दुई साताभित्र बजारमा ‘फुल सिलिन्डर’ ग्यास आउने

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज हुँदै गएकाले आगामी १० देखि १५ दिनभित्र उपभोक्ताले फुल सिलिन्डर (पूरा तौल भएको) ग्यास पाउने भएका छन् ।  आपूर्ति व्यवस्था पूर्ण रूपमा नियमित भएपछि मात्रै फुल सिलिन्डर ग्यास वितरण गरिने नेपाल आयल निगमले जनाएको छ । अहिले दैनिक ८० देखि ८५ बुलेट ग्यास नेपाल भित्रिरहेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।  बजारमा फुल सिलिन्डर ग्यास पठाउन दैनिक कम्तीमा १०० बुलेट आवश्यक पर्ने उनको भनाइ छ । प्रवक्ता ठाकुरका अनुसार यसका लागि इन्डियन आयल कर्पोरेसनसँग निरन्तर समन्वय भइरहेको छ । इन्डियन आयल कर्पोरेसन आफैले पनि आफ्नो कुल मागको ६० प्रतिशत ग्यास मध्यपूर्वी (मिडिल इस्ट) देशहरूबाट आयात गर्ने गर्दछ ।  हाल आपूर्ति प्रणाली सुचारु भइसकेकाले अबको दुई हप्ताभित्र बजारमा पूरा तौलकै सिलिन्डर उपलब्ध गराउन सकिने अपेक्षा निगमले गरेको छ । निगमका अनुसार हाल देशभर ग्यासको कुल खपत वार्षिक ३५ हजार देखि ३६ हजार मेट्रिक टनको हाराहारीमा रहेको छ ।  विगतमा आधा सिलिन्डर मात्रै वितरण गरिएको र उपभोक्ताहरूले पनि सुरुवाती चरणमा ग्यास सञ्चित (थुपारेर) राखेका कारण पछिल्लो समय बजारमा ग्यासको खपत केही घटेको देखिएको प्रवक्ताले स्पष्ट पारे ।  कुल खपत हुने ग्यासमध्ये झण्डै ५० देखि ६० प्रतिशत ग्यास काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको छ । यस्तै, मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले पेट्रोलियम ग्यास (एलपीजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ । हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले सङ्कटकालीन नियन्त्रणहरू अन्त्य गरेको एएफपीले जनाएको छ । भारतको पेट्रोलियम मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा गैर-घरेलु प्याक गरिएको एलपीजीमाथिको प्रतिबन्ध हटाइएको र पश्चिम एसियामा सङ्कट सुरु हुनुअघिकै स्तरमा आपूर्ति पुनःस्थापित गरिएको जनाएको छ । मन्त्रालयका अनुसार सङ्कटको सुरुआतमा रोकिएको बल्क एलपीजी आपूर्तिलाई पनि पूर्ववत् उपभोगको ५० प्रतिशतसम्म पुनः सञ्चालन गरिएको छ । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको भारत एलपीजीको दोस्रो ठूलो आयातकर्ता हो ।  भारतमा प्रयोग हुने अधिकांश एलपीजी मध्यपूर्वी मुलुकहरूबाट आयात हुने भएकाले क्षेत्रीय द्वन्द्वले ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पारेको थियो ।  विश्वको करिब पाँचौं भाग तेल तथा ग्यास ढुवानी हुने हर्मुज जलघाँटी अमेरिका–इरान युद्ध सुरु भएपछि फेब्रुअरीको अन्त्यदेखि प्रभावित बनेको थियो ।  इरान र अमेरिकाबीच रणनीतिक जलमार्ग पुनः सञ्चालन गर्ने सहमति भएपछि हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा सुधार आएको छ । त्यसपछि भारतले आपूर्ति व्यवस्थालाई क्रमशः सामान्य अवस्थामा फर्काउन थालेको हो । 

सुनको मूल्य तोलामा दुई लाख ७९ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदी ५५ रुपैयाँले घटेको छ ।      शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँ र एक तोला चाँदीको मोल चार हजार १८० रुपैयाँ निर्धारण भएको छ ।      हिजो बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।      गत बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ४८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।       शुक्रबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।   

सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको हो । बिहीबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँ निर्धारण भएको छ । बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  एक तोला चाँदीको मूल्य चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५९० रुपैयाँमा खरिद बिक्री भएको थियो । अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंसत तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।