सामुदायिक विद्यालयको पिउने पानीको परीक्षण गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक तथा कर्मचारीले पिउने पानी सुरक्षित भए/नभएको परीक्षण गर्ने भएको छ । 

महानगरले विद्यालयसँगै वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रमा प्रयोग हुने पानीको समेत प्रयोगशाला परीक्षण गर्ने तयारी गरेको हो । 

विद्यालयका बालबालिकालाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाको स्वास्थ्य विभागले पानीको नमूना संकलन र परीक्षण प्रक्रियाका लागि सम्बन्धित व्यक्तिलाई अभिमुखीकरण दिन थालेको छ । 

वडा नं. १ बाट सुरु गरिएको अभिमुखीकरण क्रमशः सबै वडाका जनप्रतिनिधि, वडा सचिव, विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा पानीका उत्पादक र वितरकसम्म पुर्याइने महानगरले जनाएको छ । 

महानगरपालिकाको स्वास्थ्य विभागअन्तर्गत समुदाय, स्वास्थ्य संस्था र विद्यालयमा पानी स्वच्छता कार्यक्रमकी फोकल पर्सन राधिका कुइँकेलका अनुसार तालिम प्राप्त व्यक्तिले पानीको नमुना संकलन गर्नेछन् । 

संकलन गरिएका ती नमुनाको प्रयोगशाला परीक्षणपछि प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ । 

विद्यालयमा बालबालिका दिनको ठूलो हिस्सा बिताउने भएकाले उनीहरूले नियमित रूपमा प्रयोग गर्ने पिउने पानीको गुणस्तर स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। धारा, जार वा अन्य स्रोतबाट आउने पानी सफा र सङ्लो देखिँदैमा पिउनयोग्य छ भन्ने सुनिश्चित नहुने भएकाले महानगरले प्रयोगशाला परीक्षणमार्फत पानीको वास्तविक अवस्था पहिचान गर्न लागेको हो ।

Share News