समाजसेवी शान्तलाल मुल्मीको ‘मभित्रको म’ सार्वजनिक
काठमाडौं । वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक सार्वजनिक भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । ७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तराष्ट्रिय सम्बन्धी लगायतमा पुस्तकमा आत्मवृतान्त पस्केका छन् । कार्यक्रममा प्रमुख अतिथि एवम पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले नछोडी धर्म नतोडी ब्रम्ह, गरेर कर्म नै जीवनको मर्म हो भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए । आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने पनि बताए । उनले राजनीतिबाट नेताहरु जितेको अनि जनता हारेको अनुभुति हुन थालेको टिप्पणी कार्यक्रममा गरेका थिए । यस्तै भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफनो जीवनसँग पनि मेल खाएको बताउँदै मभित्रको म पुस्तक पढ्दा आफ्नै कथा व्यथा पढेको जस्तै हुने बताए । साहित्यकार सुलोचना मानन्धरले आफूले आफैलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरेतापनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमान्दारितापूर्वक लेखकले लेखेको बताइन् । पुस्तक नियात्राजस्तै अनि आख्यानजस्तै रहेको पनि उनले टिप्पणी गरिन् । समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शव्दको माधुर्यता रहेको , शव्दको लय मिलेको र मेरो अस्तित्व खोज्न सिक्न सिकाउने खालको रहेको बताएका थिए । छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक विमाेचनसँगैं कार्यक्रममा गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समासेवी सम्मान पदक दिइएको थियो ।
आइएमईकाे ‘वर्ड भ्रमण विथ साइग्रेस’ सुरु
काठमाडौं । आइएमईको वर्ड भ्रमण विथ साइग्रेसको सुरु भएको छ । नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा गरिने उक्त कार्यक्रम आजबाट सुरु भएको हो । सो कार्यक्रम मङ्सिर १७ सम्म संचालन हुनेछ । वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्ने कम्पनीले जानकारी दिएको छ । कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ । उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्विटर, लिंकडिन पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुने कम्पनीले जनाएकाे छ । कार्यक्रम तालिका १। होटल रुबस, धनगढी- ९ नोभेम्बर, दिउँसो २ः३० बजे २। क्लब ग्राभिटी, पोखरा- २२ नोभेम्बर, दिउँसो ४ः०० बजे ३। राष्ट्रिय नाच घर, काठमाडाैं- ३ डिसेम्बर, दिउँसो ३ः३० बजे ४। साई पार्टी प्यालेस, झापा- १३ नोभेम्बर, दिउँसो ३ः०० बजे ५। डि कन्सेप्ट, बुटवल- २० नोभेम्बर, दिउँसो २ः३० बजे ६। चितवन गार्डेन रिसोर्ट चितवन १९ नोभेम्बर, दिउँसो २ः३० बजे ७। बिपिकेआइएच्एस अडिटोरियम, धरान- १५ नोभेम्बर, दिउँसो २ः०० बजे
टेलरवाली कि सीएसडीवाली ?
सानै पोस्टको सरकारी जागिर खाएपनि आमाले मलाई सानोमा हुर्काउन धेरै दुःख गर्नुभयो । आफ्ना रहर र खुसीहरु बिर्सिएर एक्लो छोरालाई नै हेरेर चित्त बुझाउनु भयो । छोराकै खुसीमा आफनो खुसी देख्नुभयो । आमाले मेरो लागि गरेको दुःख सम्झेर होला, म आमाले भनेको हरेक कुरा मान्दछु । आमाले भनेपछि नाई भन्न जानिनँ मैले । आमा पनि मैले भनेको हरेक कुरा मान्नु हुन्छ । हामी सकारात्मक सोचको छौं । दुवै जना कर्मलाई विश्वास र पुजा गर्ने । दुई जनाको परिवार, आमा र छोराको