पानासोनिकको ४ नयाँ मोबाइल नेपाली बजारमा सार्वजनिक, मुल्य सात हजार देखि २२ हजारसम्म

काठमाडौं, ७ असार । पानासोनिक मोबाइल फोनको नेपालका लागि एकमात्र बिक्रेता एलाईड ट्रेड लिङ्क इन्टरनेशनल प्रालिले चार नयाँ मोबाइल सार्वजनिक गरेको छ । ती हुन् टि४४, टि५०, आर्क र मार्क । कम्पनीका अनुसार टि ४४ एइड्रोइडको ६.० मार्समेलो अपरेटिङ सिस्टमबाट सञ्चालित छन् भने बाकी फोन एण्ड्रोइडको ५.१ ललिपपबाट सञ्चालित रहेका छन् । छुट्टा छुट्टै मोबाइलको छुट्टा छुट्टै विशेषता रहेको कम्पनीले जनाएको छ । यस्ता छन् विशेषताः पानासोनिक टि४४ः कम्पनीका अनुसार यस मोबाइलमा चार इञ्चको डिस्प्ले रहेको छ । क्वाड कोर प्रोसेसरमा आधारित यो मोबाइल स्यामपेन गोल्ड तथा इलेक्ट्रिक ब्लु रङमा उपलब्ध रहेको छ । यसमा २४०० एमएएच क्षमताबो ब्याट्री रहेको छ । एक जिबि र्याम रहेको यस मोबाइलमा ८ जिबि मेमोरी रहेको छ । यसको रियर क्यामरा पाँच मेगापिक्सल छ भने दुई मेगापिक्सलको फ्रन्ट क्यामरा छ । बजारमा यसको मूल्य ६ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले बताएको छ । पानासोनिक टि५०: कम्पनीका अनुसार टि ५०मा ४.५ इञ्चको डिस्प्ले रहेको छ । क्वाड कोर प्रोसेसरमा आधारित यो फोन स्यामपेन गोल्ड तथा डार्क ब्लु रङमा उपलब्ध रहेका छन् । यस मोबाइलमा एक जिबि र्याम र आठ जिबि मेमोरी रहेको कम्पनीले जनाएको छ । यसको रियर क्यामरा पाँच मेगापिक्सलको छ भने दुई मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ। बजारमा यसको मूल्य आठ हजार चार सय ९० रुपैयाँ रहेको कम्पनीले बताएको छ । पानासोनिक आर्कः यस मोबाइलमा ४.७ इञ्चको डिस्प्ले रहेको छ । उक्त मोबाइल क्वाड कोर क्वालकम स्न्यापड्रागन प्रोसेसरमा आधारित र सुनौलो रंगमा उपलब्ध रहेको छ । दुई जिबिको र्याम रहेको यस फोनमा १६ जिबि मेमोरी रहेको छ । रियर क्यामरा आठ मेगापिक्सल भएको यस मोबाइलको पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जानकारी दिएको छ। यसमा १८०० एमएएच क्षमताको ब्याट्री रहेको छ ।यसको मूल्य १९ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । पानासोनिक मार्क: कम्पनीका अनुसार यस मोबाइलमा ५.५ इञ्चको डिस्प्ले रहेको छ । अक्टा कोर क्वालकम स्न्यापड्रागन प्रोसेसरमा आधारित यस फोनमा २५०० एमएएच क्षमताको ब्याट्री रहेको छ । यस मोबाइलमा दुई जिबि र्याम १६ जिबि मेमोरी रहेको छ । यसको रियर क्यामरा १३ मेगापिक्सलको छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । कम्पनीका अनुसार बजारमा यसको मूल्य २१ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

