फलानोले गर्दा बिग्रिएको म: बैंकर जोशीको लेख

एक दिन कार्यकक्षमा काम गरिरहेको बेला फोनको घण्टी बज्यो । मैले उठाएँ । उताबाट प्रश्न आयो कहाँ छस ? मैले अफिसमै छु भनेपछि तँलाई तेरो अफिस भेटन आएँ भन्यो र फोन काट्यो । लगभग १५ देखी १७ मिनेटको विचमा उ मेरो कार्यकक्षमा आईपुग्यो । एकैछिनको भलाकुसारी पछी उसले मलाई भन्यो– ‘यार म त पछाडि परेनी फलाना कारणले नत्र आज म पनि ठुलै पोष्टमा पुग्थेनी । मलाई फलाना फलानाहरुले अगाडि बढन् दिएनन् नी ।’ उसले यस्तो भनेपछि म एकछिन केही नबोलीकन उसको मुखमा हेरेर बसीरहेँ । २०/२५ सेकेण्डपछि मैले उसलाई भने तँलाई कहिले देखि सुगर र कोल्ड स्टोर भयो र भनेको चिज खान पाएका छैनस् ? भनेपछि उसले सजिलै उत्तर दियो- ‘चार बर्ष जती भयो यार ।’ अनि मैले भनेँ- ‘कुन साथी, आफन्त र सहकर्मीमित्रबाट असहयोग भयो र तँलाई सुगर र कोलेस्टाेर भयो त ? उ केही नबोलीकन बस्यो यसको अर्थ उ नजवाफ भयो । त्यसपछि मैले उसलाई भनेँ-‘यो पनि मिल्ने भए आफनो खानपानको दोष तैँले अरुलाइ नै लगाई दिन्थिस् तसर्थ तैँले सोचेको ठाउँमा पुग्न नसक्नु भनेको अरुले असहयोग गरेर मात्रै होईन आफनो क्षमता चिनेर काममा निरन्तरता नभएर हो ।’ सोच्ने वित्तिकै र अरुको देख्ने वित्तिकै सफलता मिल्दैन भनेपछि उसले केही सेकेण्डकाे अन्तरालमा कुराकानीको विषय अन्तै लग्यो किनकी उ र म विगत १२/१३ वर्ष देखि संगै छौ र एकले अर्कालाई राम्ररी चिन्छौ अझ भनाैं हामी त लगुंटीया यार । हामीहरु आफूले पाएको उपलब्धिलाई खासै महत्वले हेर्दैनौ बरु अरुको उपलब्धिसँग तुलना गर्छौ र जिवनभरी नै चिन्तित भएर बेकाममा अरुका कुरा काटी समय बेतीत गरी जिवन चलाईरहेका छौं । बानी नै परीसकेको छ हामीलाई आफनो उपलब्धी अरूसँग तुलना नगरी खाएकै नपच्ने । तुलनात्मक खुसीमा अल्झिएका हामी वास्तविक खुसीको मुहारनै बिर्सिसक्यौ । हामीसँग कामका लागि धेरै विकल्प छन् । जसले आफनो ईच्छा, चाहानालाई पुरा गर्न तर्फ प्रेरित गर्दछ । तर हामी ती विकल्प छाडी अरुको देखासीकीमा लाग्यौं । जसले हामीलाई आफ्नो कार्यक्षमता भन्दा बाहिर लग्यो र हामीलाई हाम्रो ईच्छा, चाहाना अनुसारकाे सफलता मिलेन र हामी डिप्रेशन तिर धकेलियाैं । हाम्रो जिवन अनमोल छ । जीवनभन्दा अर्को ठूलो धन छैन । तर, हामी जीवनलाई नै धरापमा राखी अर्काको देखासीकी र भौतीक सेवा सुविधामा केन्द्रीत भई आफ्नै जिवनलाई पछाडीतिर धकेलीरहेका छौं । जिन्दगीमा धेरै उतारचढावहरु आउँछन कहिले काही आफुँ खुसी हुँदा अरु दुखी हुन्छन् । कहिले आफू दुखी हुँदा अरु खुशी हुन्छन । जिवनको यस्तै दौरानमा हामीले धेरैसँग व्यक्तिगत रुपमा रिसिबी लियाैं । अरु मानिस पनि अगाडि बढनु पर्छ भनेर हात तान्ने कोसिस कहिल्यै गरेनौं । बरु अरु सबैलाई पछाडी पार्नको लागि खुट्टा तान्ने कोसीस गर्याैं । जिवनमा अरुको खुट्टा तान्दा महाभारतको लडाइ नै जितेको महसुस गर्याैं आफुलाइ आफनो जितमाभन्दा पनि अरुको हारमा रमाईरह्याैं । संसारमा सबैभन्दा ठुलो धन ,धनभन्दा ठुलो तन (शरीर )तनभन्दा ठुलो मन हो । अरुसँग भएको धनले हाम्रा लागि कुनै महत्व राख्दैन अरुको धनले उ आफै ठुलो हुने हो भने तपाईंको लागि त तपाइसँग भएको धन नै ठुलो हो तसर्थ तपाईंसँग जति छ त्यो नै तपाईंको हो । तपाईंले अरुलाई ठुलो र धनी देखीरहँदा तपाईंलाई पनि ठुलो र धनी देख्नेहरु छन् उनीहरुका लागी तपाई प्रेरणाको स्रोत हो । तसर्थ जिवनमा समस्या छ र त समाधान पनि छ । समस्या छ र त समस्याको कारण पनि छ । जिवनमा बिना कारण समस्या आउँदैन भन्ने कुरा बुझ्न जरुरी छ र सत्यलाइ स्वीकार्नु पर्दछ । जीवनभर समस्या आईरहन्छ तर सहि समाधान खोज्नु सक्नुपर्दछ । टाउको दुख्ने वित्तीकै दुःखाई कम हुने औषधि खाए र एकछिनलाई ठिक पार्नुभन्दा के कारणले टाउको दुखेको हो सो पत्ता लगाई सोही अनुसार उपचार गर्नुपर्दछ अन्यथा पैसा र स्वास्थ्यमा झन समस्या थपिनु बाहेक अरु केही हुँदैन । खाली आफुलाई अरुसँग तुलना गरी अरुको प्रगतिमा रिस डाहा गर्ने हामीहरु एक चोटी ऐना अगाडी बसेर आफुले आफुलाई केही प्रश्न गर्नु पर्ने दिन आएको छ । म के का लागी यो गर्दैछु ? के म अरुलाई दोष नदिई बाच्नै सक्दिन ? किन र कसरी म यस्तो भएँ ? मैले मेरा आफ्नो लागि कति समय दिएँ ? मैले मेरो साधारण जीवन चलाउनको लागि यी सब गर्न आवश्यक छ ? भनेर प्रश्न गर्दै ऐनामा आफुलाई हेर्नुहोस त्यसपछि बल्ल थाहा हुनेछ म गलतनै रहेछु । हामीले जीवनकालमा के गर्याैं भनेर इतिहासले हेर्नेछ । आफ्ना नव सन्तानहरुले हेर्नेछन् । तसर्थ हामी जिवित जातमा सर्वश्रेष्ठ प्राणी हौँ । यो एक बारको जुनीमा अरुलाई दोष थुपार्ने र रिस मात्र गर्ने होइन मानवताको धर्म सम्झी अनुशासित पुर्व सत्कर्म गर्दै अगाडी बढाैं । (लेखक ग्लोबल आईएमई लघुवित्तका सीईओ हुन् )

