काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र महानगरपालिकाको स्वीकृति नलिई सडकपेटी खन्ने दुई जनालाई महानगर प्रहरी बलले जरिवाना गरेको छ ।
महानगर प्रहरी बलका अनुसार वडा नम्बर ७ का कृष्णबहादुर चापागाईंलाई स्वीकृति नलिई सडकपेटी खनेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै, वडा नम्बर ३ का ध्वजबहादुर थापामगरलाई १ लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाका अनुसार सार्वजनिक सडक तथा सडकपेटीमा स्वीकृति नलिई जथाभावी खन्ने र संरचना बिगार्ने कार्य नियन्त्रण गर्न महानगर प्रहरी बलले अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइरहेको छ ।
महानगरले सार्वजनिक पूर्वाधारको संरक्षण तथा सडकपेटीमा हुने अनधिकृत निर्माण तथा क्षति न्यूनीकरणका लागि स्वीकृतिबिना सडक खन्ने कार्यमाथि निगरानी बढाएको जनाएको छ ।

