जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी करिब ९४ योजना कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबाट स्वीकृति भई आएका ९४ वटा योजनामध्ये ८५ वटा योजना उपभोक्ता समितिसँग सम्झौता भई अहिलेसम्म ५० बाट योजना निर्माण सम्पन्न भएका छन् । नौ योजना ठेक्का भई हालसम्म सात वटा योजना निर्माण सम्पन्न भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकलबहादुर महतले जानकारी दिए । उक्त योजनामध्ये यहाकाँ आठवटै स्थानीय तहका लागि मन्त्रालयबाट क्रमागत सिँचाइका ७३ वटा योजना रहेका छन् । १७ वटा योजना तटबन्धन र खानेपानीका २५ वटा योजना यो आर्थिक वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख महतको भनाइ छ । खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी योजनालाई विशेष प्राथमिकतामा राखेर योजनालाई कार्यान्वयन गरिने भएको छ । कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट यहाँका जमिनमा सिँचाइ सुविधा विस्तार भई खेतीयोग्य जमिनमा स्तरोन्नति भएको छ । चालु आवको जेठसम्म कूल बजेटको पुँजीगत खर्च करिब ५० प्रतिशत खर्च भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ । रासस 

नेपाली बजारमा जीडब्लूएमको ओरा-०५ ईभी सार्वजनिक, मूल्य ४६ लाख ९९ हजारबाट सुरु

काठमाडौं । ग्रेट वाल मोटरको विद्युतीय गाडी ओरा-०५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ । सोमबार नेपालका लागि जीडब्लूएम गाडीको आधिकारिक विक्रेता भिजी इम्पेक्स प्रा.लिले एक कार्यक्रमका बीच ओरा-०५ गाडीलाई बजारमा ल्याएको हो ।  कम्पनीका अनुसार नेपाली सडक अनुकूल डिजाइन गरिएको यस ओरा-०५ मा सुरक्षा र क्षमतालाई उच्च प्राथमिकता दिइएको छ ।  गाडीमा आगो र पानीबाट पूर्ण सुरक्षित प्रमाणित भएको अत्याधुनिक ड्र्यागन आर्मर ब्याट्री प्रयोग गरिएको छ ।  जसले एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । नेपाली बाटोका लागि उपयुक्त २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यस एसयूभीमा सुरक्षाका लागि ७ वटा एयरब्याग र २० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर असिस्ट फिचरहरू समावेश रहेको कम्पनीले दाबी गरेको छ ।  यसको इन्टेरियरलाई विलासी बनाउन ३६० डिग्री क्यामेरा सिस्टम, सनरुफ र आकर्षक एम्बिएन्ट लाइट जस्ता लक्जरी सुविधाहरू राखिएका छन् ।  कम्पनीले नेपाली बजारमा यो गाडी दुईवटा भेरियन्टमा उपलब्ध रहेको जनाएको छ । जसमा मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार र हाई भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।  कार्यक्रममा भिडियो सन्देशमार्फत शुभकामना दिँदै जीडब्लूएम इन्टरनेशनलका अध्यक्ष एन्डीले ओरा-०५ आधुनिक र प्रिमियम जीवनशैली चाहने नेपाली ग्राहकहरूका लागि उत्कृष्ट विकल्प हुने विश्वास व्यक्त गरे ।  त्यस्तै, जीडब्लूएमका प्रबन्धक टोबीले नेपालको अटोमोबाइल बजारलाई ग्रिन ट्रान्सफर्मेसन (हरित रूपान्तरण) तर्फ लैजान कम्पनी प्रतिबद्ध रहेको बताए । उनले हावल, ट्याङ्क र ओरा जस्ता ब्रान्डले नेपाली ग्राहकको मन जितिरहेको दाबी गरे ।  भिजी इम्पेक्सका प्रबन्धक प्रतीक जालानले ओरा-०३ को सफलतापछि नयाँ मोडलले बजारमा नयाँ उचाइ लिने दाबी गरे । उनले कम्पनीले बिक्रीपछिको सेवामा विशेष जोड दिने प्रतिबद्धता जनाए ।  यो इलेक्ट्रिक एसयूभी अब देशभरका जीडब्लूएम सोरुमहरूमा बुकिङ र अवलोकनका लागि उपलब्ध भइसकेको कम्पनीले जनाएको छ।

याडियाको नयाँ इलेक्ट्रिक बाइक ‘कीनेस’ नेपाली बजारमा, सुरुवाती मूल्य ६ लाख ६० हजार

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी साधनको माग बढ्दै गएका बेला याडियाले आफ्नो नयाँ इलेक्ट्रिक बाइक कीनेस सार्वजनिक गरेको छ ।  बजारमा इलेक्ट्रिक स्कुटरहरूको उपस्थिति बाक्लो भए पनि बाइक खोज्ने ग्राहकहरूको मागलाई सम्बोधन गर्न कम्पनीले यो नयाँ मोडल भित्र्याएको जनाएको छ ।  विशेष गरी युवा पुस्ता र थ्रिल चाहने राइडरहरूलाई लक्षित गरिएको कम्पनीको भनाइ छ । बाइकको सुरुवाती बजार मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।  उत्कृष्ट डिजाइन र ग्लोबल क्वालिटीका कारण यो बाइक बजारमा उपलब्ध अन्य बाइकहरू भन्दा फरक रहेको कम्पनीले दाबी गरेको छ । प्राविधिक विशेषताका हिसाबले याडिया कीनेसमा ११ किलोवाटको शक्तिशाली मिड-ड्राइभ मोटर र डुअल एनएमसी ब्याट्री जडान गरिएको छ ।  यसमा रहेको एडभान्स्ड बीएमएस सिस्टमसहितको डुअल ब्याट्रीले पावर राइडिङ गर्दा पनि ब्याट्री छिटो ड्रेनेज (कम) हुन दिँदैन ।  कम्पनीका अनुसार बाइकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यसमा ४० भन्दा बढी सुरक्षा फिचर्सहरू र विभिन्न स्मार्ट प्रविधिहरू समावेश गरिएको छ ।  नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै यसमा अपसाइड डाउन सस्पेन्सन दिइएको छ । जसले अफरोडिङ र बाइक ह्यान्डलिङलाई निकै सजिलो, आरामदायी र स्मुथ बनाउँछ । कम्पनीका जनरल म्यानेजर सुरेन्द्र शाहीका अनुसार यो बाइक विशेष गरी काठमाडौं उपत्यकाका लागि निकै उपयुक्त छ । यो बाइक धेरै लामो दुरीका लागि भन्दा पनि बढी पावर, पर्फर्मेन्स र युनिकनेस खोज्ने चालकहरूका लागि तयार पारिएको म्यानेजर शाहीले बताए ।  कम्पनीले भविष्यमा २०० देखि ३०० किलोमिटर सम्मको रेन्ज दिने अन्य मोडलहरू पनि नेपाली बजारमा ल्याउने योजना बनाएको छ ।  ग्राहकको विश्वास र ढुक्कताका लागि कम्पनीले यस बाइकको ब्याट्रीमा २ वर्ष वा ३० हजार किलोमिटर र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर सम्मको वारेन्टी समेत उपलब्ध गराएको छ ।