परिवार । सायद त्यही आमाको दुःख र आशिषले होला, आज म पनि नेपाल सरकार अन्तर्गतकाे राजस्व विभागको शाखा अधिकृत भएको । मेरी आमालाई गफ गरिरहनु पर्छ । आफन्त इष्टमित्रकोमा गईरहनु पर्दछ । आफन्त भनेपछि हुरुक्कै हुने बानी । आमा सानैदेखि व्यवहारमा परेर होला, बोल्न र जुनसुकै कुरा पनि टाक्क टुक्क मिलाउन सिपालु । हरेक कुराको समाधान भएको मान्छेमा गन्छु म मेरी आमालाई । आफन्तहरुले पनि खुब मन पराउँछन् आमालाई । मन पनि किन नपराउनन त, लगभग धेरै इष्ट मित्रहरुको विवाह गराइ दिनुभएको छ । कसैको छोरी बढिन् भने आमालाई नै गुहार्छन् । तिम्रो त धेरै जनासँग चिनजान छ, राम्रो छ, यसो केटा खोज न भन्छन् । अनि कसैको छोरा बढे भने राम्रो र सुशील केटेी खोज न भन्छन् । एक हिसाबले आमा टोलकै लमी जस्तै हो । एक दिन आमाले म अफिस जाने बेलामा भन्नुभयो– सुन त, दुनियाँलाई केटा खोजें, केटी खोजें, अव तँ पनि जागिरे भइहालिस्, तेरो पनि विवाह गर्ने बेला भयो, कोही छ मन पराएको ? मैले अनकनाउँदै छैन भने । जवाफमा आमाले त्यसो भए म केटी खोज्छु है, राम्रो बुहारी खोज्छु है, तँ पनि जागिरे, बुहारी पनि जगिरे ल्याउनु पर्दछ नि भन्नुभयो । दुबै जना जागिरे भयो भने आर्थिक हिसाबले सजिलो र सुख हुन्छ भन्ने आमाको भनाई थियो । कमाउने केटी विवाह गर्नु पर्दछ भन्ने सुनाउनु भयो । आमाको नजर बैंकमा काम गर्ने केटीहरुतिर गएको रहेछ । त्यसैले भन्दै हुनुहुन्थ्यो– बैंक छ्यापछ्याप्ति छन् । कुनै एक बैंकको नोकरीवाला केटी विवाह गर्नु पर्दछ बुझिस ? घरधन्दा गर्ने म छदैँछु, सकुन्जेल घर सफागर्ने खाना पकाउने म गर्छु, तिमीहरु जागिर गर, म हुन्जेल, मेरा हातगोडा चलुन्जेल, बुहारीले दु:ख र घरको काम गर्नु पर्दैन । आमाले यसो भन्दै गर्दा ल ल, जे गर्नु भन्दै म अफिसतिर लागे । वेलुका साँझ परेपछि म घर आउँदा आमा फतफताउँदै भान्सामा खाना पकाउँदै हुनुहुँदो रहेछ । के भयो ? किन फतफताएर एक्लै बाेलिराखेको ? हात गोढा धुँदै मैले प्रश्न गरे । हेर्न आज एउटा निजी बैंक गएको, तलाई केटी हेर्न र कुन केटी ठिक हुन्छ भनेर जाँच्न । त्यहाँ अविवाहित उमेर अलि पाकै भएकी मेनेजर रहिछिन् । यसो लोनको बहानामा कुरा गरेको बढै बाम्ठेकी पो रहिछन् । मन परेन । अनि मैले आमालाई भने, चिन्नु न जान्नु तपाईंलाई मन परेपनि को हुन्, कहाँका हुन, विवाह विवाह गर्न मान्छन् मान्दैनन ? उनीहरुको राय नबुझी सिधै जाने हो त ? मैले आमालाई प्रश्न गरे । सिधै त कहाँ हो र, बैंककै कामको बहानाले पो कुरा गरेको त हो नि । चिन्नु किन परेको छ र ? मलाई केटी ठिक लाग्यो भने म टाक्कटुक्क एक एक ओटा नाता केलाएर साइनो लगाई हाल्छु नि । दुनियाँको विवाह गराएँ, तेरो लागि त राम्रो खोज्नु परो नि दिमाग लगाएर । आमाले यसो भन्दै गर्दा म ट्वा, परें । भोलिपल्ट फेरि म अफिसतिर लागे । अचेल मेरी आमाको म अफिस गएपछि कामै यहि भएको छ । खाता खोल्ने बहानाले, लोन लिने बहानाले दैनिक जसो एक एक ओटा बैंक जाने, अनि बैंकका लेडिज कर्मचारीलाई सुटुक्क चियो गर्ने । उनीहरुको बोली विचार गर्ने, चालचलन विचार गर्ने, हिँडाई, लगाई, अग्लाई, मोटाइ विचार गर्ने । म अफिसबाट घर आउँदा आज पनि आमा भान्सामा एक्लै फतफताई रहनुभएको थियो । हात गोढा धुँदै मैले प्रश्न गरें, के भयो आमा ? आमाले भन्नुभयो– हेर न आज एक बैंक गएको इन्चार्ज सिन्चार्ज के भन्दा रहिछन्, त्यो केटीले त झपारी पो बाइ मलाई । हजुर आमा