काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा दुई कम्पनीलाई कुल ४ लाख ४० हजार रुपैयाँ जरिवाना गरेको छ । मंगलबार काठमाडौं र ललितपुरका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि विभागले मार्केट प्लेस प्रालि र लिलिज नेपाल प्रालिलाई जरिवाना गरेको हो ।
विभागका अनुसार ललितपुर महानगरपालिका-२५ स्थित मार्केट प्लेस प्रालिले सिम्पल आई मास्कको अधिकतम खुद्रा मूल्य (एमआरपी) २४५ रुपैयाँ उल्लेख भएको वस्तु ३९५ रुपैयाँमा बिक्री गरेको पाइएको थियो । उपभोक्तालाई भ्रममा पार्ने गरी बढी मूल्यमा बिक्री गरेको पुष्टि भएपछि कम्पनीलाई २ लाख ४० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
त्यसैगरी काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित लिलिज नेपाल प्रालिले बिक्री बिल जारी नगरी सामान बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(ञ) तथा दफा ३९(१)(ख) बमोजिम २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
यस्तै, ललितपुर महानगरपालिका-४, भनिमण्डलस्थित सोल स्क्वायर प्रालिलाई व्यवसाय दर्ता, प्यान, भ्याट तथा खरिद-बिक्री बिललगायतका कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
अनुगमनका क्रममा काठमाडौं महानगरपालिका-३१ स्थित यु आर किराना, शान्तीनगरस्थित फेमिनाइन स्टोर, प्रयागमार्गस्थित दोलखाली ट्रेडर्स एन्ड सप्लायर्स प्रालि, गौरीघाटस्थित मैनाली इण्डष्ट्रीज प्रालि तथा कुमारीगालस्थित मैनाली मार्केटिङ्गलाई भने सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले उपभोक्ताको हित संरक्षण तथा बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउन नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।