मोबाइल एक्स्पोमा ५० लाखको कारोबार, एसएलसी दिएर बसेकालाई विशेष उपहार
काठमाडौं, ८ असार । नयाँ बसपार्कको बीजी मलमा सञ्चालित मोबाइल एक्स्पोमा ५० लाख रुपैयाँको कारोबार भएको छ । मोबाइल एक्स्पोको आठौं दिनसम्ममा २५ हजार बढीले अवलोकन गरिसकेका छन् । हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजना सहित बीजी मलले मोबाइल एक्स्पोको आयोजना गरेको हो । मलका अध्यक्ष बासु गिरीले भने, ‘हामीले जुन लक्ष्यका साथ मोबाइल एक्स्पोको आयोजना गरेका छौं, त्यसबाट हाम्रा ग्राहकहरुले भरपुर फाइदा लिन सक्नु भएको महशुस भएको छ । यसलाई २५ हजार जनाको उपस्थितीमा ५० लाखको कारोबार हुनुले पनि पुष्टि गर्छ’ । आयोजकका अनुसार एक्स्पो अवधिमा ग्राहले बीजी मलका सबै फेन्सी पसलबाट सामान गरि गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् । साथैे हालसम्मा १६ जना भाग्यशाली विजेताले मोबाइल सेट उपहार स्वरुप प्राप्त गरिसकेका आयोजकले बताएका छन् । त्यसै गरि १० हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्ने ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने छन् । एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थीहरुले विशेष उपहार पाउने छन् । मोबाइल एक्स्पोको अवसर पारेर यही शनिबार बीजी मल परिसरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना हुँदैछ । एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिएका छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको उपहार पाउने मलले जनाएको छ । एक्स्पो अवधिभर उपहार प्राप्त गर्ने सबै ग्राहकहरुको नाम बीजी मलको फेसबुक पेज www.facebook.com/mybgmall मा राखिने आयोजकले बताएका छन् ।
स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गर्न राजधानीमा खाद्य मेला
काठमाडौं, ८ असार । परम्परागत पोषिला र स्थानिय खाद्य पदार्थको प्रबद्र्धनका लागि खाद्य मेलाको आयोजना हुने भएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको आयोजना र कृषि उद्यम केन्द्र तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको सह आयोजनामा असार १० र ११ गते भृकुटीमण्डपमा खाद्य मेलाको आयोजना गर्न लागिएको हो । मेलामा स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरूको प्रचार प्रसार गर्ने, अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारबारे जानकारी प्रदान गर्ने, स्वदेशी खाद्य उत्पादनको प्रबर्द्धन गर्ने तथा खाद्य पोषणसम्बन्धी विविध जानकारी दिईने खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले बताए । मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १८ स्टल, विभिन्न संघसंस्थाका जानकारी मूलक २४ स्टल र विभिन्न उद्योगहरूबाट उत्पादित खाद्य वस्तु बिक्री वितरण गर्ने गरी ३६ स्टलसहित कुल ७८ स्टल रहने छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलाले खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी जनचेतना बढाउन सहयोग पुग्ने वस्तीले बताए ।
असारे झरीमा बल्ल सकियो बस्ती स्थानान्तरणको अध्ययन, सुरक्षित ठाउँमा सार्ने टुंगो छैन
काठमाडौं, ८ असार । भूकम्पपछिको दोश्रो झरी सुरु भैसक्दा सरकारले भर्खरै बस्ती स्थानान्तरणको अध्ययन सम्पन्न गरेको छ । भूकम्पको उच्च जोखिममा रहेका बस्तीहरुको अध्ययन गर्न खटिएको टोलीले ११ जिल्ला घुमेर भर्खरै काठमाडौं आइपुगेको हो । ‘काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका ११ जिल्लामा बस्ती स्थानान्तरणको अध्ययन गर्न बिशेषज्ञ टोली परिरचालन गरिएको थियो, रिपोर्ट आएको छ, अध्ययन गरिरहेका छौं’, खानी तथा भूगर्भ विभागका उप महानिर्देशक सोमनाथ सापकोटाले भने । कुन जिल्लाका कति बस्ती उच्च जोखिममा देखिए त ? भन्ने प्रश्नको जवाफमा उप महानिर्देशक सापकोटाले भने–‘पहिले धेरै बस्ती सार्नु पर्ने प्रतिवेदन आएको थियो तर अहिले त्यो संख्या घटेको छ, हामी प्रतिवेदन तयार गर्दैछौं, संख्या एकिन भैसकेको छैन ।’ सापकोटाका अनुसार भूकम्पका कारण धेरै बस्ती सार्नु पर्ने अवस्थामा छैनन् । डाडापाखाका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरण गर्नु पर्ने उनको भनाई छ । ‘पहिले देखि नै बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेका थिए, भूकम्पपछि त्यो जोखिम अझै बढेको छ, तर भूकम्पिय जोखिमकै कारण त्यति धेरै बस्ती सार्नु पर्ने अवस्थामा छैनन्’, उप महानिर्देशक सापकोटाले भने । के भन्छ पुरानो प्रतिवेदन ? राष्ट्रिय पुननिर्माण प्राधिकरणको गठन पुर्व राष्ट्रिय योजना आयोगले १८ जिल्लाका १८८ गाबिसका ४७५ बस्ती सार्नु पार्ने रिपोर्ट तयार गरेको थियो । ती बस्तीमा १९ हजार एक सय घरधुरी थिए । तर सांसदहरुले हचुवाका भरमा रिपोर्ट आएको भन्दै बिरोध गरे । जनप्रतिनिधीको बिरोधपछि त्यसको लामो समयपछि बल्ल अध्ययनका लागि टोली खटिएको थियो । सो टोलीले जिल्ला विकास समिति, भू–संरक्षण कार्यालय र स्थानिय जनप्रतिनिधीसँगको सहकार्यमा भूकम्पको उच्च जोखिममा रहेका बस्तीहरुको अध्ययन गरेको बताएको छ । सो अध्ययनले तयार पारेको रिपोर्टका आधारमा सरकारले बस्ती स्थानान्तरणको काम अघि बढाउनेछ । ‘कुन कुन बस्ती स्थानान्तरण गर्नु पर्ने हो, त्यसको अध्ययन रिपोर्ट आएपछि बस्तीको डिजाईन र पुर्वाधार निर्माण सुरु हुन्छ’, शहरी विकास मन्त्रालयको आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरी शर्माले विकासन्युजसँग भने । कहाँ सार्ने भन्ने विवाद कायमै भूकम्पको यति लामो समयसम्म सरकारले कुन कुन बस्ती सार्नु पर्ने हो र कहाँ सार्ने भन्ने टुंगो लगाएको छैन् । कुन कुन बस्ती सार्नु पर्ने भन्ने एकिन त तत्कालै लग्ला तर कहाँ सार्ने भन्नेबारे पनि अझै विवाद हुने देखिएको छ । सिन्धुपाल्चोकका सांसद शेर बहादुर तामाङले सम्बन्धित गाबिसकै आसपासमा बस्ती सार्नु पर्ने बताए । तर धादिङका सांसद गुरु बुर्लाकोटीले भने जोखिमयुक्त बस्तीहरुलाई अन्य जिल्ला वा आवश्यक पर्दा तराईमा सार्नु पर्ने बताए । लाप्राक बासीलाई गुप्सीपाखामा हालसम्म गोरखाको लाप्राकमा रहेको ६५० घरधुरीलाई गुप्सी पाखामा सार्ने सैद्धान्तिक सहमति भएको छ । त्यसकै आधारमा गैर आवासिय नेपाली संघ(एनआरएन)ले एकिकृत बस्ती विकासको काम अघि बढाएको छ । के के हुन्छन बस्तीमा ? स्थानान्तरण गरि निर्माण गरिएका बस्तीहरुमा विद्यालय, खुल्ला मैदान, बगैचाँ, स्वास्थ्य संस्था, खानेपानी, ढल निकास लगायतका आधुनिक सुबिधाहरु हुनेछन् ।