महिला उद्यमीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजार पुर्‍याउन ललितपुरमा प्रदर्शनी मेला हुने

काठमाडौं । ललितपुर महानगरपालिकाले स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने उद्देश्यले तीन दिने प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । 

लोकल रुट्स टु ग्लोबल रिच नाराका साथ आगामी असोज १६ गते शुक्रबारदेखि १८ गते आइतबारसम्म पुल्चोकस्थित महानगरपालिकाको कार्यालय प्राङ्गणमा मेला सञ्चालन हुनेछ । 

बिहान १०ः०० बजेदेखि साँझ ६ः३० बजेसम्म चल्ने उक्त प्रदर्शनीमा कुल ७५ वटा स्टलहरू रहनेछन्, जहाँ अन्तर्राष्ट्रिय बजारमा माग भएका तथा गुणस्तरीय उत्पादनहरू मात्र प्रदर्शनमा राखिनेछ ।

प्रदर्शनीमा विभिन्न देशका राजदूत, विकास साझेदार, वैदेशिक नियोगका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय अतिथिहरूलाई आमन्त्रण गरिएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर सधैं पृथक कार्य गर्न इच्छुक रहेको बताउँदै यस प्रदर्शनीले महिला उद्यमीहरूलाई कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्त्वपूर्ण माध्यमको काम गर्ने उल्लेख गरे । 

वैदेशिक बजारमा गुणस्तरको ठूलो महत्त्व हुने भएकाले उद्यमीहरूलाई उत्पादनको गुणस्तरीयता कायम गर्न कुनै सम्झौता नगर्न आग्रह गर्दै उनले महानगरका अन्य सफल कार्यझैं यस मेलालाई पनि अन्य पालिकाले अनुकरण गर्ने गरी भव्य बनाउन निर्देशन दिएका छन् । 

कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यमशीलतामा महिलाको भूमिका पहिलेको सहायक अवस्थाबाट बदलिएर अहिले नेतृत्वदायी बनेको बताइन् । 

महानगरभित्र २५ सयभन्दा बढी महिला उद्यमीहरू रहेको जानकारी दिँदै उनले अनेकौं चुनौतीका बाबजुद महिलाहरू आत्मनिर्भर बन्न अघि सर्नु गौरवको विषय भएको धारणा राखिन् ।

कार्यक्रममा रोजिता महर्जनले मेलाको विशिष्टताबारे प्रस्तुतीकरण गरेकी थिइन् भने महानगरका सूचना अधिकारी तथा निर्देशक देवप्रसाद गुरागाइँको पनि उपस्थिति रहेको थियो । 

Share News