धेरै प्रश्न गर्नुहुँदो रहेछ पो भनी । राम्रो लागेर घर कहाँ हो भनेर सोेधेको, भरे त रिसाई पो । म आमाको कुरा सुनेर मुसुक्क हाँसे, केही भन्नै सकिन । लगभग एक डेढ महिना जति आमा दैनिकजसो यो शहरको हरेक बैंक धाउनु भयो । आमाले आफनो लागि चित्त बुझदो बुहारी भेट्टाउनु भएन । तर हरेस पनि खानु भएन । लागि रहनु भयो । हराएकी बुहारी खोज्न । दुई तीन महिनासम्म आमाले बुहारी नभेट्टाएपछि मलाई पनि आमाले यसरी मेरो हुनेवाला श्रीमती खोज्न सक्नु हुन्न भन्ने लागिसकेको थियो । एक दिन अफिसबाट घर फर्कदै घरको मुल गेट खोल्दै गर्दा सधै भान्सामा हुने आमा आज हस्याङ फस्याङ गर्दै मेरो बाइकको आवाज सुनेर गेटमै दैडिएर आउनु भयो । के भयो ? किन दौडिदै आउनु भएको आमा ? भनेर भन्दा आमाले सायद आँगनमा बाेलेको छिमेकीले सुन्छन् भनेर होला मेरो कानमा साउती मार्दै भन्नु भयो आज बुहारी खोजे नि । कहिले भेटिँदैन कहिले दुई दुई वटा । ल हेर फोटो भन्दै आफ्नो मोवाइलमा दुईजना बैंकर केटीको फोटो, जुन आमाले उनीहरुसँग गफै गफमा तिम्रो अनुहार त मेरी छोरीको जस्तै छ, म उसलाई देखाउछु ल, आउ त फोटो खिचुम् भन्दै फकाउँदै उनीहरुसँग सेल्फी खिच्नु भएको रहेछ । त्यो देखाउनु भयो । आमाले मलाई अझ प्रष्ट पार्दै भन्न थाल्नु भयो– ल हेर यो गोरी अनि गालामा हाँस्दा खोविल्टो (डिम्पल) परेको छ नि, यो फलानो बैंकको फलानो शाखाको टेलरमा काम गर्ने । अनि अर्को सेल्फी फोटो देखाउँदै भन्नुभयो– यो ओठमाथि कोठी छ नि, यो चाहि फलानो बैंकको फलानो शाखाको सीएसडीमा काम गर्ने । अब तँ निक्र्याेल गर है, सीएसडीवाली कि टेलरवाली ? मलाई भोलि भन् भन्दै आमाले फेरि भन्नुभयो सुन त अस्ति गाउँको जग्गा बेचेको पैसा पचास लाख छ नि त्यो यो टेलरवालीको बैंकमा राखेर उसैले ल्याएको कस्टमर भनेर भन्नुपर्छ बुझिस् । अहिले र्माकेटमा डिपोजिट क्राइसिस छ क्या, त्यहि टेलरवालीले ल्याएको कस्टमर हो म, भनेर डिपोजिट उसको बैंकमा गर्यो भने उसको पनि अफिसमा सान बढ्ने अनि मलाई पनि चिनजान र कुरा अगाडि बढाउन सजिलो । तंँलाई पनि आमाको खाता छ भन्दै यसो दिनै पच्छिे सानो तिनो हजार पाँच सयको चेक काट्नु क्या, जाने हेर्ने बाटो खुल्छ । नभए कुरा मिलेन भने आफनो डिपोजिट हो निकाल्ने नि । आमाले आफ्नो चलाखीपन सुनाउनु भयो । म फेरि ट्वा परे । र, खाना खाइसकेपछि सुत्न कोठातिर लागें । आमाको मोवाइल मैसँग । अनायसै के सम्झे कुन्नि, आमाको मोवाइल खोलेर उही आमाले मन पराउनु भएको सीएसडीवाली र टेलरवालीको पालैपालो फोटो हेर्न थाले । साच्चै दुवै जना राम्रा थिए, गोरा, हँसिला । आमाले भनेझै हाँस्दा गालामा डिम्पल देखिने त्यो टेलरवालीमा मलाई हिन्दी सिनेमाको प्रिती जिन्टाको जस्तै झझल्को आयो । अनि म के के सम्झदै आफैसँगै हाँसे । अनि अर्को फोटोमा ओठ माथि कोठी भएकी सीएसडीवाली मलाई नेपाली सिनेमाकी रेखा थापा जस्तै लाग्यो । कता कता काउकुति लागेर आयो । उता पल्लो कोठामा आमाले भोलिको मेरो रोजाई र निर्णय के होला भन्दै सोच्दै गर्दा म भने डिम्पल र कोठीको बीचको दोधारमा फसेको थिए । मलाई हाँस्दा डिम्पल भएको मन पर्दछ । मलाई कोठी पनि मन पर्दछ । डिम्पल कोठी दुवै भएको केटी त औधि मन पर्दछ । तर, पनि आज मैले एक निर्णय गर्नु थियो । दुबै जना हेर्दा बत्तिसै लक्षणले युक्त थिए । तर, पनि टेलरवाली कि सीएसडीवाली आजको रातमा एक रोज्नु थियो । सोच्दा सोच्दै खै कति खेर भुसुक्कै निदाए, थाहै भएन ।