पुननिर्माणसँगै जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौं, ७ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुननिर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘जीविकोपार्जन पुनःस्थापन : सिकाइ र भावी कार्यदिशा’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले भूकम्पबाट भएको क्षतिलाई पुनःस्थापित र पुननिर्माण गर्ने मात्र नभई मुलुकको नवनिर्माणका लागि पनि सबै एकजुट हुनुपर्नेमा जोड दिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो गतिलाई तीव्रता दिनुपर्ने बताउँदै उहाँले यसका लागि सरकारले आवश्यक ऐन कानुन, कार्यविधि, भौतिक पूर्वाधार र आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरे । विगतका तुलनामा सरकारले यस वर्षको बजेटमा औद्योगिक क्षेत्रमा झन्डै ८० प्रतिशत रकम वृद्धि गरेको र यो रकम साना तथा लघुउद्यमको विकासमा विनियोजन गरिने मन्त्री पाण्डेले बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै सामाजिक एकीकरण र आर्थिक उन्नतिका कार्यक्रममा जोड दिए । नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले पुननिर्माणसँगै जीवनस्तरको पुनः स्थापना पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै यसमा अस्ट्रेलियन सरकारले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनमा युएनडिपीका राष्ट्रिय निर्देशक रेनाउड मेयरले पुनर्निर्माणसँगै जनताको जीवनस्तर सुधार ल्याउन अस्ट्रेलियन सरकारको सहयोगमा १४ हजार लघुउद्यमीको व्यावसायिक क्षमता अभिवृद्धि गरिएको जानकारी दिए । सो अवसरमा युएनडिपीका सहायक राष्ट्रिय निर्देशक हिमादेवी खड्काले जीविकोपार्जन पुनःस्थापना परियोजनामार्फत २० हजार घरपरिवारमा सामुदायिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिएको बताए । सम्मेलनमा पुननिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा विष्णु भण्डारी, युएनडिपीका अर्थी पटेललगायतका वक्ताहरुले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा विभिन्न जिल्लाका लघुउद्यमीद्वारा निर्मित हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो । रासस

क्यास्ट्रोल एक्टिभो अब नेपाली बजारमा

काठमाडौं, ७ असार । क्यास्ट्रोल लुब्रिकेन्ट्सको नयाँ उत्पादन ‘क्यास्ट्रोल एक्टिभो’ नेपाली बजारमा भित्रिएको छ । नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट्सको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न प्रालिले क्यास्ट्रोल एक्टिभोलाई भित्र्याएको हो । एक्टिभो फोर स्ट्रोक इन्जिन आयल हो । एक्टिभोको प्रवेशसँगै अब नेपाली बजारमा पहिले देखि प्रचलित क्यास्ट्रोलको एक्टिभ ४टी लुब्रिकेन्ट्सको स्थानमा एक्टिभो स्थापित हुने भएको छ । एक्टिभो पहिलेको एक्टिभ भन्दा विशेष रुपमा परिस्कृत गरेर बजारमा ल्याइएको छ । यसमा अत्याधुनिक एक्टिभ बोन्ड मोलिक्युल्स रहेको नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जित बताउँछन् । रञ्जितका अनुसार उक्त मोलिक्युल्सको सहयोगले इन्जिनमा एक किसिमको झिल्ली बस्न गई इन्जिनलाई सुरक्षित राख्छ र यसमा अनावश्यक पदार्थ बस्न वा जम्न पाउदैन । इन्जिनका भागहरुमा उक्त मोलिक्युल्स टाँसिएर बसेको हुन्छ जसले स्टार्ट बन्द गरेको र फेरि स्टार्ट गरेको अवस्थामा पनि इन्जिनलाई पूर्ण सुरक्षित राख्ने कम्पनीले बताएको छ । एसिया र मध्यपूर्वी देशमा एक्टिभ र युरोप तथा अमेरिकी बजारमा एक्टिभो प्रचलित थियो । क्यास्ट्रोलको एक्टिभ पहिलेदेखि नै नेपाली उपभोक्ताहरुका बीचमा लोकप्रिय भएकाले दक्षिण एसियामै पहिलो पटक एक्टिभोलाई नेपाली बजारमा पठाइएको कम्पनीको भनाइ छ । पहिलेको एक्टिभ सरहकै मूल्य कायम भएकाले पनि यसले नेपाली बजारमा लोकप्रियता हासिल गर्ने कम्पनीको दावी छ ।