नारी दिवस (लघुकथा)

‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ नारा लेखिएको ब्यानर लेखिएको भव्य मञ्चमा कार्यक्रम सुरु भयाे । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री गणेश राई प्रमुख अतिथि भएर कार्यक्रम उद्घाटन गरे । उद्घाटनपछि  उनले भने- ‘अब सबै किसिमका विभेद अन्त्य हुनेछ ।’ कार्यक्रममा पछि बसेकाहरु बीच खासखुस सुरु भयाे । ‘महिला मन्त्री पनि पुरुष’- उजेलीले भनी । ‘भागबन्डा नमिलेर हाे । चेलिबेटी बेचबिखनका मुद्दामा जेल परेकाे छाेरा छुटाउन पनि उनलाई मन्त्री नभई नहुनेथ्याे, त्यही राेजे हाेला, मन्त्री भएको हप्ता दिनमै छाेराे छुट्याे’- मनमायाले थपी । गरगहनाले सजिएर गएका महिलाहरु सासू,नन्द,आमाजू, देवरानी,भाउजू यस्ताे र उस्ताे भनेर कुरा काट्न व्यस्त थिए । विदेशी भूमिमा पसिना बगाएर कमाएकाे सम्पतिसहित छाेराछाेरी बिचल्ली पारेर पाेइला हिडेकी श्रीमती पीडित सर्वेन्द्र न्याय खाेज्दै भाैतारिएकाे १५ दिन बित्याे । त्यति बेलै रेडियोमा समाचार बज्याे,’घाँसकाे भारीले थिचिएर शर्मिलाकाे ज्यान गयाे, उपचार अभावमा दुई सुत्केरीकाे निधन ।’ महिला अधिकारका चर्का भाषणमा ताली भने चर्कै बजिरहेको थियाे । समाचार लेख्न गएका पत्रकार याे सबै सुनेर अन्याेलपूर्ण मन लिएर फर्के । भाेलिपल्ट उनकाे समाचारकाे शीर्षक भने मन्त्रीकाे भाषण मै केन्द्रित थियाे । अर्का एक स्वतन्त्र लेखक पत्रकारले लेखे- ‘एकातिर भव्य नारी दिवस, अर्कातिर घाँसकाे भारीले थिचिएर नारी मर्न विवश’ उनकाे लेखमा सबै कुरा समेटिएको थियाे । दाङसिङ, नुवाकोट हाल: पाेखरा-१०

‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन

काठमाडाैं । द आर्ट अफ लिभिङले ‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन गरेकाे छ । संस्थाले गुरुदेव रवि शंकरले व्याख्या गरेकाे उक्त पुस्तककाे साेमबार विमाेचन गरेकाे हाे । उक्त व्याख्यामा आधारित अङ्ग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गरेका हुन् । ‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सुत्रहरूको संकलन हो । यिनै सुत्रहरूको बारेमा रवि शंकरले ज्ञानबद्र्ध्ध व्याख्या गरेका थिए । यस पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टाङ्ग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ संस्थाले जानकारी दिएकाे छ । संस्थाले पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान संप्रेषण गर्नका लागि समय–समयमा गुरुदेव रविशंकरबाट प्रदान भएका ज्ञानसम्बन्धी जीवनोपयोगी पुस्तक प्रकाशन गरी वितरण गर्दै आएको छ । विक्रम सम्वंत २०६० सालमा नेपालमा दर्ता भई सेवारत सामाजिक संस्था हो । यसले तनावमुक्त मन र हिंसामुक्त समाज भन्ने आफ्नो उद्धेश्य हासिल गर्न विभिन्न सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस संस्थाले तनाव व्यवस्थापन सम्बन्धि विभिन्न तालिमहरू सञ्चालनको साथै द्वन्द्वयुक्त क्षेत्रमा शान्ति कायम गर्ने लगायत भूकम्प तथा कोरोना संक्रमण जस्ता विपत्कालीन समयमा अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको छ।