सुनचाँदी दुवै महँगिए, सुन २ लाख ९३ हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौंको यातायात प्रणाली सुधार्ने गुरुयोजनाका लागि सुझाव माग
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सहरी यातायात प्रणालीसम्बन्धी गुरुयोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए) प्रतिवेदन तयार गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको प्राविधिक सहयोगमा ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’ को रणनीतिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार गर्न लागेको हो । मन्त्रालयका अनुसार ‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात’को उद्देश्यसहित गुरुयोजना तयार भइरहेको छ । गुरुयोजनाले उपत्यकाको जनसङ्ख्या वृद्धि, पूर्वाधार र बढ्दो सवारी चापलाई आधार बनाएर भविष्यमा आवश्यक योजना तथा नीति निर्माणका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । गुरुयोजनाबाट काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापन, सार्वजनिक यातायात प्रणालीको सुदृढीकरण तथा दिगो सहरी यातायात प्रणाली विकासमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले ३० दिनभित्र गुरुयोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनको मस्यौदा प्रतिवेदनमाथि राय–सुझाव उपलब्ध गराउन सरोकारवालालाई आग्रह गरेको छ । राय–सुझाव पूर्वाधार विकास मन्त्रालय, सिंहदरबार, काठमाडौंमा वा मन्त्रालयको इमेलमार्फत पठाउन सकिनेछ । प्रतिवेदन मन्त्रालयको आधिकारिक वेबसाइटमा समेत राखिएको मन्त्रालयले जनाएको छ ।
पुरानो साटेर नयाँ टीभिएस चढ्ने मौका, भृकुटीमण्डपमा ५० भन्दा बढी भ्यालुएटरसहित महा एक्सचेन्ज मेला
काठमाडौं । नेपालका लागि टीभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भृकुटीमण्डपमा 'अचम्मैको महा एक्सचेन्ज' मेलाको आयोजना गरेको छ । असोज १२ गते देखि असोज १८ गतेसम्म सञ्चालन हुने उक्त मेलाको उद्घाटनसँगै टीभिएसका दुई नयाँ मोडल- एन्टोर्क १५० र एपाचे आरटीआर २०० ४भी युएसडीसहितको प्रोजेक्टर हेडल्याम्प मोटरसाइकलको अनावरण गरिएको छ । कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियार, निर्देशक दीपा अग्रवाल, टीभिएस इन्डियाका एसिया रिजनल बिजनेस हेड अनुभव बाली तथा ब्रान्ड म्यानेजर प्रसाद सुन्दरमले नयाँ सवारी साधनहरूको संयुक्त रूपमा अनावरण गरेका थिए । आगामी दशैं-तिहारलाई लक्षित गर्दै प्रिमियम र रेसिङ डीएनमा आधारित एन्टोर्क १५० को मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ र अपसाइड-डाउन फोर्क तथा प्रोजेक्टर हेडल्याम्पयुक्त नयाँ एपाचे आरटीआर २०० ४भीको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ । उद्घाटन समारोहमा चर्चित कलाकार व्योमाको सांगीतिक प्रस्तुति, लो मान्थाङ विशेष भिडियो र रोमाञ्चक स्टन्ट शोले भृकुटीमण्डपको माहोल ऊर्जामय बनाएको थियो । कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल र टीभिएसका एसिया रिजनल बिजनेस हेड अनुभव बालीले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र पर्फर्मेन्स उपलब्ध गराउन दुवै मोडल कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे । मेलामा ग्राहकका लागि पुरानो दुईपाङ्ग्रे सवारी साधनको उच्चतम मूल्याङ्कनका लागि ५० भन्दा बढी भ्यालुएटरहरू खटाइएको छ । साथै १०० प्रतिशत क्यासब्याक, १० लाखसम्मको नगद छुट वा गोल्ड की जित्ने अवसर, नागरिकता र लाइसेन्सकै आधारमा सरल फाइनान्स, र दैनिक दुई जनालाई ५ वर्षसम्म निःशुल्क सर्भिस जस्ता सुविधाहरू राखिएका छन् । जिमखाना स्टन्ट, टेस्ट राइड, गेम जोन र फुड स्टलसहित बिहान १० बजेदेखि साँझसम्म सञ्चालन हुने यो मेलाले चाडपर्वको माहौललाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ ।