेफर गर्ने व्यवस्था गरेका छौं । बिरामीको अवस्था सामान्य छ भने पालिकाकै अस्पतालमा राखेर उपचार गर्छै । कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ? पालिका स्तरबाट राहतका कार्यक्रमहरू ल्याइएको छैन । हाल राहतमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो रहेको छ । त्यसैले राहतका कार्यक्रमहरू ल्याउन सकेका छैनौं । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग हाम्रो समन्वय भइरहेको छ । यो महामारी न्यूनीकरण गर्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई कसरी फराकिलो बनाउने यी यावत् कुराहरूमा हामीले छलफल गरेका छौँ । अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रूपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानको प्रशंसा गरेर सकिँदैन । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ ? प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागी बजेट चाहिँ सहयोग मिलेको छैन तर, स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । यस महामारीको समयमा पनि स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ । संक्रमण थप नफैलिओस् भन्नेर कस्तो रणनीति अवलम्बन गर्नु भएको छ ? स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमै गएर सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । हामीले आवश्यक स्वास्थ्य सामाग्री पनि खरिद गरेर राखेका छौं । पहिलाको तुलनामा केही हदसम्म नागरिकहरू पनि सचेत भएका छन् । पालिकामा बजेटको पनि अभाव तर बजेटको अभाव हुन नदिनको लागि गाउँ सभाको बैठक बसेर हामी छलफल गर्ने नै छौं । गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ? पालिकामा कोरोना फैलिन जोखिम क्षेत्रहरूको पहिचान भएको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) बाट पालिकाका सबै समुदाय नै प्रभावित भएको छ । पछिल्लो समयमा कोरोना महामारी पालिकामा बढ्दै गएको छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ छ । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ? गेरुवा गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगर्दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु ।
डाक्टर, इञ्जिनीयर पढ्नलाई सघाउँदै बाग्लुङकाे ताराखोला गाउँपालिका
बाग्लुङ । जिल्लाको ताराखोला गाउँपालिकाले उच्च शिक्षा अध्यापनका लागि विद्यार्थीलाई आर्थिक सहयोग गर्न थालेको छ । गत आवदेखि गाउँपालिकामा जन्मेर विभिन्न क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीका लागि छात्रवृत्ति दिन थालिएको छ । गाउँपालिकाले गत वर्ष रु चार लाख आठ गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति स्वरुप प्रदान गरिसकिएको छ । चालू आवमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिसकेको गाउँपालिकाले जनाएको छ । गाउँमा डाक्टर, इञ्जिनियर जस्ता प्राविधिक धारमा अध्ययन गर्न अभिप्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । गाउँपालिकाले विशेष गरि डाक्टर तथा इञ्जिनीयर अध्ययन गर्नेका लागि उक्त शैक्षिक अनुदान कार्यक्रम केन्द्रित गरेको छ । गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसार पाँच प्राविधिक र तीन साधारण अध्ययन गर्नेलाई छात्रवृत्ति दिइने गरेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसी पौडेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले खुलाएको निवेदनमा १२ जनाको आवेदन परेकामा गरिब, जेहेन्दार तथा योग्यताका आधारमा आठ विद्यार्थी छनोट गरेको छ । रासस