एमएडब्लु अर्थमुभर्स र ग्लोबल आइएमईबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशत कर्जा सुविधा

काठमाडौं । निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँच सहज बनाउने उद्देश्यले एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. र ग्लोबल आइएमई बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एमएडब्लु अर्थमुभर्सका एफ एण्ड आर प्रमुख सञ्जय देव यादव र ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यअन्तर्गत जेसीबी निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले ग्लोबल आइएमई बैंकका शाखामार्फत विशेष ‘हायर पर्चेज’ कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल राष्ट्र बैंकको मापदण्डअनुसार ‘लोन टु भ्यालू’ अनुपातका आधारमा अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने जनाएको छ ।

ग्राहकलाई छिटो सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक कागजात पूरा भएको एक साताभित्रै डेलिभरी अर्डर जारी गरिनेछ । यस योजनाअन्तर्गत जेसीबी उपकरणका लागि अधिकतम पाँच वर्षसम्मको कर्जा अवधि तय गरिएको छ ।

यो सहकार्यले निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीहरूलाई उपकरण खरिदमा सहज वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ । साथै प्रतिस्पर्धी कर्जा सुविधा र सरल प्रक्रियाले साना तथा मझौला व्यवसायीलाई समेत आधुनिक उपकरणमा लगानी गरी व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

एमएडब्लु अर्थमुभर्सको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल, जेसीबीका विश्वसनीय उपकरण तथा ग्लोबल आइएमई बैंकको वित्तीय सेवाको संयोजनले ग्राहकलाई उपकरण खरिददेखि सञ्चालन र मर्मतसम्भारसम्म भरपर्दो समाधान प्रदान गर्ने अपेक्षा गरिएको छ ।

दुवै संस्थाले आगामी दिनमा ग्राहक सुविधा, व्यावसायिक वृद्धि तथा नेपालको निर्माण एवं पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै थप ग्राहकमैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।   

Share News