एभरेष्ट बैंकले मनायो १०८ औं महिला दिवस

काठमाडौं । १०८ औं महिला दिवसको अबसरमा एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना भएको थियो । ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउने गरिदै आइएको छ । बैंकले नर्भिक अस्पतालसँगको सहकार्यमा उक्त कार्यक्रम संचालन गरेको थियो । उक्त स्वास्थ्य क्याम्पमा २०० जना मानिसले विभिन्न विषेशज्ञ डाक्टरहरुबाट सेवा लिएका थिए । उक्त क्याम्पमा गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिक लगायतका रोग विषेशज्ञले बिरामीको चेक जाँच गरेका थिए । अन्र्तक्रिया कार्यक्रमको संयोजन भने बरिष्ठ सर्जन विषेशज्ञ डाक्टर ज्योति रायमाझी (राणा)ले गरेका थिए । उनले कार्यक्रममा महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने वा समयमा नै थाहा पाउने भन्ने विषयमा जानकारी दिएका थिए । बैंकले हालसम्म ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९६ एटिएम मेशिनहरुबाट दिदै आएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा नयाँ एनेक्स वार्ड

भक्तपुर । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले भक्तपुरस्थित क्यान्सर अस्पतालको नयाँ एनेक्स वार्डको मंगलबार उद्घाटन गरेका छन् । अस्पतालको २३ औँ वार्षिकोत्सवका अवसरमा उनले सो वार्डको उद्घाटन गरेका हुन् । सो अवसरमा क्यान्सर, एचआइभीका बिरामीलाई अधिकांश अस्पतालमा भेदभाव र लाञ्चना हुने गरेको बताउँदै प्रदेश प्रमुख कोइरालाले सबै अस्पतालबाट यस्ता भेदभाव र लाञ्छना हटाउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर शिक्षा र स्वास्थ्यको गन्तव्यको क्षेत्र भएको बताउँदै भक्तपुरलाई प्रदेशको स्थायी राजधानी बनाए सबै जिल्लाका आमनागरिकलाई सहज हुने बताएका छन् । अस्पतालका सल्लाहकार दिवाकर राजकर्णिकारले अस्पतालमा बिरामीको चाप बढ्दै गएअनुसार भवन र भौतिक संरचनाको अभाव भएको बताए । कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर प्रा.डा.ऋषिकेश नारायण श्रेष्ठका अनुसार सन् २०१३ मा करिब ३४ हजार बिरामीले सेवा लिएकोमा सन् २०१७ मा ६८ हजार बिरामीले सेवा लिएको र तीन हजार चारसय क्यान्सरका बिरामीको उपचार भएको छ । प्रत्येक दिन यस अस्पतालमा ९६ बिरामीको उपचार भइरहेको र ओपिडिमा ३०० बिरामीले सेवा लिइरहेका छन् । रासस

अब सबै एम्बुलेन्स सेवालाई एउटै नम्बर १०२ प्रयोगमा ल्याइने

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा (एमओयु) सम्झौता भएको छ । यस सम्झौता अनुसार नेपाल एम्बुलेन्स सर्भिस (नास)ले देशभर फैलिएर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने छ । यसको व्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने छ । अर्को सम्झौता अनुसार आपतकालीन स्वास्थ्य सेवा तालिम केन्द्रको स्थापना गर्ने छ । यो सम्झौता पत्रमा नीति, योजना र अन्तर्रा्ष्ट्रिय सहयोग विभागका प्रोफेसर डा श्रीकृष्ण गिरी र नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले हस्ताक्षर गरेका थिए । नीति, योजना र अन्तर्राष्ट्रिय सहयोग विभागका प्रोफेसर गिरीले हस्ताक्षर गर्दै भने ‘अब हामी सबै एम्बुलेन्स सेवालाई एउटै कल सेन्टर १०२ मा जोडेर काम गर्दैछौं, जसको व्यवस्थापन नासले गर्ने छ ।’ नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष राजभण्डारीले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण र गौरवमय क्षण हो । जहाँ हामीले सरकारसँग मिलेर सबै एम्बुलेन्स सेवाहरुलाई एउटै नम्बर १०२ मा ल्याएर काम गर्ने छौं । हामीले विगत लामोसमय देखि स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गर्दै आइरहेका छौं । यो सहकार्यले हामी अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न र आपत्कालीन स्वास्थ्य सेवा दिन अझै राम्रोसँग काम गर्न सक्ने छौं ।’